English

अपराध

‘डिपेन्डेन्ट भिसा’ मा अमेरिका लाने भन्दै ठगी

sunrisekhabar

काठमाडौं । उमेरले २० वर्ष पूरा भएकी सोफी शाहीले दर्जन बढी युवाहरुलाई अमेरिकाको सपना देखाएर ठगी धन्दा नै चलाएको पाइएको छ ।

सामाजिक सञ्जाल ‘फेसबुक’ मा छद्म नामको आइडी बनाएर नजिक हुने र अमेरिकाको सपना देखाएर ठगी गरेको अभियोगमा महानगरीय प्रहरी वृत बौद्धले उनलाई पक्राउ गरेको हो । 

दैलेख बाङ्खकोट नगरपालिका स्थायी घर भएकी शाहीलाई बौद्धबाट पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए । उनी शुक्रवार पक्राउ परेकी हुन् । 

सोफीले ‘सोफिया तामाङ’ को नामबाट फेसवुक आइडी बनाइ युवाहरुलाई अमेरिकाको सपना बाँड्थिन् । 

आफूलाई एमबीबीएस पढ्दै गरेको बताउने सोफीले आफ्नी आमा पेम्बा शेर्पा अमेरिकामा भएको भन्दै प्रभाव पार्ने गरेकी थिइन् । 

‘पेम्बा शेर्पा’ नामको आईडीबाट आफैंले मेसेज गरेर अमेरिका सपना देख्नेहरुलाई ‘डिपेन्डेन्ट भिसामा आउन मिल्छ विवाह गरेर आउनु’ भनेको मेसेजको स्क्रिन शट अमेरिका जान चाहनेहरुलाई पठाउने गरेकी थिइन् । 

उनले ‘सँगै अमेरिका जाऔं’ भन्दै पटक–पटक नक्कली विवाह समेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 
नाबालक छोरा छोडेर ठगी

सोफी शाहीले ०७४ मा सिन्धुपाल्चोक हेलम्बुका धनध्वज (नाम परिवर्तन) सँग विवाह गरेकी थिइन् । धनध्वज र सोफीबाट एउटा छोरा पनि जन्मिसकेको छ । 

सोफीले सिन्धुपाल्चोक इन्द्रावती घर भएका विरध्वज (नाम परिवर्तन) सँग दोस्रो विवाह गरिन् । पहिलो श्रीमानबाट जन्मेको छोरालाई उनले काठमाडौंमा रहेको विरध्वजको डेरामा छाडिन् । 

विरध्वजले सम्पर्क गर्दा ‘बच्चा जेसुकै गर’ भनेर उनले बच्चालाई समेत छाडेर ठगी धन्दा चलाएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । पहिलो श्रीमानबाट जन्मेको उनको छोरा १ वर्षको छ । 

महानगरीय प्रहरी वृत बौद्धमा सोफिबाट ठगीएका चार जनाले जाहेरी दर्ता गरेका छन् । 

‘चारजना पीडितबाट उनले कोहीसँग २ लाख, कसैसँग १ लाख नगद र दुईतोला सम्म सुनका गहना लिएको खुलेको छ’ डिएसपी सिंह भन्छन–‘जाहेरी आउने क्रम जारी छ, हामी थप अनुसन्धान गरिरहेका छौं ।’ 

पछिल्लो समय सोफिले दोस्रो श्रीमान् र बच्चा छाडेर नयाँ बस्तिमा छुट्टै बसेर ठगी धन्दा चलाइरहेकी थिइन् । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत