• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

नेपालका ‘कुङ फू’ भिक्षुणी अमेरिकामा  

विदेश डेस्क


काठमाडाै‌ं । केही साताअघि अमेरिकाको मेनहेट्टनमा मरुन रंगका कपडामा सजिएका बौद्ध भिक्षुणीहरु जुत्ता लगाउन र फुकाल्न व्यस्त देखिन्थे । उनीहरुले पन्च हाने, किक हाने, उफ्रिएर आफ्नो प्रदर्शनी देखाए । उनीहरुले तरबार बोकेर अभ्यास गरे, अनि डान्स पनि देखाए । 

ती भिक्षुणीहरु बौद्ध धर्मको ९ सय वर्ष पुरानो द्रुक्पा परम्परा पछ्याउँछन् । द्रुक्पा तिब्बती शब्द हो र अंग्रेजीमा यसको अर्थ ‘ड्रयागन’ हुन्छ ।

‘इन्स्पायरिङ एजेन्ट्स अफ चेन्ज’ नामक अवार्ड लिनका लागि उनीहरु काठमाडौंबाट न्युयोर्क उडेका हुन् । उनीहरु समारोहका लागि रिहर्सल गर्दै थिए ।

परम्परागत मान्यता अनुसार बौद्ध भिक्षुणीले यसरी खेलको अभ्यास गर्न नपाउने हुन् । उनीहरुलाई गीत गाउन र मनोरञ्जन गर्न पनि प्रतिबन्ध थियो । केही गुम्बाहरुमा महिला भिक्षुले पुरुषका रुपमा पुनर्जन्म नलिएसम्म मोक्ष पाउँदैनन् भन्ने मान्यता पनि छ । 

‘भिक्षुले केही गर्न पाउँदैनन् भन्‍ने पुरानो सोच धेरैमा छ’ – २५ वर्षका जिग्मे खोन्चोक ल्हामोले न्युर्योक टाइम्ससँग भनिन् । उनी १२ वर्षकै उमेरदेखि भिक्षु बनेकी थिइन् । 

तर द्रुक्पा वंशका आध्यात्मिक गुरु ग्यलवाङ द्रुक्पाले पूरुष बाहुल्य बौद्ध परम्परालाई तोड्न आफ्नो जीवनको लामो समय खर्चिएका छन् । 

ग्यलवाङ द्रुक्पालाई ‘सशक्तिकरण’ शब्द मन पर्दैन । उनले सन् २०१४ को अन्तवार्तामा भनेका छन् – ‘यसको वास्तविक अर्थ उनीहरुलाई सशक्त बनाउने शक्ति मसँग छ भन्ने हुन्छ ’ – उनले थपे – ‘म केवल अवरोध हटाउँदैछु, जसकारण उनीहरु आफ्नै शक्तिले अघि आउन सकुन् ।’

सन् २००८ मा बौद्ध धर्ममा लैगिंक समानता ल्याउने आफ्नो मिसन अन्तर्गत भिक्षुणीहरुलाई बलियो र आत्मविश्वासी बनाउन ग्यालवाङ द्रुक्पाले कुङ फू सिक्न प्रेरित गरे । उनले भिक्षुणीहरुलाई धार्मिक अनुष्ठानमा नेतृत्वदायी भूमिका लिन र प्रस्तुती दिन अनुमति दिए । 

त्यसयता महिला भिक्षु मात्रै रहेको काठमाडौंस्थित ‘द्रुकगावाखिल्वा’ (डीजीके) गुम्बामा भिक्षुहरुको संख्या बढेर ८ सय पुग्यो । यहाँ ८ वर्षदेखि ८० वर्षसम्मका भिक्षु छन् । त्यसपछि शृंखलाबद्ध रुपमा उनीहरु अध्ययनमा लाग्छन् । कुनै समय यसरी पुरुषले मात्रै अध्ययन गर्न पाउँथे । यसपछि उनीहरुले दुई घण्टा कुङ फू सिक्छन् । 

मार्सल आर्टस्सँगै यी भिक्षुहरु वातावरण संरक्षणमा समेत सक्रिय छन् । नेपालमा विनाशकारी भूकम्प आउँदा यी भिक्षुहरु राहत सामग्री बोकेर उद्धारमा खटिएका थिए, उनीहरु अन्तर्राष्ट्रिय एनजीओहरु पुग्‍न नसकेका दुर्गम गाउँसम्म पुगे । (न्युर्योक टाइम्सबाट अनुदित)

प्रतिकृया दिनुहोस