English

राजनीति

प्रधानमन्त्री ओलीलाई सबै दल र जनताको साथ– रमेशनाथ पाण्डे

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी प्रकरणमा बोलाएको बहुपक्षीय बैठकमा केके भयो ? पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेका अनुसार प्रधानमन्त्री ओलीलाई बैठकमा सबैले समर्थन दिए, सबै दल र जनताको साथ छ भने । 

प्रधानमन्त्री निवासमा भएको बैठकमा सहभागी भएर बाहिरिएपछि सञ्चारकर्मीहरुसँग उनले भने– ‘नेपालको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्ने बारेमा सबै राजनीतिक दल र सबै जनताको प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन छ । प्रधानमन्त्रीलाई सबैले बलियो बनाउने हो । अब प्रधानमन्त्रीसँग राष्ट्रिय बल छ ।’ 

पाण्डेले भने– ‘पहिले पहिले अपुतालीमा पाएको समस्या हो, समाधान भएन । समाधान नभएपछि समस्या थपिँदै गयो । समाधान नहुनुको विभिन्न कारण यहाँ पनि थियो उहाँ (भारतमा) पनि थियो । नेपाली जनताको सामूहिक विवेकले अहिले नेपालमा यस्तो सरकार छ जो बलियो छ । संसद्मा लगेर अनुमोदन गर्ने, भारतसँग वार्ता गरेर समाधान खोज्ने, त्यस्तो संवैधानिक, नैतिक र राजनीतिक हक अधिकार भएको सरकार छ । सरकारले समाधान खोज्नुपर्छ ।’

अहिले भारतमा पनि शक्तिशाली सरकार भएको हुनाले अहिले नै समस्या समाधान हुनुपर्छ भनी वैठकमा आफूले विचार राखेको पाण्डले बताए । 

‘समस्या झन तिखारिँदै जान्छ, बल्झँदै जान्छ’– पूर्व परराष्ट्र मन्त्री पाण्डले भने– ‘त्यसैले सबैको एउटै मत देखियो– कूटनीतिक तरिकाले समाधान खोज्ने । यो काम उच्च तहबाटै हुनुपर्छ, प्रधानमन्त्रीको तहबाट ।’ 

प्राप्त प्रतिक्रिया
तपाईँको मत