• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

समस्यामा छन् गगन र विश्वप्रकाश, त्यसैले सभापतिमा गगनको उम्मेदवारी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । एक साता अघि एउटा जमघटमा डा. मिनेन्द्र रिजालले भने– ‘तपाईं त जित्ने टिमबाट महामन्त्री पाउनुभयो भने महामन्त्री उठ्ने, हार्ने टिमबाट उठ्नुपर्ने भयो भने त सभापति नै उठ्ने होला होइन ?’ मिनेन्द्रले ठट्यौलो पाराले भनेका थिए । र, भनिएका पात्र थिए गगन थापा । 

गगनले गोरखा पुगेर आफ्नो राजनीतिक करियरमा ‘टेस्ट इन्जेक्सन’ हानेका छन् । उनले आवश्यक परे पार्टी सभापति पदमा उम्मेदवारी दिन्छु भनेका छन् । सभापतिमा उम्मेदवार बन्ने कुरा बोलेर उनले प्रतिक्रिया कस्तो आउँछ भन्ने हेर्न चाहेका हुन् । जानकारहरु भन्छन्– उनले आफ्नो पक्षमा माहौल बनाउन पनि यसो भनेका हुन् । 

गगनले यस्तै खालको कुनै घोषणा गर्छन् भन्ने कांग्रेसभित्र धेरैले आकलन गरिसकेका थिए । त्यसैले मिनेन्द्रले एउटा जमघटमा गगनलाई त्यसो भनेका हुन् । जवाफमा गगन ‘हो दाइ’ भन्दै हासेका थिए । 

गगन र विश्वप्रकाश

कांग्रेसमा दुईजना युवा नेता यस्ता छन् जसलाई पार्टीभित्र कसैले पनि कमजोर आक्न सक्दैन । ती दुई हुन् गगन र विश्वप्रकाश शर्मा । पार्टी बाहिरको लोकप्रियताले यिनलाई पार्टीभित्र बलियो बनाएको हो । पार्टी बाहिर खासै चर्चित नभए पनि संगठनभित्र चाहिँ वालकृष्ण खाँड बलिया मानिन्छन् । गगन र विश्वप्रकाश दुवैजना महामन्त्रीका दावेदारका रुपमा चर्चित छन् । अहिले आएर गगनले सभापति पद समेत ताकेका छन् । उनको यो आकांक्षाले उनीभन्दा माथिल्लो पुस्तालाई तर्साएको, समकालीनहरुलाई झस्काएको र कनिष्ठहरुलाई उत्साहित बनाएको हुनुपर्छ । 

गगन र विश्वप्रकाश फरक खेमामा छन् । कृष्ण सिटौला खेमा र गगन देउवा खेमामा छन् विश्वप्रकाश । सिटौला खेमाबाट चुनाव उठेर जित्न सकिँदैन भन्ने गगनले बुझेका छन् । विश्वप्रकाशलाई चाहिँ देउवा खेमाले महाधिवेशनका बेला महामन्त्रीमा टिकट दिन्छ कि दिँदैन भन्ने चिन्ता छ । 

कांग्रेसको संशोधित विधानमा दुईजना महामन्त्रीको व्यवस्था छ । देउवा खेमाबाट महामन्त्रीका उम्मेदवार एकजना खाँड निश्चित जस्तै छन् । अर्का उम्मेदवार विश्वप्रकाश नै हुन्छन् भन्ने सुनिश्चित छैन । किनभने विश्वप्रकाशभन्दा वरिष्ठ मानिनेहरु पनि महामन्त्रीका आकांक्षी छन् । यो अवस्थामा विश्वप्रकाशले महामन्त्रीको टिकट नपाउन सक्छन् । 

गगनले देउवा खेमामा पसेर महामन्त्रीको टिकट पाउन धेरै नै गाह्रो छ । त्यही खेमामा रहेका विश्वप्रकाश जस्तालाई त गाह्रो छ भने त्यो खेमामा पसेर गगनले टिकट पाउनु लगभग असम्भव जस्तै मानिन्छ । गगनले रामचन्द्र खेमाबाट पनि टिकट पाउन सजिलो छैन । सिटौला खेमा र रामचन्द्र खेमा मिलेर महाधिवेशनमा चुनाव लड्यो भने गगनले महामन्त्रीको टिकट पाउने र जित्ने सम्भावना हुन्छ, नत्र गाह्रो हुन्छ । 

रमाइलो के छ भने यी दुई युवा नेताबीच पार्टीभित्र तछाडमछाड छैन, फरक खेमामा भए पनि उनीहरु एउटै टिमजस्ता छन् । महामन्त्रीमा फरक खेमाबाट चुनाव लडे पनि दुवैले एक अर्कालाई सहयोग गर्ने भनिरहेका थिए । 

अर्थात्, कांग्रेसका सर्वाधिक चर्चित दुई युवा नेता आफ्नो राजनीतिक भविष्यलाई लिएर चिन्तित छन् । यही चिन्ताको कारण गगनले सभापतिमा उम्मेदवार दिन्छु भनेका हुन् ।

प्रतिकृया दिनुहोस