English

अपराध

सुदूरपश्चिम प्रदेशका बहालवाला मन्त्री रावलको सम्पत्ति रोक्का

सम्पत्तिको स्रोत खुलाउन नसके पक्राउ पर्ने
sunrisekhabar

काठमाडौं । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलको सम्पत्ति रोक्का भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कोभर्ट अपरेशनपछि रावलको सम्पत्ति रोक्का गरिएको हो ।

विभागबाट खटिएको टोलीले राज्यमन्त्री रावलको नाममा विभिन्न कार्यालयमा रहेको सम्पत्ति विवरण सम्बन्धी कागजात नियन्त्रणमा लिइ रोक्का गर्ने निर्णय गरेको हो ।

विभागको विशेष टोलीले मंगलबार देखि सुदुरपश्चिम प्रदेशमा मन्त्री रावलको सम्पत्ति अभिलेख भएका कार्यालयहरुबाट सबै विवरण उतारेको थियो । सो क्रममा मालपोत, विभिन्न पाँच बैंक, घरेलु तथा साना उद्योग कार्यालय र यातायातमा भएका कागजात नियन्त्रणमा लिएको विभागका एक उच्च अधिकृतले जानकारी दिए ।

विभागले बहालवाला मन्त्रीको सम्पत्ति छानबिन गरेको यो पहिलो घटना हो । पछिल्लो समय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राज्य संयन्त्रमा रहेका पदाधिकारी विरुद्ध यस्ता कोभर्ट अपरेशन गरिरहेको छ ।

मन्त्रीको सम्पत्ति छानबिनका लागी विभागको टोली एक साताअघि नै कञ्चनपुर पुगेको थियो । सम्पत्तिको स्रोत खुलाउन नसके उनी पक्राउ पर्नेछन् ।

मन्त्री रावल समेतको स्वामित्वमा रहेकोे जनज्योती एजुकेशन फाउन्डेशन कञ्चनपुर पब्लिक लिमिटेड मार्फत् उनले ठगी गरेको मुद्दा जिल्ला अदालत कञ्चनपुरमा विचाराधीन छ ।

७ साउन ०७६ मा जिल्ला सरकारी वकिल कार्यालयले रावलसहित ३६ जनालाई प्रतिवादी बनाएर कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सो मुद्दामा कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारी, राज्यमन्त्री रावल र कम्पनीका अन्य सञ्चालकहरु गोमती रावल, मिनाक्षी रावल र दानबहादुर रावलले ठगी गरेर अकुत सम्पती आर्जन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

सो फाउन्डेशनको नाममा ठगी गरेर मन्त्री रावलसहितका अधिकारीले अवैध सम्पत्ति आर्जन गरेको खुलेपछि विभागले विभिन्न कार्यालयमा छापा मारेर मन्त्रीसहितका अभियुक्तहरुको सम्पत्ति रोक्का गरेको छ ।

‘मन्त्री रावलको नाममा रहेको सबै सम्पत्ति विवरण कागजात नियन्त्रणमा लिएर सम्पत्ति रोक्का गरिएको छ’ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकृतले सनराइज खबरसँग भने– ‘थप अनुसन्धान भइरहेको छ ।’

विभागले मन्त्रीको नाममा सुदुरपश्चिम प्रदेशमा रहेको विभिन्न ३४ कित्ता जग्गा, उनकै स्वामित्वमा रहेको बजरंगी ईट्टा तथा टायलको नाममा रहेको सम्पत्ति रोक्का गरेको छ । यस्तै उनको नाममा रहेका दुई वटा गाडी र बजरंगी ईटा टायलको नाममा रहेको ६ वटा ट्रिपर र एउटा भ्यान समेत रोक्का गरिएको छ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत