• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

आठ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा 

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा पहिलोपटक आठ जना खेलाडी परेका छन् । 

स्टार लेगस्पीनर सन्दीप लामिछाने यसअघि नै प्लाटिनम समूहको ड्राफ्टमा परेका थिए भने सिल्भर समूहमा पारस खड्कासहित अन्य खेलाडी छन् । अझै इमर्जिङ लगायत समूहको घोषणा हुन बाँकी नै छ । 

ड्राफ्टमा परेका अन्य खेलाडीमा ब्याटसम्यान शरद भेषावकर, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहित पौडेल छन् भने अलराउण्डर तर्फ सोमपाल कामी छन् । 

कुनै पनि विदेशी फ्राञ्चाइज लिगमा यति ठूलो संख्यामा नेपाली खेलाडी परेको यो पहिलो पटक हो । पीएसएलको बाेलकबाेल आगामी डिसेम्बर ६ र ७ मा हुने तालिका रहेकाे छ । 

यसअघि करन केसी र ललित राजवंशीको नाम पनि नेपालको तर्फबाट ड्राफ्टको लागि सिफारिश भएपनि सिल्भर समूहमा दुईजनाको नाम भने छैन । यी दुई खेलाडीको नाम इमर्जिङ विदेशी खेलाडीको समूहमा आउने सम्भावना बाँकी नै छ । 

अहिलेसम्म पीएसएलको प्लाटिनम, डाइमण्ड, गोल्ड र सिल्भर अन्तर्गत विदेशी र स्थानीय समूहको ड्राफ्टमा पर्नेको नाम मात्र सार्वजनिक गरिएको छ । प्लाटिनम समूहकाे मूल्य १ लाख ४७ हजार डलर – २ लाख १८ हजार डलरसम्म छ भने सिल्भर समूहको खेलाडीको मूल्य १५ हजार डलर देखि ३५ हजार डलर छ।

पीएसएलमा अहिलेसम्म स्टार लेगस्पीनर सन्दीप लामिछानेले खेलिसकेका छन् । यस्तै पारस खड्का र सोमपाल कामी पनि यसअघि ड्राफ्टमा भने अटाएका थिए । 

पीएसएलको पाँचौ संस्करण सन् २०२० को फेब्रअरी २२ देखि २२ मार्चसम्म आयोजना हुने तालिका छ । 

गत सिजनको पीएसएलको लिग चरणका खेलहरु यूएईमा खेलिएको थियो भने प्लेअफका खेलहरु पाकिस्तानमा नै खेलिएको थियो ।
 


 

प्रतिकृया दिनुहोस