• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

सीमा सुरक्षाको जिम्मेवारी सरकारको

रासस

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी सरकारले पूरा गर्ने बताएका छन् ।

चाँगुनारायणको चुनावी कार्यक्रममा उनले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले पूरा गर्ने बताए । 

नेता खनालले २१ औँ शताब्दीको दोस्रो दशक पार गर्दा पनि देशको सिमाना अङ्कित हुन नसक्नुले विगतका सरकारले ध्यान नदिएको प्रष्ट भएको बताए । उनले भने - ‘आज हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छौँ, सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन्, अब नेकपाको सरकारले गर्छ ।

 देशमा प्रशस्त बिजुली र पानी भएपनि अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य गरी सरकारले विद्युत्भार कटौती मुक्त देश बनाउँने भन्दै नेता खनाललेसरकारले राष्ट्रव्यापीरूपमा विद्युतीकरण गर्ने योजना सरकारले अगाडि बढाएको बताए ।  उनले भने– ‘नेकपाको सरकार बनेपछि लोडसेडिङ अन्त्य भएको छ, उज्यालोको युग सुरु भएको छ ।'

आफ्नै देशमा उत्पादन क्षमता हुँदाहुँदै पनि विदेशबाट आयात गरिएका गोलभेँडा, प्याज, फलफूल खानु परेको भन्दै वर्तमान सरकारले यस्तो विदेशमुखी अवस्थाको अन्त्य गर्दै उत्पादनमुखी नीति लिएको उनले बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपालको राष्ट्रियताको सुदृढीकरण गर्ने, पार्टी एकीकरणलाई तल्लो तहसम्म पूरा गर्ने र देशलाई आर्थिक रुपमा समृद्ध बनाउने जिम्मेवारी सरकारले पूरा गर्ने बताए ।

सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेकपाको सरकार र नेकपाको स्थानीय तह आएपछि चाँगुनारायण नगरपालिकाले विकासमा फड्को मारेको बताए ।

 मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा नेकपाले डिपी ढकलालाई उम्मेदवार बनाएको छ ।  

कार्यक्रममा प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्य एवं चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, नेकपा भक्तपुर इन्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायत नेताहरुले नेकपालाई मतदान गर्न आग्रह गरेका थिए ।

 

प्रतिकृया दिनुहोस