English

सरकार

सीमा समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान – बाँस्काेटा

sunrisekhabar


काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्वीकार गरी दिएको स्पष्ट पारेका छन् । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको पनि बताए ।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एकपक्षीय रुपमा भारतले जारी गरेको पोलिटिकल नक्सालाई सरकारले अस्वीकार गरिदिएको बताउनु भयो । ‘एकपक्षीय रुपमा भारतले हालै जारी गरेको पोलिटिकल नक्सालाई हामीले अस्वीकार गर्ने निर्णय गरेका छौ’– मन्त्री बाँस्कोटाले भने, ‘कूटनीतिक, राजनीतिक तहबाट ती समस्या समाधान गरिनेछ ।’ 

उनले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको बताए । नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि मन्त्री बाँस्कोटाको भनाइ छ ।

मन्त्री बाँस्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादी गतिविधि हुन नदिने प्रतिवद्धता पनि दोहोर्‍याए । नेपालमा आतंकवादी गतिविधिको सम्भावना बढेर गएको अमेरिकी सरकारको प्रतिवेदन सार्वजनिक भइरहेका बेला उनले त्यस्ता खालका बाह्य वा घरेलु गतिविधि हुन नदिन नेपाल सरकार सचेत रहेको बताए ।

मन्त्री बाँस्कोटाले कानुन विपरितका कुनै पनि गतिविधि नेपालमा गर्ने छुट कसैलाई नरहेको पनि बताए ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत