• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

‘बाघे’ सहित २३ जनाको सम्पत्ति छानविन हुने

राजेश भण्डारी

काठमाडौं । निर्माण सामग्रीमा व्यापक ठगी गरेका गुण्डा नाइके बाघे सहित २३ जनाको सम्पत्ति छानविन हुने भएको छ । 

सुकबहादुर लामा उर्फ बाघेसहित २३ जना निर्माण सामग्री व्यवसायी ठगीको आरोपमा पक्राउ परेका थिए । उनीहरुले बालुवा, गिट्टी तथा ईंट्टा लगायतका निर्माण सामग्री  ढुवानी गर्ने ट्रकको सतह मोडिफाई गरेर ग्राहकलाई थोरै परिमाण सामान दिने गरेका थिए । 

१ कार्तिकमा महानगरीय अपराध महाशाखाले काठमाडौं उपत्यकामा सञ्चालित डिपो छापा मारेर ट्रक नियन्त्रणमा लिएपछि यो ठगीको पोल खुलेको थियो । 

पटक–पटक प्रहरीको पञ्जामा पर्दै आएका गुण्डा नाइके बाघे सहित २३ जनालाई प्रहरीले पक्रेको थियो । उनीहरुको ठगी बारे अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 

ट्रकको डालीलाई केही इन्च सानो बनाएर उनीहरुले ग्राहक ठग्दै आएका थिए । उनीहरुले वर्षाैंदेखि ठग्दै आएको निष्कर्ष प्रहरीको छ । ‘उनीहरुले वर्षाैंदेखि यसरी नै ठगेर सम्पत्ति आर्जन गरेको देखिएको छ, त्यसैले सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धिकरण विभागलाई लेखी पठाएका छौं’– महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल बहादुर थापाले भने । 

उनले भने– ‘उनीहरुले यस्तो ठगी धेरै पहिलेदेखि गर्दै आएको र ठगेरै अवैद्य सम्पत्ती जोडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ 

छानविन कसको हुँदैछ ? 

प्रहरीको पत्रपछि विभागले विभिन्न २३ डिपो सञ्चालकको सम्पत्ति छानविन अगाडी बढाएको छ । विभागले आवश्यक ठानेमा उनीहरुलाई पुनः थुनामा राखेर मुद्धा अगाडी बढाउन सक्छ । 

१. प्रकाश श्रेष्ठ –जय महालक्ष्मी सप्लायर्स

२.विरेन्द्र कुईंकेल –बज्र इन्टरप्राइजेज सप्लायर्स

३.अर्जुन भुजेल – शिवशक्ति सप्लयर्स

४. दिपेन्द्र केसी – गरिमा सप्लायर्स 

५. बद्री गिरी – कामना ईन्टर प्राईजेज 

६. सुक बहादुर लामा (बाघे) – जेबिएस सप्लायर्स

७. सुरेन्द्र के.सी –शुभकामना सप्लायर्स

८. प्रकाश भण्डारी –खाँडादेवी निर्माण सप्लायर्स 

९. राजु थापा –सेतिदेवी सप्लायर्स 

१०. महेश्वर श्रेष्ठ –पञ्चेश्वर सप्लायर्स

११. सन्तोष कुँवर –धनेश्वर सप्लायर्स 

१२. श्याम बहादुर मगर –श्री भुमी सप्लायर्स 

१३. पुष्कर थापा 

१४. बुद्धिराज थापा मगर –काली भैरव सप्लायर्स 

१५. मदन प्रधान –कुण्डला सप्लायर्स 

१६. तोप नारायण श्रेष्ठ –कालिका सप्लायर्स 

१७. अजुर्न श्रेष्ठ – आकर्ष सप्लायर्स 

१८. कृष्णहरी नगरकोटी –स्वयम्भु सप्लायर्स 

१९. मनोहर श्रेष्ठ –महालक्ष्मी सप्लायर्स 

२०. जोग बहादुर तामाङ –भ्यालि क्वालिटी सप्लायर्स 

२१. गोपाल भण्डारी –गोेरखाली सप्लायर्स 

२२. सिंह बहादुर तामाङ – विज्ञान सप्लायर्स 

२३. रामकृष्ण श्रेष्ठ –नव अरुण सप्लायर्स

यसरी हुन्थ्यो ठगी  

माथि नाम उल्लिखित २३ जना सामग्री व्यवसायीले ढुंगा, गिट्टि, ईंट्टा लगायतका सामग्री विक्री गर्ने गरेका थिए । उनीहरुले आफ्नै मिनिट्रकमा लोड गरेर निर्माण सामग्री ग्राहकहरुको निर्माण स्थलसम्म पुराइदिन्थे । उनीहरुले मिनी ट्रकमा अट्ने परिमाणको मूल्य असुलेका हुन्थे तर थोरै मात्र सामग्री दिन्थे । 

ग्राहक ठग्न उनीहरुले आफ्ना ट्रकको डालीको सतह मोटो बनाएका थिए । सतहमा फलामको बक्स टपक्कै पारेर राखेका थिए । जसका कारण ग्राहकले सामान भरी ट्रक पाएको ठान्थे । तर, ग्राहकले भने २० प्रतिशत सम्म थोरै सामान पाउँथे । प्रहरीका अनुसार सतहमा बक्स बनाएर डालीलाई सानो बनाउँदा ग्राहकले प्रति ट्रिप १६ सय देखि २२ सय रुपैयाँसम्मको सामग्री थोरै पाउँथे । 

‘प्रति ढुवानी १ सय क्युफिट हुन्छ भनेर विक्री  गरेको बालुवा–गिट्टी जम्मा ८२ दशमलव ६३ क्युफिट मात्र हुने गरेको पाइयो’ एसएसपी थापा भन्छन्– ‘ट्रकको पिंधमा बनाइएको बक्सका कारण ट्रकले थोरै सामग्री मात्र ढुवानी गथर््यो ।’ 

२३ जना डिपो सञ्चालकका ३५ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस