• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

प्रधानमन्त्रीले गरे माथिल्लो त्रिशुली थ्री–एकाे उद्घाटन

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । माथिल्लो त्रिशुली थ्री–ए जलविद्युत् आयोजनाको सोमबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले संयुक्त रुपमा जलविद्युत आयोजनाको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको एक्सन रुमबाट र मन्त्री पुनले नुवाकोटको किस्पाङबाट अ‌ायाेजनाको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यव्यस्तताका कारण प्रधानमन्त्री ओली नुवाकोट जान नसकेपछि सिंहदरबारबाटै उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीले एक्सन रुमबाट स्विच अन गरेर जलविद्युत आयोजनाको उद्घाटन गरेका उनका प्रेस विज्ञ रामशरण बजगाईंले सनराइज खबरलाई जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई साकार पार्न साे जलविद्युत आयोजना महत्वपूर्ण रहेकाे बताए । उनले भने - ‘आजबाट ६० मेघावाट विद्युत थप हुनुले सिंगो देश नै खुसी  छ । यसले समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सफल बनाउन महत्वपूर्ण योगदान दिनेछ ।’

ठूला आयोजनाहरुलाई प्रतिकूल प्रभाव पार्ने गरी जग्गाको मुआब्जा नलिन सराेकारवालाहरुलाई आग्रह गरे ।  उनले सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले यसमा धेरै महंगो हुने गरी मुआब्जा नलिन आग्रह गरेका हुन् । 

‘याे आयोजना ९० मेघावाटको बन्न सक्थ्यो,‘तर जग्गाको मुआब्जा जस्ता विवादले निर्माणमा ढिला भयाे । लागत पनि बढ्यो, ६० मेघावाट विद्युत उत्पादनमा सीमित हुनुपर्ने अवस्था आयो, यस्ता प्रवृत्तिले सिंगो देशलाई नै नोक्सान पुर्‍याउँछ ।'

जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्‍याउने ठूला जलविद्युत आयोजनालाई अघि बढाउन नसकिएको पनि उनले बताए । 

सरकारले उर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर देशलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको पनि बताए । प्रधानमन्त्री ओलीले सो विद्युत आयोजना निर्माण कार्यमा संलग्‍न सबैलाई धन्यवाद दिए ।

रसुवा र नुवाकोटमा निर्माण भइरहेको सो आयोजनाबाट व्यावसायीक रुपमा विद्युत उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ६० मेगावाट क्षमताको सो आयोजनाबाट दैनिक १४ लाख ४० हजार युनिट बिजुली उत्पादन हुनेछ ।

गएको ३ जेठ र १७ साउनबाट सो आयोजनाको पहिलो र दोस्रो युनिटबाट (३०–३० मेगावाट) परीक्षण उत्पादन सुरु भएको थियो । उद्घाटनसँगै राष्ट्रिय प्रसारण प्रणलीमा ६० मेगावाट विद्युत थप भएको छ ।

आयोजना निर्माणका लागि चिनियाँ एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी गरिएको छ । अ‌ायोजना निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको छ ।

सो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भएको हो ।  सो आयोजना काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सन्तुलन ल्याउन र हिउँदमा भारतसँग आयात हुने विद्युत न्यूनीकरण गर्न महत्वपूर्ण मानिएको छ ।

प्रतिकृया दिनुहोस