• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

सुटुक्क आलमको घर पुगेका थिए सीडीओ र एसपी

राजेश भण्डारी

काठमाडौं । सांसद मोहम्मद आफताब आलमलाई पक्रनु प्रहरीका लागि लरतरो काम थिएन । प्रहरी संगठनभित्रैबाट आलमलाई बारम्बार बँचाइएको थियो । यसपटक पनि उनी बच्‍ने थिए, यदि केन्द्रले हस्तक्षेप गरेको थिएन भने ।

उच्च स्रोत अनुसार आलमलाई पक्रन प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुमति लिइएको थियो । प्रम ओलीको ‘ग्रिन सिग्‍नल’ पाएपछि मात्र प्रहरी प्रधान कार्यालयले आलमको हातमा हत्कडी लगाउने अन्तिम स्टेप चालेको थियो । 

आलमलाई पक्रन प्रधानमन्त्रीसँग पाँच महिना पहिले अनुमति लिइएको थियो । त्यसपछि प्रहरीले निरन्तर रुपमा आलमलाई विशेष निगरानीमा राखेको थियो । पाँच महिनाको तयारीपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रधानमन्त्रीसँग आलमलाई पक्राउ गर्न आवश्यक प्रमाण पुगिसकेको ब्रिफ गरेका थिए । 

त्यसपछि प्रधानमन्त्री ओलीले ‘तुरुन्त पक्रे हुन्छ’ भने । 

आलमलाई पक्रँदा ठूलो तरंग आउँछ, नेपाली कांग्रेसले आन्दोलन गर्न सक्छ भन्‍ने प्रहरीको प्रारम्भिक आँकलन थियो । त्यसैले आलमका बारे यावत कुरा थाहा पाउन र भित्री परिस्थिति विष्लेषण गर्न प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएर उनको रेकी गरिरहेको थियो । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आलमलाई पक्राउ गर्ने विषयमा रौतहटका प्रहरी उपरिक्षक (एसपी) भुपेन्द्र खत्रीलाई गत वैशाख यता चारपटक काठमाडौं बोलाएका थिए । 

चिया पिउन आलमको घर

सुन्दै कहालीलाग्दो नरसंहारका नाइके आलमलाई पक्रने दायित्व रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा र प्रहरी उपरिक्षक (एसपी) भुपेन्द्र खत्रीको काँधमा थियो । 

तर, उनीहरु नै आलम पक्राउ पर्नुभन्दा सात दिन पहिले आलमको घरमा गएर सँगै चियाखाजा खाएको पाइएको छ । 

‘पक्राउ गर्नुभन्दा एक साताअघि रौतहटका एसपी र सीडीओले आलमको घरमा गएर चियाखाजा खाएको थाहा भएको छ’– प्रहरी प्रधान कार्यालयका एक अधिकृत भन्छन्– ‘रौतहटका प्रजिअ र एसपी खत्रीले आलमलाई पक्राउ गर्न चाहेका थिएनन् ।’ 

आलमको घरमा चियाखाजा खाएर फर्किएपछि प्रजिअ थापाले गृह मन्त्रालयमा परिस्थितिबारे फोनबाट जानकारी गराए । स्रोत अनुसार आलम पक्राउ पर्नुभन्दा दुई दिनअघि प्रजिअले परिस्थिति काबु बाहिर जाने भन्दै पक्राउ गर्नै नहुने बताएका थिए । 

रौतहटका सीडीओ र एसपी दुवैजना आलमलाई जोगाउने पक्षमा देखिएपछि प्रहरी नेतृत्व संकटमा पर्‍यो । 

प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी प्रधुम्‍न कार्की पनि आलम पक्राउको विपक्षमा थिए । 

उनले पनि आलमलाई पक्राउ गरेमा भयावह स्थिति आउने भन्दै आलमलाई छठपछि मात्र पक्राउ गर्नुपर्ने बताएका थिए । 

तर, गृह–सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक खनाल आलमलाई पक्राउ गर्ने मिशनबाट पछि हट्न मानेनन् । किनभने सचिव राई र महानिरीक्षक खनाल प्रजिअ, एसपी र २ नम्बरका डिआईजीको सूचनामा मात्र निर्भर थिएनन् ।  

उच्च स्रोत भन्छ– आलमको निगरानी गर्न प्रहरी प्रधान कार्यालयबाट बेग्लै गुप्त टोली रौतहटमा खटाइएको थियो । सो टोलीले आलमको सुक्ष्म निगरानी गरिरहेको थियो । प्रमुख जिल्ला अधिकारी, एसपी र प्रदेशका डिआईजीले आलमलाई पक्राउ गर्ने तदारुकता किन नदेखाएका हुन् भन्ने सचिव राई र महानिरीक्षक खनालले थाहा पाइसकेका थिए । 

आलमको घरमा गएर चियाखाजा खाएको तर केन्द्रमा भने त्यसको रिपोर्टिङ नगरेको सूचना सचिव राई र महानिरीक्षक खनालले पाइसकेका थिए । उनीहरुले पक्रँदैनन् भन्ने बुझेपछि केन्द्रले अर्काे कदम चाल्यो ।

प्रहरी प्रधान कार्यालयले २४ असोजमा अर्को टिम रौतहट पठाएको थियो । सो टिम रौतहट पुग्दा जिल्ला अदालतबाट आलमबिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको थियो । 

आलमको घरमा चिया खान गएको कुरा एसपी खत्रीले भने अस्वीकार गरेका छन् । ‘आलमको घरमा तपाई जानुभएको थियो ?’ भनी सनराईजखबरले राखेको जिज्ञासामा रौतहटका एसपी भुपेन्द्र खत्रीले भने– ‘यो गलत कुरा हो, म गएको छैन ।’ 

आलमलाई भाग्‍न सुझाव 

२४ असोजमा प्रहरी प्रधान कार्यालयबाट दोस्रो टोली रौतहट आएको सुराक पाएपछि एसपी खत्रीले आलमलाई फोन गरेर रौतहट छाड्न सुझाव दिए । 

तर, आलमले ‘ए, एसपी मलाई डराउँछ भन्ने सोचेको ? म आईजिपी परिवर्तन गर्न सक्छु, मलाई कसले पक्राउ गर्न सक्छ’ भन्दै हिन्दी भाषामा भुपेन्द्रलाई हकारेका थिए । 

तर, काठमाडौंमा कृष्णबहादुर महरा पक्राउ परेपछि आलमले आफ्नो पालो आएको राम्रोसँग बुझेका थिए । २५ असोजमा उनी आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चियापान कार्यक्रममा भाषण गर्दै थिए । 

ठिक त्यहि बेला काठमाडौंमा एउटा हल्ला आइपुग्यो । आलम भारतको पटना छिरिसके । तर, प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनको पिछा गरिरहेको थियो । उनी भारत गएका थिएनन्, रौतहटमै थिए ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्– ‘आलम भारत छिरेको हल्ला एसपी खत्रिले फैलाएका थिए, तर आलम त्यो दिन चियापान कार्यक्रममा भाषण गरिरहेका थिए ।’ 

त्यसको भोलिपल्ट २६ असोजमा आलम पक्राउ परे । उनीमाथि ०६४ चैत्र २७ मा रौतहटमा बम विस्फोट हुँदा घाइते भएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर जलाएको अभियोग छ । 

जिल्लाको नेतृत्वको मात्र भर परेका भए, केन्द्रबाट विशेष टोली खटाएर जिल्लालाई ‘क्रस’ गर्दै रेकी र अनुसन्धान अगाडि नबढाइएको भए आलम पक्राउ पर्ने थिएनन् । अदालतको आदेशले अहिले आलम पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा छन् ।

 

याे पनि पढ्नुहाेस्

आफताबलाई पक्रन पाँच महिनाको तयारी, भारत भाग्न लागेका थिए

 

 

प्रतिकृया दिनुहोस