English

सरकार

सामाजिक सुरक्षा कोषमा योगदान गरे एक करोडसम्म लोन

sunrisekhabar

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई बढिमा एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । 

शुक्रबार सिंहदरबारमा गैर सरकार संस्था महासंघ, नेपाल, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा उनले सो कुरा बताएका हुन् ।

उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गा वापत बढिमा एक करोड र शैक्षिक कर्जा बापत बढिमा ३५ लाख लोन प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भईरहेको  बताए । 

मन्त्री विष्टले लोन प्रवाहको सो विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाएपनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले सो कोषमार्फत् लोन प्रवाह गर्ने सोचलाई अघि बढाएको पनि स्पष्ट पारे । साे अवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्विकार गर्दै उनले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने बताए ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको बताए  । यसको प्रचार अभियानमा जोड दिन उनले सरकारलाई सुझाव दिए ।

अनौपचारिक क्षेत्रमा तीन महिना काम गरेर वर्ष दिनसम्म जीवन यापन गर्नुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष लामाले उनीहरुको सेवा र सुविधाको उचित व्यवस्थापन हुने गरी सामाजिक सुरक्षाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत