थाल्यो सनराइज खबरले कृषि
काठमाडौं । अग्रज पत्रकार भैरव रिसालले सनराइज खबरको कृषि स्तम्भ उदघाटन गरेका छन् । सनराइज खबरको कार्यालय प्राङगणमा आयोजित एक समारोहमा रिसालले उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै रिसालले नेपालको पत्रकारिताले कृषि फाँटलाई पर्याप्त रुपमा समेटन् नसकेको बताए । उनले नेपालको कृषिमा विगतको तुलनामा धेरै सुधार भए पनि यो पर्याप्त नभएको बताए ।

उनले कृषिको विकास र पर्यावरण संरक्षण एकसाथ हुनुपर्ने बताए । पर्यावरण संरक्षण नगरी गरिएको कृषिको विकास दिगो नहुने उनले बताए ।
सनराइजको कृषि स्तम्भले नेपाली किसानका समस्याहरु उजागर गरेर समाधानका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने सुझाव रिसालले दिए ।
वरिष्ठ पत्रकार मणि राणाले आफूले बिबिसी नेपाली सेवामा लामो समय काम गरेर अवकाश लिएको भन्दै अहिले पनि अवकाश जीवन बिताइरहेछु भने । उनले नेपाली पत्रकारिताले धेरै ठूलो फड्को मारेको बताउँदै अझै धेरै अगाडि बढ्नुपर्छ भने ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले नेपाली मिडियाले सकारात्मक समाचार दिने कामको थालनी हुनु स्वागतयोग्य भएको बताए । उनले सुखी नेपाली समृद्ध नेपाल नारालाई व्यवहारमा उतार्न कृषि स्तम्भले योगदान गर्न सक्ने बताए ।
अर्यालले नेपालको मिडियाले आफूले प्रवाह गरेका समाचार तथा विचारले समाजलाई कता लगिरहेको छ भनेर आत्मसमीक्षा गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ तथा वरिष्ठ पत्रकार रामशरण बजगाईंले सनराइज खबरले आफ्ना अन्य समाचारहरु झैं कृषि समाचारलाई पनि शशक्त बनाउनुपर्ने सुझाव दिए ।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले आफू पनि अब कृषि पत्रकारितामा लाग्ने बताए । उनले हप्तामा एउटा कार्यक्रम कृषि सम्वन्धी चलाउने बताए । आफू पनि कृषक पृष्ठभूमिबाट आएको भन्दै धमलाले नेपालमा अब सकारात्मक पत्रकारिताको खाँचो रहेको विचार राखे ।

अब नेताहरुलाई गाली गरेर मात्र पत्रकारिता नहुने भन्दै सकारात्मक र रचनात्मक पत्रकारिताको खाचो औंल्याए । उनले नयाँ पुस्ताका पत्रकारहरु मेहेनती नभएको गुनासो गर्दै पत्रकारिता भनेको जागिर खाने पेसा होइन, समर्पण र त्यागको पेसा हो भने ।
कृषि विज्ञ दुर्गा दाहालले धेरै मूल्य आउने बालीनाली लगाउन जनतालाई प्रेरित गर्नुपर्ने बताए । उनले तराईमा काजु र जैतुन खेतिबाट पर्याप्त लाभ लिन सकिने जानकारी दिँदै आफू सो काममा लागिरहेको बताए । नेपाली मिडियाले कृषि पेसाप्रति जागरण ल्याउन योगदान दिनुपर्ने उनले बताए ।
नेपाली कांग्रेसका युवा नेता तथा नेपाल किसान संघका केन्द्रीय सदस्य आदर्श विक्रम कार्कीले नेपाली किसानका समस्या समाधान अहिलेको तरिकाबाट सम्भव नहुने बताए । उनले कृषिलाई जिविकामुखीबाट व्यावसायिक बनाउनु नै अहिलेको ठूलो चुनौति रहेको विचार राखे ।
गाई पालक कृषक राजेन्द्र खनालले सनराइज खबर कृषि स्तम्भलाई शुभकामना दिँदै आफ्ना बारे सनराइज खबरमा समाचार प्रकाशित भएपछि सयौं फोन आएको र धेरैले गाई पालन सिक्न चाहेको बताए ।

भी एक्जिम सहकारीका अध्यक्ष महेन्द्रराज तुलाधरले आफूहरुले पनि कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिँदै नेपालमा अर्गानिक खेतिको आवश्यकता औंल्याए । नेपाली जनताले अहिले खानाको नाममा विष खानुपरिरहेको तथ्य औंल्याउँदै उनले स्वस्थ्यकर कृषि उत्पादनका लागि सनराइज खबरले सबैलाई झक्झकाउनुपर्ने बताए ।
राजनीतिकर्मी गोविन्द थापाले विदेश जान लागेका युवालाई पासपार्ट छाडेर हलो समाउने अवस्था सिर्जना गर्नु आजको आवश्यकता भएको बताए । विगतमा कृषि पेसा सम्मानित भए पनि अहिले नरहेको तथ्य औंल्याउँदै उनले आफू पनि कृषि पेसाबाटै आएको बताए । उनले कृषि र किसानका समस्या समाधान भए मात्र समृद्ध नेपाल सुखी नेपाली नारा व्यवहारमा लागू भएको मान्न सकिने बताए ।

थापाले नेपालमा मिडियाले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिइरहेकोमा गुनासो गर्दै सकारात्मक समाचार र रचनात्मक विचारलाई सबैले आत्मसात गर्नुपर्ने बताए ।
समारोहमा किसान, कृषि विज्ञ, कृषि पत्रकारहरु तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस