English

कृषि

महबाट मनग्य आम्दानी

sunrisekhabar

म्याग्दी । गाेविन्द खत्रीले इराकमा सात वर्ष, साउदीमा चार वर्ष र भारतमा अढाई वर्ष बिताए । गर्नसम्म मेहेनत गरे, पसिना बगाए तर पनि पैसा बचाउन सकेनन् । त्यसपछि स्वदेश फर्किए । अनि थाले मौरी पाल्न ।

म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका गोविन्दले व्यावसायिक मौरीपालनबाट राम्रै आम्दानी गरिरहेका छन् । 

उनले मौरी, मह, पोलेन र मौरीघार बिक्री गरेर वर्षमा १३/१४ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।  

खत्रीले विदेशबाट फर्किएको चारपाँच महिनापछि तीन घार मौरीबाट व्यवसाय शुरु गरेका थिए । खत्रीले अहिले ९२ वटा घारमा मौरी पालेका छन् ।

“मैले करिब १४ वर्ष विदेशमा बिताएँ, न राम्रो कमाइ गरेँ, न, शरीरले कहिल्यै सुख पायो”, आफ्नो विदेश बसाइको तीतो अनुभव सुनाउँदै खत्रीले भने, “गर्न सक्ने हो भने हामीले आफ्नै गाउँघरमा मनग्य कमाउन सकिन्छ ।” 

मौरीपालन व्यवसायमा जिल्लाकै अगुवा कृषकसमेत बनेका खत्रीले गत वर्षको फागुन चैतमा मात्रै झण्डै तीन क्विन्टल मह उत्पादन भएको बताए । उनले दुई सय ५० केजीभन्दा बढी मह बिक्री गरेको जानकारी दिए ।

मौरीसहितको घारलाई आठ हजार रुपैयाँमा उनले बेच्ने गरेका छन् । 

खत्रीले हरेक वर्षको जेठ, कात्तिक र फागुन महिनामा मह काढ्ने गरेका छन् । उनले एक मौसममा मात्रै रु पाँच लाख रुपैयाँ मह बिक्री गरेर कमाउछन् । गाउँघरमा कात्तिक महिनाको मह राम्रो मान्ने गरिएको छ ।

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका  खत्रीले मौसम अनुकूल र मौरीले राम्रोसँग मह उत्पादन गरेको खण्डमा वर्षमा रु १४ लाख मह बिक्री गरेरै आम्दानी हुने गरेको बताए । उनले जिल्लाको भकिम्ली, राखु, पाँकु, कोत्राबाङ, पैयुँपाटालगायत ठाउँमा मौरीसहितका घार बेच्ने गरेका छन् । उनले मौसमले साथ दिएमा र कुनै रोग किरा नलागेको खण्डमा महको उत्पादन बढ्ने हुँदा आम्दानी पनि राम्रै हुने गरेको बताए ।
–रासस
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत