• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

बंगलादेशमा सात जनालाई मृत्युदण्ड

रासस

ढाका । बंगलादेशको एक अदालतले मुस्लिम अतिवादी समूहमा आबद्ध सात जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ । 

बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा भएको आक्रमणमा १८ जना विदेशी सहित २२ जनाको हत्या गरेको यस समूहमाथि आरोप छ । 

राजधानी ढाकाको एक खचाखच भरिएको आतंकवाद–विरोधी इजलासमा न्यायाधीश मोजिबुर रहमानले सातै जनालाई मृत्युदण्ड दिने सजाय सुनाए । न्यायाधीश रहमानले इस्लामिक स्टेट समूहमा आबद्ध रहेर उक्त समूहका सदस्यहरुले बंगलादेशमा आतंक मच्चाउन खोजेको बताएका थिए ।

न्यायाधीश रहमानले सातै जनालाई झुण्ड्याएर मृत्युदण्ड दिन आदेश दिएका छन् । प्रहरी भ्यानमा राख्नुअघि उनीहरुले इस्लाममाथि आफूहरुको आस्था रहेको र भगवान महान भन्दै चिच्याएका थिए । 

पक्राउ परेका आठौं व्यक्तिलाई भने थुनामुक्त गरिएको थियो ।

सन् २०१६ जुलाईमा ढाकास्थित होली आर्टिजन बेकरी क्याफेमा अत्याधुनिक राइफल सहितका इस्लामिक जिहादी युवाले अन्धाधुन्ध गोली चलाई विदेशी नागरिकको हत्या गरेका थिए । विदेशी नागरिकहरु भेला हुने यो ढाकाको चर्चित स्थान हो । 

मृत्यु भएकाहरुमा सात जना जापानी र नौ जना इटालीका नागरिक थिए । यस आक्रमणका क्रममा दुई जना बंगलादेशी प्रहरी पनि थिए ।

क्याफेलाई करिब १० घण्टा बन्धक बनाएका इस्लामिक जिहादीलाई सैनिक कमान्डोले मुक्त गरेका थिए । जिहादी समूहले दुई दर्जनभन्दा बढी विदेशीलाई बन्धक बनाएका थिए । सैनिक कारबाहीमा पाँचै जना आक्रमणकारी मारिएका थिए ।

यस आक्रमणबाट बंगलादेशमा इस्लामिक चरमपन्थ विरुद्ध तनाब उत्पन्न भएको थियो ।

बंगलादेश सरकारले यस आक्रमण लगत्तै देशव्यापी धरपकड र कारबाही शुरु गरेको थियो जसबाट १०० भन्दा बढी इस्लामिक अतिवादी मारिनुका साथै झण्डै एक हजार जना पक्राउ परेका थिए ।

आक्रमणकारीको खोजीका क्रममा आठ जना ढाकामा मारिएका थिए जसमा घटनाका मुख्य योजनाकार बंगलादेशी मुलका क्यानाडाली नागरिक तमिम अहमद चौधरी पनि थिए । कारबाहीमा अतिवादी समूह जमेतुल मुजाहिद्दीन बंगलादेशका कमान्डर पनि मारिएका थिए ।  

----रासस/एएफपी
 

प्रतिकृया दिनुहोस