English

समाज

नेपाल–ईयू संयुक्त आयोगको बैठक सुरु

sunrisekhabar

काठमाडौं । नेपाल–युरोपेली संघ (इयू) संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु भएको छ । 

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र एसिया–प्रशान्त क्षेत्रका लागि संघका नायब प्रबन्धनिर्देशक पाओला पम्पालोनीले संघको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र इयूबीचको सम्बन्धका विषयबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा व्यापार–वाणिज्यका साथै आर्थिक तथा विकास सहायता, संयुक्त लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, पर्यावरण, मानव संसाधन विकासका क्षेत्रमा संघद्वारा प्राप्त सहयोग अभिवृद्धिलगायत विषयमा पनि छलफल हुनेछ ।

बैठकमा नेपालको राजनीतिक स्थितिबारे पनि छलफल हुनेछ । संघले मानवीय सहायताका साथै युरोपेली लगानी बैंकमार्फत भौतिक पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आएको छ । 

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका निम्ति उक्त बैंकले पाँच करोड ५० लाख युरो ऋण सहयोग गरेको छ । भुटानी शरणार्थीलाई खाद्य सहयोग तथा शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयमार्फत पनि सहयोग गर्दै आएको छ ।

हरेक दुई वर्षमा काठमाडौं र ब्रसेल्समा पालैपालो साे बैठक हुँदै आएको छ । पारस्पारिक लाभका विषयमा छलफल गर्न सन् १९८६ मा संयुक्त आयोग स्थापना भएको हो । नेपाल र युरोपेली सङ्घबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भए यता सङ्घले नेपालको राजनीतिक एवं आर्थिक क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै आएको छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत