• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ओली–प्रचण्ड बीच भेटवार्ता : जनयुद्ध दिवस मनाउन प्राविधिक समस्या

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । फागुन एक अर्थात् जनयुद्ध दिवस नजिकिँदै जाँदा पुष्पकमल दाहाल प्रचण्डको छटपटि बढ्दै गएको छ । यही विषयमा छलफल गर्न आज बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रचण्डले नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । 

माओवादीले ०५२ फागुन १ बाट जनयुद्ध थालेको थियो । गत वर्षसम्म प्रचण्ड नेतृत्वको नेकपा माओवादीले फागुन १ मा जनयुद्ध दिवस मनाउँदै आएको थियो । पार्टी एकीकरण भएपछि के गर्ने भन्ने समस्या आएकाले प्रचण्डले ओलीसँग सल्लाह गरेको बुझिन्छ ।

आज बिहान ओलीसँग छलफल गर्न जानु अघि प्रचण्डले पूर्व माओवादी नेताहरुसँग जनयुद्ध दिवसको विषयमा छलफल गरेका थिए । उनीहरुसँग छलफल सकेर ओलीलाई भेट्न प्रचण्ड वालुवाटार पुगेका थिए । 

‘बिहान ११ बजेदेखि डेढ घन्टा ओलीसँग छलफल गरेर प्रचण्ड फर्कनुभयो,’– प्रचण्ड निकट एक नेताले सनराइज खबरलाई बताए । 

भेनेजुयला प्रकरण सेलाउन नपाउँदै प्रचण्डले माओवादी फेरि जन्मन सक्छ भन्दै दिएको अभिव्यक्तिले परिस्थिति असहज झैं देखिएको बेला दुई नेताबीच वार्ता भएको हो । 

‘जनयुद्ध दिवस कसरी मनाउने भन्ने विषयमा अध्यक्ष प्रचण्डले पूर्व माओवादीका साथीहरुसँग छलफल गरिरहनुभएको छ र यही विषयमा कुराकानी गर्न अर्का अध्यक्ष ओलीलाई भेट्न जानुभएको हो’– ती नेताको भनाई थियो । 

पूर्व माओवादीका कतिपय ‘हार्डलाइनर’ नेताहरु नेकपा पार्टीकै तर्फबाट जनयुद्ध दिवस मनाउनुपर्छ भन्ने पक्षमा देखिएका छन् । तर, कतिपय नेताहरु चाहिँ पूर्व एमाले नेता–कार्यकर्तालाई जबर्जस्ती जनयुद्ध दिवस थोपर्नु जायज नहुने पक्षमा देखिएका छन् ।

स्रोत अनुसार जनयुद्ध दिवस मनाउने पूर्व माओवादी नेताहरुले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरुसँग पनि छलफल गरिसकेका छन् । उनीहरुले पार्टीकै तर्फबाट जनयुद्ध दिवस मनाउन जायज नहुने विचार राखेको बुझिन्छ । 

ओलीसँगको कुराकानीमा जनयुद्ध दिवस मनाउने बारेमा के भयो त ? प्रचण्ड निकट अर्का एक नेताका अनुसार पार्टीको तर्फबाट जनयुद्ध दिवस मनाउन उपयुक्त नहुने धारणा ओलीले पनि व्यक्त गरेका छन्, ओलीले केही संघसंस्था परिचालन गरेर उनीहरुको व्यानरमा जनयुद्ध दिवस मनाउनु उपयुक्त हुने सुझाएका छन् । ती नेताका अनुसार जनयुद्ध दिवस मनाउने कि नमनाउने अथवा मनाउने भए कसरी मनाउने भन्ने विषयमा प्रचण्डले ओलीसँग थप छलफल गर्नेछन् ।
 

प्रतिकृया दिनुहोस