English

सरकार

कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री

sunrisekhabar

बैतडी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताएका छन् । 

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उनले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताए । 

भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाएको उल्लेख गर्दै उनले भने – “कालापानी हाम्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ । मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन ।” 

मन्त्री ज्ञवालीले वर्षौदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने सहमति भइरहेको बताए । उनले भने – “पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ ।” 

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि भारत सहमति नजिक रहेको पनि उनले जानकारी गराए । 

बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेको कुरा थाहा पाएको बताउँदै उनले भारत सहमति गर्न तयार रहेको बताए । 

उनले भने – “भारतका विदेशमन्त्री एस जयशङ्करसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौँ ।” 

समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोककल्याणकारी ट्रष्ट महाअभियानअन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धाम लगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ ।

ट्रष्ट महाअभियानका संयोजनमा पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा सञ्चालन भएको महोत्सव आगामी मङ्सिर २ गते सम्पन्न हुनेछ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत