• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

टाइटेनिकबारे सेलिन डियोनको रोचक खुलासा 

विदेश डेस्क

एजेन्सी । क्यानेडेली गायिका सेलिन डियोनले आफ्नो चर्चित गीत ‘माई हर्ट विल गो अन..’ सँग जोडिएका रोचक तथ्यहरु खुलासा गरेकी छिन् । यो गीत १९९७ को सुपरहिट फिल्म टाइटेनिकको ‘थिम सङ’ हो ।

सेलिनका अनुसार उनले यो गीत गाउन झण्डै अस्विकार गरेकी थिइन् । तर, यो गीतले उनको करियरलाई नयाँ उचाई दिलाउन महत्वपूर्ण भूमिका खेल्यो ।

‘वाच ह्वाट हेपन्स लाइभ’ शृंखलामा एन्डी कोहिनसँग कुरा गर्दै उनले भनेकी छिन् – ‘ यसले मलाई आकर्षित गरेन । सायद म रेकर्डिङको दिन धेरै थोकेको थिएँ’ – ५१ वर्षीया डियोनले थपिन् – ‘मेरो श्रीमान् (स्वर्गीय रेने एन्जिलिल) ले गीतकारसँग कुरा गरे र त्यसपछि मलाई सानो डेमो बनाउन प्रयास गर्न भने । त्यसपछि म डेमोका लागि गाउन तयार भएँ ।’

डियोनका अनुसार कम्पोजर जेम्स हर्नर र लेखक विल जेनिङस्ले यही डेमोलाई अन्तिम स्वरुप दिए  । 

‘मैले एकैपटक गाएको गीतलाई उनीहरुले यति मिठो शैलीमा तयार गरे । जसकारण मैले रेकर्डिङका लागि दोस्रो पटक गाउनु नै परेन । डेमो नै यसको अन्तिम रेकर्डिङ हो’ – उनले भनिन् – ‘तर यो गीत त्यसपछि मैले लाखौंपटक गाइसकेको छु ।’
  
राम्रो प्रशंसा बटुलेको यो गीत सन् १९९८ मा बिलवोर्ड हट १०० चार्टमा पहिलो नम्बरमा थियो । यो गीतले फिल्मको साउन्डट्रयाकलाई १६ हप्तासम्म नम्बर १ स्थानमा राख्यो र साउन्डट्रयाक १५ मिलियनभन्दा धेरै प्रति बिक्यो । 

यो संगीतले ओस्कारमा वेस्ट ओरिजिनल स्कोर र त्यही वर्ष ग्रामी अवार्ड पनि जित्यो । 

टाइटेनिकबारेका अन्य रोचक तथ्यहरु :-

– खानामा विषाक्त पदार्थ मिसिएपछि टाइटेनिकको सुटिङका क्रममा ८० जना कलाकार तथा प्राविधिकहरु बिरामी परेका थिए । उनीहरुमध्ये अधिकांशलाई तत्कालै अस्पताल लगिएको थियो । 

– जेम्स क्यामरुनले यो फिल्मका लागि १ सय ५० मेन एक्स्ट्रा (पृष्ठभूमिका कलाकार) राखेका थिए । उनी चाहन्थे, ती कलाकारले त्यस्तै व्यवहार गरुन्, जस्तो १९१२ को समयका मानिसहरु गर्थे । क्यामरुनले ती कलाकारहरुलाई हिंड्न र राम्रोसँग खाने तरिका सिकाउनका लागि विशेष प्रशिक्षक बोलाएका थिए । ‘अ टाइम ट्राभलर्स गाइड’ नाम सर्ट फिल्म पनि निर्माण गरियो, जुन कसरी खाने र कसरी बोल्ने भन्ने विषयमा आधारित छ । 

– वैकल्पिक इन्डिङ : फिल्मका लागि अर्को छुट्टै इन्डिङ पनि सुटिङ गरिएको थियो । वैकल्पिक भर्सनमा ब्रोक लोभेट्ट (बिल प्याक्सन) ले रोसलाई महासागरमा नेक्लेस फाल्दै गरेको अवस्थामा फेला पार्छ र उनलाई रोक्न र यसो नगर्न विश्वस्त बनाउनका लागि अघि सर्छन् । तर वृद्धी रोसले नेक्लेस फालेरै छाड्छिन्, जसले सबैलाई निराश बनाइदिन्छ ।  

– त्यो चित्र : यस फिल्मको संझनालायक दृश्यमध्ये (कम्तिमा टिनएजर युवाका लागि)  रोजले दिएको न्युड सिन र ज्याकले बनाउँदै गरेको त्यसको चित्र हो । फिल्म हेर्नेहरु छक्क पर्दै भन्छन् – ‘वाह् लियोनार्दो डिकाप्रियो पनि यस्तो चित्र कोर्नसक्छन् ।’  तर, पेन्सिल पछाडिका व्यक्ति निर्देशक जेम्स क्यामरुन हुन् । रोचक कुरा यो स्केच सन् २०११ मा एक अक्सनका दौरान २० हजार अमेरिकी डलरमा बिक्री भयो । 
 

प्रतिकृया दिनुहोस