• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ट्राउट क्रान्तिका नायक डा. टेकबहादुर

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

विकास अधिकारी --

काठमाडाैं । माछा तराईमा धेरै हुन्थ्यो । तराईमै धेरै खाइन्थ्यो । पहाडमा त बेंसी झरे खोला किनारमा अलिअलि मात्र पाइन्थ्यो । भन्ने नै हो भने, पहाडका मानिसका लागि माछा दुर्लभ थियो ।

तर, अहिले ठ्याक्कै जमाना परिवर्तन भयो । पहाडमा कहिले पनि माछा पालन नगरिने गाउँमा पनि माछा पालन शुरु भयो । व्यवसाय पनि हुन लाग्यो । माछा पालन गर्ने पहाडका कृषकहरुलाई फाइदै फाइदा भएको छ । 

नुवाकोट जिल्ला त ट्राउट माछाकै लागि प्रख्यात छ । ट्राउट माछाको अत्याधिक खेति हुने भएकाले काठमाडौं देखि त्रिशुली जोडने बाटोको नाम नै ‘ट्राउट हाइवे’ भयो । फलस्वरुप नुवाकोटमा ‘ट्राउट टुरिजम्’ नै सुरु भएको छ । ट्राउट देशभर पैmलिरहेको छ । नेपालको पहाडी जिल्लाको माछा पालनमा वार्षिक अर्वाैं रुपैयाँको लगानी भएको छ ।

यो अवस्था कसरी आयो ?

अपत्यारिलो लाग्न सक्छ । यो क्रान्तिका नायक हुन् डा. टेकबहादुर गुरुङ । उनले नै पहाडमा माछाको खेति फैलाएका हुन् । तर यो क्रान्ति गर्न टेकबहादुरलाई सजिलो भएन । 

टेकबहादुको कथा 

उनले भारतबाट ०३९ मा स्नातकोत्तर ‘गोल्ड मेडल’ सहित उत्तिर्ण गरे । भारतमै बसेर काम गर्ने कि नेपाल आएर मातृभूमिको सेवा गर्ने ? टेकबहादुर त्यसबेला सोंचमग्न थिए ।
गोल्ड मेडल नै जितेपछि, ठूलो जिम्मेवारी काँधमा आइपरेको थियो । केही छाप छोड्ने काम गर्नै पर्ने भयो । केही विषेश योगदान गर्नैपर्ने भयो । तर कसरी ?

यहि बेला मातृभूमिको मायाले बोलायो । उनी केही गर्छु भन्ने दृढता बोकेर नेपाल आए । 

नेपाल आउँदा उनका शिक्षक र विश्वविद्यालयले भनेको रहेछ– ‘नेपालमा अवसर छैन । यतै बस्नुस्, यतै काम गर्नुस् । तपाईलाई पुग्दो पैसा दिन्छौं । समुद्र छाडेर इनारमा नपस्नुस् ।’

टेकबहादुरलाई पैसा भन्दा मातृभूमिको सेवा ठूलो लाग्यो । समुद्रभन्दा इनार गहिरो लाग्यो । ठूलो अवसर लत्याए, नेपाल आए । 

आउनासाथ भाग्यले साथ दियो । लोकसेवा आयोगले सहायक मत्स्य अधिकृत पदको लागि विज्ञापन गरेको रहेछ । आवेदन दिए । नाम निस्कियो । उनी सरकारी कर्मचारी भए ।

तर उनको आशा निराशामा परिणत भयो । किनकी यहाँ अनुसन्धान गर्ने वातावरण थिएन । फेरि उनको अध्ययन माछामा थियो । काम भने अरु नै गर्नुपर्ने । 

चार वर्ष जागिरमात्रै खाएर बित्यो । त्यसैबीच, जापानी स्वयंसेवक नाकामुराले जापानमा ट्राउटको तालिमको लागि व्यक्ति छनोट गर्नलागेछन् । उनी पनि छानिए । जापानको मियाजाकी प्रान्तको कोबायशी शहरमा तालिम लिन उनी उडे ।

जापानमा

जापानमा ट्राउट माछाको तालिम सोचे जस्तो भएन । त्यहाँ त के वैज्ञानिक के कामदार । सँगै मिलीजुली ‘जे काम लगायो, त्यसैमा रमायो’ भन्ने शैलीमा सिक्नु पर्दो रहेछ । उनले धेरै कुरा सिके । 

त्यहाँ अध्ययन गर्न गएका थिए । तर, जापानको शिक्षाले उनलाई पोखरी सफा गर्नेदेखि माछालाई चारो बनाएर खुवाउनेसम्मका काम सिकायो । जापानले उनलाई माछासँग नजिक हुन सिकायो । 

निकै मेहेनत साथ पढे । शारीरिक श्रम गरे । निकै कुरा सिके । व्यवहारिक ज्ञान पाए । ‘ट्राउट’ माछाको बारेमा धेरै कुरा थाहा पाए । 

टर्निङ पोइन्ट 

एकदिन उनी पढ्ने संस्थाले एउटा कार्यक्रम आयोजना ग¥यो । त्यहाँ सो क्षेत्रका गभर्नरको पनि उपस्थिति हुनेवाला थियो । 

त्यस कार्यक्रममा टेकबहादुरले आफ्नो देशको वर्णन गरे । नेपालमा ट्राउट खेतिको ठूलो सम्भावना रहेको र यसलाई कसरी व्यवसायिक रुपमा गर्न सकिन्छ भन्ने बारे लामै भाषण दिए । गभर्नरसँग ट्राउटका अण्डा दिएर नेपालीलाई सहयोग गर्न आग्रह गरे ।

०४५ सालमा तालिम सकियो । नेपाल फर्कने बेला आयो । तर, फर्किने बेला अचम्म भयो । गभर्नरले पचास हजार ट्राउटका अण्डा दिने वचन दिए । नेपाल सरकारले पनि ट्राउट माछा ल्याउन अनुमति दियो । उनी मातृभूमि फर्किए । 

नेपाल आएपछि 

नेपाल आएको केहि समयपछि ट्राउटका पचास हजार अण्डा नेपाल आइपुग्यो । अब नेपालमा ट्राउट फैलाउने जिम्मा उनको थियो । ट्राउटको अण्डा पाउनासाथ पहिलो काम गरे– अण्डा लगेर ललितपुरको गोदावरीमा राखे । गोदावरी नेपालमा माछा अनुसन्धान गर्ने ठाउँ हो । 

ट्राउट आइपुग्यो तर टेकबहादुरलाई ठूलो झट्का लाग्यो । नेपालमा पहिले नै ट्राउट पालन असफल भइसकेको रहेछ । ०१७ सालमा वेलायत र ०२७ सालमा भारतको काश्मीरबाट उपहार स्वरुप ट्राउटको अण्डा नेपालमा भित्राइएको थियो तर असफल भएको रहेछ ।

ती अण्डा हालको त्रिशुली मत्स्य अनसन्धान केन्द्रमा राखिएको थियो भन्ने उनले थाहा पाए । जसलाई त्यसबेला ‘नवाकोट ट्राउट हयाचरी’ भनिन्थ्यो ।

अब जिम्मेवारी थियो टेकबहादुरको । उनी भन्छन्, ‘म ढुक्क थिएँ ट्राउट नेपालमा सफल बनाउँछु भनेर ।’उनी निरन्तर लागि परे । 

परिक्षा सुरु भयो 

गोदावरीमा ट्राउट त हाले उनले तर आफ्नो एकल पहलमा ल्याएको हुनाले हेरचाहको सम्पूर्ण जिम्मा उनको काँधमा भयो । ट्राउट विज्ञ अरु कोहि पनि थिएनन् नेपालमा । उनको लागि तीन वर्ष, दिन र रात एकै थियो । 

उनलाई यति धेरै लगनशील हुन प्रेरित गर्ने एक मात्र कुरा थियो– माछा पालनमा युवा वर्गलाई आकर्षित गर्नु । स्रोत साधन सीमित थियो तर हार मानेनन् । 

एकदिन अण्डाबाट ट्राउटका भुरा निस्किए । यो उनका लागि ठूलो सफलता थियो । उनी निकै खुसि भए । तर यो खुसि धेरै बेर टिक्न सकेन । ट्राउटका भुरालाई खुवाउने दाना नै थिएन उनीसँग । न त दाना बनाउने मेसिन । 

ठूलो विपद् आइपरेको थियो उनीमाथि । ठिक यहि बेला सम्झिए, जापानमा माछालाई दाना खुवाउँदाको दिन । अनि सम्झिए, दाना बनाउने त्यहाँको स्थानीय सीप । अन्ततः उनले नेपालमा सर्वप्रथम पैलेट(गुटका) दाना बनाएर माछाको भोक टारे । हाल यो प्रविधिको विस्तारले पशुपंक्षीका दाना समेत बनाइन्छ ।

अब चुनौती अर्काे थियो । वर्षाको पहिलो भेल साथै आउने पात पतिंगर र धमिलो पानीको । त्यसले फार्ममा प्रवेश गर्ने कुलो थुनिन्छ । १० मिनेटमात्र थुनियो भने ट्राउट सखाप । 
त्यसैले वर्षाको बेला टेकबहादुर सुत्नै पाउँदैन थिए । आकाश मडारिने बित्तिकै उनी कुदेर माछाको रेसवेमा पुग्थे । एउटी आमाले आफ्नो सन्तानलाई जसरी र जति माया गर्छिन्, टेकबहादुरले त्यस्तै माया गरेर हुर्काउन थाले ट्राउटका भुरालाई । 

ट्राउट हुर्कियो । पचास हजार मध्ये लगभग ९९ प्रतिशत ट्राउट हुर्कियो । यो ठूलो सफलता थियो । टेकबहादुरको ट्राउट सपना पूरा हुने भयो । तीन वर्षसम्म स्याहार गरेपछि, गोदावरीको ट्राउट ठूलो भयो । 

अब एउटै समस्या प्रश्न बनेर उभियो । यी ट्राउटलाई कसरी किसानसम्म पु¥याउने ?

प्रश्नको जवाफ 

तर एउटा उपाय निकाले– पहिला ट्राउटको स्वाद चखाउने । उपभोक्तालाई ट्राउट मन पराउने बनाउने । बजारमा ‘माग’ बढाउने । अनि किसानलाई आफूसम्म आउन बाध्य बनाउने रणनीति बनाए । 

ललितपरको गोदावरी र त्रिशुली मत्स्य अनुसन्धान केन्द्रबाट सुरुमा आम उपभोकताका लागी ट्राउट बिक्री सुरु भयो । 

धेरैले ट्राउट रुचाए ।  

अब पालो किसानसम्म पुराउने थियो । आफ्ना सहयोगी मध्येका एक साधुराम बस्नेत मार्फत नुवाकोटका किसान गोपाल लामालाई खेति गर्न लगाए । नीजि स्तरमा सर्वप्रथम ट्राउट पाल्ने कार्यको सुरुवात भयो । गोपाल नै पहिलो व्यवसायिक ट्राउट माछा पालक किसान बने । 

लामाले उत्पादन गरेको ट्राउटले थप उपभोक्तालाई लोभ्यायो । पछि, उनको सफलताले किसान पनि  लोभिए । नीति निर्माताले मन पराए । 
यसरी ट्राउट किसानसम्म पुग्यो । किसानले ट्राउट पालन गर्न थालेपछि देशैभर फैलियो ।

०६४ सालतिरबाट ट्राउट पाल्ने किसान बढ्न थाले । युवाहरु झुम्मिन थाले । भुराको माग थेग्न हम्मेहम्मे भयो । अब नीजि क्षेत्रलाई नै ट्राउटको अण्डा कोरली भुरा उत्पादन गर्ने ’एटकीन इन्क्युवेटर’ को डिजाइन तयार गर्नुपर्ने भयो । 

टेकबहादुरले डिजाइन तयार गरे । प्रयोग गरे । निजी क्षेत्रमा वितरण गरे । 

चिसो, सफा र बगिरहने पानीमा हुने ट्राउट पालन व्यवसायमा हेरचाह राम्रो भए, रोग नलाग्ने भएकाले छिट्टै थुप्रै युवाहरुको ताँती नै लाग्यो, टेकबहादुरको अघि । 

‘ती सबै युवाहरुले राम्रो हेरचाह गरेर ट्राउट पाल्न सके भने मेरो सपनाले उडान भर्छ भन्ने लागेको थियो मलाई । मेरो सपना भनेकै त्यस बखत कृषि र विशेषगरि माछा पालनमा युवालाई प्रोत्साहन गर्नु थियो’– टेकबहादुरले विगत सम्झेर भने । 

र अन्त्यमा 

आजभोलि ट्राउट माछा प्रति मानिसको मोह बढेको छ । निकै टाढा टाढाबाट ट्राउटको स्वाद लिनै भएपनि ककनी लगायतका स्थानमा जान लागेका छन् । 

ट्राउट पालन गर्ने मानिसको लर्को लागेको छ । माग धान्न हम्मेहम्मे परेको छ । अर्बाैं रुपैयाँको बजार बनेको छ । हजारौं किसान लाभान्वित भएका छन् । 

टेकबहादुरको एक्लो प्रयासले गर्दा भविष्यमा लाखौंको संख्यामा युवाहरुले देशभित्रै उद्यम गर्न सक्ने भएका छन् । 

सनराइज खबर टीमको तर्फबाट भन्न चाहन्छौं– सलाम टेकबहादुर । 


 

प्रतिकृया दिनुहोस