English

विचार

हट्यो कालो वादल, बन्यो लगानीको वातावरण

sunrisekhabar

मिना आचार्य--

माओवादी जनयुद्धले मुलुक तहसनहस पार्‍यो । अब जनयुद्ध समाप्त भयो भन्ने सन्देश प्रवाह हुनासाथ नेपालमा लगानीको नयाँ बातावरण सुरु भयो । त्यसपछि अर्थात् सन् २००६ मा लगानी गर्ने वातावरण सूचीमा नेपाल ५५ औं स्थानमा उक्लियो । 

यस वर्ष नेपाल डुइङ विजनेश इन्डेक्स (लगानी गर्ने वाताावरण) मा ९४ औं परेको छ । विश्व बैंकले हरेक वर्ष यस्तो सूची जारी गर्छ । 

जनयुद्ध सकियो, शान्ति सम्झौता भयो । मुलुकमा स्थिरता आउँछ भन्ने अपेक्षा पूरा भएन । राजनीतिक अस्थिरताले नयाँ तरिकाले टाउको उठायो । त्यसको प्रत्यक्ष असर नेपालमा लगानी गर्ने वातावरणमा पर्न थाल्यो । विश्वबैंकको सूचीमा नेपाल ओरालो लाग्न थाल्यो । 

२००६ मा ५५ औं स्थानमा रहेको नेपाल अर्काे वर्ष २००७ मा एक सयौं स्थानमा झर्‍याे । २००९ मा नेपालको अवस्था कति खराब भयो भने १२१ औं खुम्चियो ।

लगानीको वातावरण कुन मुलुकमा कस्तो छ भनी पहिचान गरेर सूची तयार पार्दा विश्व बैंकले विभिन्न १० वटा सूचकलाई अधार बनाउँछ । बैंकले सूचीमा १ सय ९० देशलाई राख्ने गरेको छ ।

१० सूचकांक मध्ये नेपालमा पाँच वटामा सुधार आएको र तीनवटामा गिरावट आएको विश्व बैंकको अध्ययनले देखाएको छ । दुइटा सूचकांक भने स्थिर रहेको छ । 

यी हुन् दश सूचकांक

– व्यवसाय सुरुको अवस्था

– दर्ता प्रक्रिया 

– कर्जा प्राप्ति

– विद्य‌ुत प्राप्ति 

– लगानीकर्ताहरुको संरक्षण

– कर भुक्तानी प्रक्रिया

– वैदेशिक व्यापार

– सिमानाहरु

– समस्याहरुको दिगो समाधान

नेपालमा लगानीको वातावरण बिग्रनुमा मुख्य कारण राजनीतिक अस्थिरता नै थियो । तर, विश्व बैंकले राजनीतिक स्थिरताको मापन गर्दैन । अन्य सूचकहरुका आधारमा लगानीको वातावरण भएको मुलुकको सूचीकरण गर्छ । 

अघिल्लो बर्ष नेपाल १ सय १० औं स्थानमा रहेको नेपाल १६ अंक माथि उक्लिएर ९४ औं आइपुगेको हो । ९४ औं रहेको नेपालले ६२.२ अंक पाएको छ । 

राजनीतिक स्थिरताका कारण नेपालमा लगानीको वातावरण बन्न थालेको प्रष्ट देखिएको छ । सरकारले गत वर्ष लगानी सम्मेलन पनि गरेको थियो । त्यस यता सरकारले कैयौं सुधारहरु गरेको छ । तर, पूर्ण बहुमतको पार्टीले सरकार चलाए पनि अपेक्षाकृत गतिमा सुधार भने भएको छैन । 

केपी शर्मा ओली नेतृत्वको सरकारले लगानीको वातावरण बनाउन भरमग्दुर प्रयास गरिरहेको छ तर यस्तो प्रयास राजनीतिक तहमा मात्र सीमित भएको देखिन्छ । त्यस अनुरुप कर्मचारीतन्त्र परिचालित हुने, नीतिगत सुधार हुने, कानुन र नियमावलीहरु परिमार्जन गर्ने काम भने भइरहेको छैन । 

भुक्तभोगीहरुका अनुसार आजको विश्वमा वैदेशिक लगानी भित्राउनु ठूलो कुरा होइन, लगानीकर्ताहरु कुन देशमा लगानी गर्न पाइन्छ भनेर खोजिरहेका छन् । नेपालमा पनि पर्याप्त लगानी आउन सक्छ । तर, लगानी भित्राउनका लागि अनेक कानुनी अड्चन र प्रशासनिक झन्झट नेपालमा विद्यमान छ । 

विश्वको ठूलो अर्थतन्त्र र तिब्र गतिमा विकास भइरहेको अर्थतन्त्रको बीचमा छ नेपाल । भारत र चीन त भइ नै गए, अहिले तिब्र आर्थिक विकास गरिरहेको बंगलादेश पनि नेपालको निकट छिमेकी हो । विश्व अर्थतन्त्रको केन्द्र बनिरहेको छ दक्षिण एसिया र चीन । यस्तो भूक्षेत्रमा रहेको नेपालमा लगानीको वातावरण अत्यन्तै उन्नत हुन आवश्यक छ । छिमेकी देशहरुबाट पनि नेपालले सिक्नसक्छ । 

छिमेकी भारत अझै पनि लगानीको वातावरण राम्रो भएको विश्वको १० देशभित्र पर्छ । यद्यपि भारतको अर्थतन्त्र सुस्त हुन थालेको छ, त्यहाँको आर्थिक वृद्धिदर घटिरहेको छ । उता, तिब्र आर्थिक विकास गरे पनि बंगलादेशको अवस्था ठिक छैन, विश्व बैंकको सूची अनुसार लगानीयोग्य देशमा नेपाल ९४ औं स्थानमा रहँदा  बंगलादेश १६८ औं स्थानमा सीमित छ । 

२००६ देखि २०२० सम्म नेपालको अवस्था

–२००६ मा ५५ औं 

–२००७ मा १०० औं

–२००८ मा १११ औं

–२००९ मा १२१ औ

–२०१० मा १२३ औं

–२०११ मा ११६ औं

–२०१२ मा १०७ औं

–२०१३ मा १०८ औं

–२०१४ मा १०५ औं

–२०१५ मा १०८ औं

–२०१६ मा ९९ औं

–२०१७ मा १०७ औं

–२०१८ मा १०५ औं 

–२०१९ मा ११० औं

–२०२० मा ९४ औं

विश्वव्यापी अनुभवबाट के देखिएको छ भने राजनीतिक स्थिरता र लोकतान्त्रिक शासन भयो भने लगानीको वातावरण क्रमश राम्रो बन्दै जान्छ । त्यस्तो परिवेश भएमा विश्व बैंकले प्रयोग गर्ने सूचकांकमा पनि देश अब्बल ठहरिन सक्छ । 

नेपालको अर्थतन्त्रका विभिन्न चुनौतीहरु पहिचान गरिए पनि मुख्य चुनौती राजनीतिक अस्थिरता नै रहँदै आएको छ । बहुमत प्राप्त स्थिर सरकार भयो भने लगानीको वातावरण बन्छ भन्ने नेपाली जनताको विश्वाशलाई विश्व लगानीको वातावरण प्रतिवेदनले झन सघाएको छ ।

राजनीतिक अस्थिरताकाे कालाे वादल हट्दा लगानीको वातावरण बन्छ भन्ने प्रष्ट भइसक्यो । नेपालमा लगानीको वातावरण बन्दै गएको सत्य हो तर वातावरण बने अनुसार लगानी पर्याप्त भित्रीसकेको अवस्था भने होइन । 

नेपालमा लगानीको वातावरण राम्रो बन्दै गइरहेको विश्व बैंकले भन्यो, विश्व समुदायले पनि भन्यो । अब लगानी भित्राउने जिम्मेवारी वर्तमान सरकारको काँधमा आएको छ ।

प्राप्त प्रतिक्रिया
Deepak Dhakal लेख्नुहुन्छ ८ कार्तिक, २०७६ ४:२१ pm

ल बधाई छ सम्पूर्ण नेपाली लाई

तपाईँको मत