• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चितवनमा सय नाघ्यो सक्रिय संक्रमितको संख्या 

समाचार

समाचार

चितवन । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय संक्रमितको संख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमितमध्ये ६ अस्पतालमा छन् भने एक सय दुई होम आइसोलेशनमा छन् । 

सक्रिय संक्रमितमध्ये ९० भरतपुर महानगरपालिका, सात खैरहनी नगरपालिकाका छन् । यस्तै माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा दुई, राप्ती नगरपालिकामा एक, कालिका नगरपालिकामा एक जना संक्रमित रहेको कार्यालयले जनाएको छ । इच्छाकामना गाउँपालिकामा छ जना सक्रिय संक्रमित रहेका छन् ।

जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार २२ गतेदेखि जिल्लामा संक्रमण देखिएको हो । यही साउनमा एक जनाको संक्रमणका कारण ज्यान गएको छ । यससँगै जिल्लामा कोरोनाका कारण ज्यान जानेको संख्या चार सय ५० पुगेको कार्यालयको तथ्यांकले देखाएको छ । जिल्लामा हालसम्म ३३ हजार आठ सय १४ मा कोरोना पुष्टि भएको छ । ती मध्ये ३३ हजार दुई सय ५६ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले कोरोना फैलन सक्ने भएकाले यसबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताउनुभयो । भीडभाडमा नजाने, नियमित साबुनपानीले हात धुने, मास्कको नियमित प्रयोग गर्ने, सामान्य रुघाखोकी र ज्वरो आएमा चिकित्सकसँग परामर्श लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

अहिले भरतपुर अस्पतालमा दैनिक आउने एक हजार पाँच सय बिरामीमध्ये पाँच सय मेडिसिन विभागका बिरामी रहने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सयमध्ये दुई सय बिरामी ज्वरोको छन् । तीमध्ये ५० जनालाई कोरोनाको लक्ष्यण देखिएर परीक्षणका लागि पठाउने गरिएको उहाँले बताउनुभयो ।

रुघाखोकी, ज्वरो, डेँगु, स्क्रफटाइफसका बिरामी अस्पताल आउन थालेका छन् । कतिपयलाई जापानिज इन्सेफ्लाइटिसको लक्षण देखिएपछि परीक्षणका लागि पठाइएको छ ।

–रासस
 

प्रतिकृया दिनुहोस