English

खेलकुद

साग निर्धारित समयमा नै हुन्छ –मन्त्री विश्वकर्मा

sunrisekhabar

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मंसिर १५ देखी नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग निर्धारित समयमा नै हुने बताएका छन् । शनिबार आयाेजित एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले प्रतियोगिता सञ्चालनका लागि  भौतिक संरचना निर्माणका साथै तयारी पनि तीब्र भएको बताएका छन् ।

तोकिएको समयमा प्रतियोगिता नहुने अन्यौलतासँग जोडेर गरिएका टिकाटिप्पणी प्रति लक्षित गर्दै मन्त्री विश्वकर्माले मंसिर पहिलो हप्ताभित्र सबै भौतिक संरचनाको निर्माणको काम सम्पन्‍न गर्ने बताए । विश्वकर्माले भने –‘मैले स्यावासी र प्रशंसा खोजेको होइन । मंसिर १५ गतेको सागको मिति तलमाथि हुँदैन । परिस्थिति हाम्रो काबुमा छ । पूर्वाधारको कुनै समस्या छैन ।'

सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय काम भइरहेको छ । विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भएको उनले जानकारी गराए । दक्षिण एसिया ओलम्पिक काउन्सिलको काठमाडौंमा बैठक शनिबार बसेको थियो । सन् २०२१ मा १४ औ प्रतियोगिता पाकिस्तानमा आयोजना गर्ने निर्णय गरिएको छ ।

नेपालपछि अङ्ग्रेजी वर्णानुक्रम अनुसार साग आयोजक राष्ट्र पाकिस्तान हुनेछ । पाकिस्तान तयार नभएको खण्डमा भने श्रीलङ्का र माल्दिभ्सले संयुक्त रुपमा आयोजना गर्ने प्रस्ताव गरेका छन्।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत