English

राजनीति

भारतीय नक्साविरुद्ध नेविसंघको विराेध प्रदर्शन

sunrisekhabar

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार विरोध प्रदर्शन गरेको छ । नेपाली भू–भाग कालापानी भारतीय नक्सामा समेटिएको भन्दै  नेविसंघले शुक्रबार बिहान राजधानीमा विरोध प्रर्दशन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समिति र पशुपति क्याम्पस इकाईले ‘कालपानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर्नुपर्ने’ माग गर्दै प्रर्दशन गरेका हुन् ।

यस्तै नक्साको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले पनि भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । विद्यार्थीहरूले 'भारतीय विस्तारवाद मुर्दावाद' लगायतका विभिन्न नारासहितको प्लेकार्ड बोकी दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

नेपालको कालापानी भारतीय नक्सामा समेटिएपछि विभिन्न राजनीतिक दल, सत्तारुढ र प्रतिपक्ष दलका भ्रातृ संगठन सडकमा उत्रिएका छन् । भारतको यो कदम मान्य नहुने भन्दै उनीहरुले सरकारलाई दबाब दिइरहेका छन् ।

सरकारले भने भारतले सार्वजनिक गरेको राजनीतिक नक्सा एकपक्षीय भन्दै त्यसलाई स्वीकार नगर्ने  घोषणा गरिएको छ । नेपालको एक इन्च भू-भाग पनि मास्न नदिने सरकारले बताइसकेको छ ।

भारतले सो नक्सा नयाँ नभएको र भूभाग नमिचेको दाबी गर्दै त्यसको खण्डन गरेको छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत