कांग्रेसमा केन्द्रिय सदस्यले कार्यकर्ताबाट अनुमोदन हुन नपर्ने, स्वत प्रतिनिधि बन्ने
काठमाडौं । कांग्रेस केन्द्रिय समितिले महासमितिको निर्देशलाई गम्भीर उल्लंघन गरेको छ । चलिरहेको केन्द्रिीय समिति वैठकले महाधिवेशन प्रतिनिधि सम्वन्धमा महासमितिको निर्देशलाई उल्लंघन गरेको हो ।
केही समय अघि काठमाडौंमा भएको महासमिति वैठकले केन्द्रिीय सदस्यहरुले पनि महाधिवेशन प्रतिनिधि बन्न चुनाव लड्नैपर्ने पक्षमा मत जाहेर गरेको थियो । महाधिवेशन प्रतिनिधिले मात्र महाधिवेशनमा भाग लिन र उम्मेदवार बन्न पाउँछन् । महाधिवेशन प्रतिनिधि जिल्लाभित्रको निर्वाचन क्षेत्रले चयन गर्छ । अर्थात्, स्थानीय कार्यकर्ताले महाधिवेशन प्रतिनिधि चयन गर्छन् ।
केन्द्रिय सदस्यहरुले महाधिवेशन प्रतिनिधि बन्न चुनाव लड्नै पर्ने पक्षमा महासमितिले मत जाहेर गरे पनि औपचारिक निर्णय गर्न भने मुख्य नेताहरुले मानेका थिएनन् । त्यसैले कांग्रेसका ३५ भन्दा धेरै जिल्लाका अध्यक्षहरुले केन्द्रिय सदस्यले महाधिवेशन प्रतितिनिधि बन्न चुनाव लड्न नपर्ने व्यवस्था खारेज गर्दै अनिवार्य रुपमा चुनिएर आउनुपर्ने व्यवस्था गर्न लिखित माग गरेका थिए । त्यसपछि सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले महासमिति वैठकको हलमा माग अनुसार विधानमा व्यवस्था गर्ने आश्वाशन दिएका थिए ।
महासमितिले पारित गरेको भनिएको विधानका कैयन विषयको टुंगो भने केन्द्रिय समिति वैठकले लगाउने गरी अधिकार प्रत्यायोजन गरिएको थियो । महासमितिको म्याण्डेड अनुसार विधान संशोधन गरिनुपर्नेमा त्यस विपरित गरिएको भन्दै कांग्रेसमा विवाद भइरहेको छ ।
‘वहालवाला केन्द्रिय सदस्यहरुले महाधिवेशन प्रतिनिधि बन्न कार्यकर्ता माझबाट चुनाव लडेर आउन नपर्ने व्यवस्था गरिएको छ तर औपचारिक निर्णय लेख्न हुन बाँकी छ’– एक केन्द्रिय सदस्यले सनराइज खबरलाई बताए । उनका अनुसार सभापति देउवा र रामचन्द्र पौडेल दुवैजनाले केन्द्रिय सदस्यले महाधिवेशन प्रतिनिधि चुनाव लड्न नपर्ने, स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई निरन्तरता दिने सहमति गरेका छन् ।
तर, यो निर्णयलाई चुनौती दिइरहेका छन् कृष्णप्रसाद सिटौला र डा. शेखर कोइराला लगायतले । उनीहरुले केन्द्रिय सदस्यले पनि महाधिवेशन प्रतिनिधिमा चुनाव लड्नै पर्ने व्यवस्था राख्न माग गरेका थिए ।
किन यस्तो ?
मंसिर २९ देखि पाँच दिनका लागि राखिएको वैठक विधान संशोधनमा विवाद भएपछि करिब दुई साता लम्बिएको थियो । महासमितिले विधानका कैयन विषय टुंगो लगाउन नसकेपछि केन्द्रिय समितिलाई अधिकार प्रत्यायोजन गरेको थियो । तर, केन्द्रिय सदस्यले चुनाव लड्नैपर्ने व्यवस्था भने लगभग निर्णय भएको थियो । यही व्यवस्था राखिनेछ भनेर नेताहरुले महासमितिमा बोलेका थिए ।
केन्द्रिय समितिले विधानलाई अन्तिम रुप दिँदा यो व्यवस्था उल्टाएर केन्द्रिय सदस्यले चुनाव नलडी महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थालाई कायम राखिएको हो । ‘केन्द्रिय समिति वैठकको अन्तिममा विधान सम्बवन्धी निर्णय सार्वजनिक गरिने छ,’ कांग्रेस केन्द्रिय सचिवालयले जनाएको छ ।
केन्द्रिय सदस्यले चुनाव लडेर मात्र महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था नराख्ने पक्षमा अधिकांश केन्द्रिय सदस्य देखिएको बुझिन्छ । त्यसैले सहमति गर्न देउवा र पौडेललाई सजिलो भयो । क्रान्तिकारी देखिने विश्वप्रकाश शर्मा र गगन थापा लगायत पनि चुनाव नलडी महाधिवेश प्रतिनिधि बन्न पाउनुपर्ने अलोकतान्त्रिक व्यवस्थाको पक्षमा उभिएका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि हुने चुनावमा कार्यकर्ताले आफूहरुलाई हराइदिने डर ठूला नेताहरुलाई भयो भने मनोनीत बनेर केन्द्रिय सदस्यहरुले पनि कार्यकर्ताबाट चुनिएर आउने हिम्मत गर्न सकेनन् । सभापति पदका दावेदार रामचन्द्र पौडेललाई समेत महाधिवेशन प्रतिनिधिका लागि हुने चुनाव हारिने डर देखिन्छ । उनको गृहजिल्ला तनहुमा गोविन्दराज जोशी समूहले समानान्तर समिति बनाएको छ । जोशी पार्टीबाट निलम्वित भए पनि उनका कार्यकर्ताहरु रामचन्द्रको विपक्षमा छन् । यो कारणले पनि रामचन्द्रले आँट गर्न सकेनन् ।
केन्द्रिय नेताहरु कार्यकर्ताबाट चुनिएर प्रतिनिधि बन्न नपर्ने, स्वत प्रतिनिधि बन्ने व्यवस्था कांग्रेसमा दशकौंदेखि रहँदै आएको छ ।


प्रतिकृया दिनुहोस