ओली र प्रचण्डको सेरोफेरोमा पोखरेल र रावलको चिन्ता
काठमाडौं । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई केन्द्र बनाएर उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिमा दुई नेताले रोचक टिप्पणी गरेका छन् ।
नेकपाका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्का नेता भीम रावलले बेग्लाबेग्लै टिप्पणी गरेका छन् । टिप्पणी बेग्लाबेग्लै भए पनि उनीहरुको चिन्ता र टिप्पणीको केन्द्र चाहिँ ओली र प्रचण्ड नै हुन् ।
ट्वीटरमा भीम रावल लेख्छन्– ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुद्धिमानी कार्य ठहरिने छ ।’
नेपालको कम्युनिष्ट आन्दोलन र फुटको इतिहासबारे गहिरो अध्ययन गरी किताब समेत लेखेका रावलले पार्टी विभाजन सम्मको चिन्ता गरेका छन् ।
उता, उपप्रधानमन्त्री पोखरेलले चाहिँ अलि लामो र विस्तृतमा फेसबुकमा लेखेका छन् । शासन सत्ता परिवर्तन पचाउन नसकेर कतिपयको मुटु भत्भती पोलेको पोखरेलले लेखेका छन् । उनी लेख्छन्– ‘अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न–डढेलो सल्काउन ज्यान फालेर लागेका छन्, पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन् ।’
दुई पार्टीको एकता सम्वन्धमा पोखरेल लेख्छन्– ‘कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन–ल्याइनै हुँदैन । अझ, सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।’
‘कम्युनिष्टहरू टुट्न मात्र होइन, जुट्न पनि जानेका छन्’– पोखरेलले लेखेका छन् ।


प्रतिकृया दिनुहोस