• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

मध्यरात महिलाको डेरामा पुग्ने सई उपर छानविन

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । मध्यरात एक महिलाको डेरामा पुग्ने नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) दिपेन्द्र गिरी उपर छानविन सुरु भएको छ । उनी ड्युटी छाडेर महिलाको डेरामा पुगेको भन्दै छानविन थालिएको हो । 

महानगरीय प्रहरी प्रभाग लगनखेलमा कार्यरत सई गिरी सोमबार राति हात्तीवनमा महिलाको डेरामा पुगेका थिए । कार्यालयलाई जानकारी नदिई ड्युटी छाडेर हिँडेका उनले त्यसबेला मापसे समेत गरेको बताइएको छ । 

गिरी ती महिलाको डेरामा भएको बेला एक पुरुष आइपुगेका थिए । ती पुरुषसँग सई गिरीको भनाभन भएको थियो । झगडा हुन थालेपछि ती महिलाले ‘पुलिस बोलाउँछु’ भन्दै फोन गरिन् । त्यसपछि दिपेन्द्र झ्यालबाट हामफालेर भागेको बताइएको छ । 

‘दीपेन्द्र ड्युटी छाडेर महिलाको डेरामा राती तीन बजेसम्म बसेको देखिन्छ’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) टेकप्रसाद राईले भने–‘हामीले स्पष्टिकरण सोधेका छौं, उनले प्रहरीको इथिक्स भुलेका छन्, कारवाही हुन्छ ।’ 

त्यो दिन दिपेन्द्रले बिदा पनि नलिएको र बिना जानकारी ड्युटी छाडेको ललितपुर एसएसपी राईले बताए । 

विवाहित तर पति साथमा नभएकी ती महिलालाई बोलाएर ललितपुर प्रहरीले सोधपुछ गरिरहेको छ । दिपेन्द्र विगत १६ महिनादेखि लगनखेल प्रभागको इन्चार्ज छन् । 

‘ड्युटी छाडेर किन महिलाको डेरामा गएको ?’ भन्ने सनराईजखबरको जिज्ञासामा सई गिरीले ती महिला चिनजानको साथी भएको र खाना खान बोलाएकाले गएको बताए । उनले भने– ‘खाना खान गएको हूँ, एरिया छाडेर जानु मेरो गल्ती हो, तर विवाद भएर हाम्फालेर गएको होइन ।’ 
 

प्रतिकृया दिनुहोस