• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

नेपाली भूमि बचाउन सरकार सचेत –नेता पाण्डे

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत रहेको बताएका छन् ।

पाण्डेले भारतीय पक्षसंग सरकारले सीमा समस्या समाधानका लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरिरहेको पनि बताए । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार नेपालको एक इञ्‍च भूमि पनि गुम्‍न नदिनेमा दृढ रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले भारत र चीन दुबै मुलुकसँग सीमा विवाद रहेको उल्लेख गर्दै समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिए । उनले सरकार र मुलुकको सुरक्षा निकाय देशको भूगोलको रक्षा गर्न गम्भीर नभएको आरोप समेत लगाए ।

यस्तै समाजवादी पार्टी, नेपालका नेता डा. शिवजी यादव र राष्ट्रिय जनता पार्टी, नेपालका महामन्त्री केशव झाले नेपाली भूमि भारत र चीन दुवै मुलुकले अतिक्रमण गरेको दाबी गर्दै ती समस्या समाधानका लागि सरकारले उचित कदम चाल्न नसकेको आरोप लगाए ।
 

प्रतिकृया दिनुहोस