नेपालमा सिर्जना गोलभेडाले गरेको क्रान्ति
विकास अधिकारी --
काठमाडौं । नेपालमा धेरै खपत हुने तरकारीमा गोलभेडा दोस्रो नम्बरमा पर्दछ । यति धेरै लोकप्रिय गोलभेडाको खपत धेरै भएपछि खेति पनि धेरै हुन थालेको छ ।
कृषि मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा करिव २१ हजार हेक्टरमा गोलभेडा खेति हुन्छ । नेपालमा वर्षेनी साढे तीन लाख मेट्रिक टन गोलभेडा उत्पादन हुने गरेको छ । नेपाली उत्पादनले नपुगेपछि भारतबाट आयात हुने गरेको छ ।
नेपालमा चार जातका गोलभेडा उन्मोचन गरिएको छ । अर्थात् चार जातका गोलभेडा, खेति गर्न योग्य भनी सरकारले जनतालाई भनेको छ ।
यस्तै करिव २८ जातका गोलभेडा पञ्जिकृत गरिएको छ । अर्थात् सरकारलाई कृषि अनुसन्धान केन्द्रले खेति गर्न योग्य भनी दर्ता दिएको छ ।
नेपालमा सबैभन्दा सफल गोलभेडाको जात ‘सिर्जना’ हो ।
सिर्जना के हो ?
२०६६ सालमा डा. केदार बुढाथोकीले सिर्जना गोलभेडा विकास गरे । बेमौसममा पनि राम्रो फल्ने, बोक्रा बाक्लो हुने, खाँदा मीठो हुने र रोग पनि कम लाग्ने यस जातको गोलभेडा विकास गरिएको छोटो समयमै निकै लोकप्रिय भयो- किसान माझ पनि उपभोक्ता माझ पनि । टनेल खेति गर्ने किसान र खुला आकाशमा खेति गर्ने दुबै खाले किसानले यसमा आफ्नो भविष्य देखे ।
विस्तारै सिर्जना जातको गोलभेडाको खेति बढ्दै गयो । अहिले नेपालमा सबैभन्दा धेरै खेति हुने गोलभेडाको जात सिर्जना नै हो । बुढाथोकीको अलौकिक आविष्कारले नेपालीलाई ठूलो गुण लगायो ।
काठमाडौं उपत्यकामा गोलभेडा खेति गर्नेहरुमा करिव ४५ प्रतिशत उपत्यका बाहिरबाट आई बसोबास गर्नेहरु रहेको आकलन गरिएको छ । गोलभेडा खेतीले धेरै युवालाई बिदेशिन बाट जोगाएको छ ।
आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनका लागि समेत सिर्जना गोलभेडाले योगदान गरेको छ । सन् २००८ मा ०.२ किलोबाट सुरु भएको सिर्जना गोलभेडा बिउको यात्रा सन् २०१४ मा आइपुग्दा दुई सय ९३ किलोमा वृद्धि भएको थियो ।
त्यस वर्ष दुई सय ९३ किलो बिउले करिव चार करोड ७० लाख रुपैयाँ बराबरको गोलभेडा उत्पादन भएको थियो ।
सिर्जनाको चिनारी
- बोक्रा बाक्लो हुन्छ ।
- स्वाद अमिलो हुन्छ ।
- बोटको उचाई ४.५ देखि ५ मिटरसम्म हुन्छ ।
- बेर्ना सारेको ७५–८० दिनमा फल्छ ।
- ९ देखि १० महिनासम्म लगातार फल्छ ।
- एउटा गोलभेडाको तौल ६० देखि ८० ग्राम हुन्छ ।
- ओइलाउने रोग सहन सक्छ ।
- मध्य पहाडको ८०० देखि १६०० मिटर र तराईको १५० मिटरभन्दा माथिका उर्बर तथा सिंचित क्षेत्रहरुमा राम्रो उत्पादन हुन्छ ।
कहाँ कसरी गर्ने खेति ?
तरकारी बाली विकास केन्द्र खुमलटारका सूचना अधिकारी कर्ण बहादुर कठायतका अनुसार सिर्जना सबैभन्दा धेरै फाइदा दिने गोलभेडा हो । सर्लाहीको लालबन्दी लगायतका स्थानमा हुने गोलभेडा पनि सिर्जना जातकै हो ।

उनका अनुसार गोलभेडा र विशेषगरी सिर्जना गोलभेडाको खेति गर्न तामक्रम २४ देखि २८ डिग्री सेल्सियससम्म हुनुपर्दछ । उनका अनुसार हावापानी अनुकूल गोलभेडाको जात रोजियो भने नोक्सानी बेहोर्नुु पर्दैन ।
सुचना अधिकारी कठायतले गोलभेडा खेति गर्दा अपनाउनुपर्ने विभिन्न विधि बताएका छन् ।
- भौगोलिक अवस्था हेरेर मात्र खेति गर्ने ।
- खेति भएको ठाउँ नजिकै बजार भएको नभएको बिचार गर्ने ।
- त्यस व्यवसायप्रति आफ्नाे लगनसीलता कस्तो छ त्यो बिचार गर्ने ।
- गुणस्तर कस्तो दिने त्यो बिचार गर्ने ।
- क्याल्सियमको कमीबाट हुने रोग लाग्न नदिन बाँझोँ बारी जोत्नुभन्दा तीन हप्ता अघि चुना छर्केर राख्नुपर्दछ ।
- ओईल्ट (पात ओइलाउने रोग) बाट गोलभेडा जोगाउन ओसिलो ठाउँमा खेति गर्न हुँदैन ।
- थोपा सिञ्चाइ प्रविधि अपनाए सबै बोटमा एकै नासको मल र पानी पुग्छ ।
तर गोलभेडाको सम्बन्धमा एउटा भयावह कुरा के छ भने, किसानहरु बेलुका विषादी छर्केर बिहान बजारमा ल्याउँछन् । त्यसले मानव स्वास्थ्यमा खेलवाड त गरेको छ नै, किसानमाथि पनि उपभोक्ताको विश्वास झन् झन् कम गर्दै गएको सूचना अधिकारी कठायत बताउँछन् ।
विषेशज्ञबाट सुझाव लिइ, विषेश उपाय अपनाइ गोलभेडा खेति गर्नाले किसान, उपभोक्ता सरकार र गोलभेडा सबैलाई फाइदा पुग्ने उनको विश्वास छ ।


प्रतिकृया दिनुहोस