English

अपराध

आफताबलाई पक्रन पाँच महिनाको तयारी, भारत भाग्न लागेका थिए

sunrisekhabar

काठमाडौं । एकजना सांसद् भारत भाग्न लागेका थिए । कृष्णबहादुर महरा पक्राउ परेपछि उनले आफ्नो पनि पालो आयो भन्ने बुझेका थिए । 

महरा पक्राउ परेपछि भारत भाग्न खोजेका ती सांसद् हुन् मोहमद आफताब आलम । आलम र महराले गरेका बेग्लाबेग्लै काण्डको आपसी साइनो भने केही पनि छैन । सभामुख जस्तो पदमा बसेका मानिस पक्राउ पर्छन् भने आफू पनि पक्राउ परिन्छ भन्ने उनले ठाने ।

‘हामी निरन्तर आलमको पिछा गरिरहेका थियौं, यो कुरा उनले कसरी हो थाहा पाइसकेका रहेछन्’– प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए ।

उच्च स्रोत अनुसार आलमलाई प्रहरीले गत बैशाखदेखि कडा निगरानीमा राखेको थियो । प्रहरी प्रधान कार्यालयले नै बेग्लै टोली खटाएर आलमको यावत गतिविधि नियाल्ने काम गरिरहेको थियो । आलमले पहिले यो कुराको भेउ पाएनन् । तर, पछि उनले आफूमाथि निगरानी बढाइएको र हत्याकाण्डको फायल ब्यूँताइने सूचना पाए । 

उच्च स्रोतका अनुसार आलमले यो खबर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबाट पाएका थिए । गत सोमबार बसेकोे कांग्रेस पदाधिकारीहरुको वैठकमा नेता सिटौलाले भनेका थिए– ‘मैले आलमजीलाई तपाईंलाई फसाइन सक्छ भनेर पहिले नै जानकारी गराइसकेको थिएँ ।’

आलमको पिछा

आलमले ईंट्टाभट्टामा ज्यूँदै जलाएर दुईजनाको हत्या गरेको घटना पुनः अनुसन्धान गर्नु भनी सर्वोच्च अदालतले आदेश गरेको सात बर्ष पूरा भइसकेको थियो । तर, प्रहरी प्रशासनले आलमलाई छुन–चलाउन सकेको थिएन । 

१६ जेठ ०६९ मा सुशीला कार्की र प्रा.डा. भरतबहादुर कार्कीले रौतहट बम विष्फोटका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरलाई ज्यूँदै जलाएर शव गायव बनाएको घटनाबारे पुनः अनुसन्धन गर्न आदेश दिएका थिए । त्यही दिनदेखि आलममाथि कानुनी डण्डाको खतरा भइसकेको थियो । तर, ओली सरकारले उनलाई च्याप्प पार्ने योजना बनाएको छ भन्ने सुरुमा उनले भेउ पाएनन्, पछि थाहा पाएर पनि केही गर्न सकेनन् ।  

महरा पक्राउ परेपछि अब आफूलाई पक्रन ओली सरकारलाई सजिलो हुने भयो भन्ने आलमले बुझे । 

अदालतको सो आदेश सात बर्षदेखि आदेश कागजमै सिमित थियो । फैसला कार्यान्वयन निर्देशनालयले सो आदेश कार्यान्वयन गरेर जवाफ पठाउन पटक–पटक पत्राचार गरिसकेको थियो । 

२७ चैत, ०६४ मा भएको ‘रौतहट बमकाण्ड’का आरोपी आलम पटक–पटक सांसद र मन्त्री भइसकेका थिए । नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत रहेका आलमले राजनीतक आवरणमा आफ्नो अपराध लुकाइरहेका थिए । 

त्यस्तोमा, उनलाई पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालयले ‘अनुकुल मौका’ खोजिरहेको थियो । २६ असोज त्यही दिन थियो, जुन दिन आलम चन्द्रनिगाहापुर–गौर सडक खण्डको इद्रिस गेटबाट पक्राउ परे । त्यो गेट आलमको गाउँ छिर्ने मुख्य ढोका हो ।   

नमाज पढ्दै रेकी 

अदालतको आदेश अनुसार आलमलाई पक्रेर अनुसन्धान अगाडि बढाउन गत बैशाखमै उच्च तहमा छलफल भएको थियो । स्रोत अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गृह–सचिव प्रेमकुमार राई र महान्यायाधिवक्ता अग्नि खरेलले आलममलाई पक्रेर मुद्दा चलाउने विषयमा गत बैशाखमा पटकपटक छलफल गरेका थिए । 

त्यसैबेलादेखि आलमलाई पक्रेर मुद्धा चलाउने योजना बुनिएको थियो । 

बैशाखदेखि प्रहरी  प्रधान कार्यालयको विशेष टोली रौतहटस्थित आलमको गाउँमा खटिएको थियो । तराईमा घर र आफन्त भएका विशेषगरी मुस्लिम समुदायका प्रहरीलाई सादा पोशाकमा आलमको गाउँमा राखेर यावत सूचना संकलन गर्ने काम गरिएको थियो ।

आलमको घर भएको रौतहटको राजपुर गाउँ तथा आसपास घर भएका प्रहरीहरुलाई त्यहाँ पठाइएको थियो । उनीहरु त्यहि गाउँमा रहेको मस्जिदमा नियमित जान थाले । उनीहरुको उद्देश्य थियो¬– आलमको रेकी गर्ने । 

‘मुस्लिम समुदायका प्रहरी करिब चार–पाँच महिनादेखि आलमको गाउँमा खटिएका थिए’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले सनराइजखबरसँग भने–‘पछिल्लो एक महिना यता इन्स्पेक्टरको कमाण्डमा १५ जनाको विशेष टोली सो क्षेत्रमा खटिएको थियो ।’

प्रहरी प्रधान कार्यालय स्रोत अनुसार काठमाडौंबाट इन्सपेक्टर कृष्णदेव शाह नेतृत्वको टोली रौतहटमा परिचालित थियो । प्रहरी हेडक्वार्टर दरबन्दी भएका शाहलाई प्रहरी महानिरिक्षक खनालले केही समयदेखि तराईका अन्य ठाउँमा पनि खटाउँदै आएका छन । 

भुपेन्द्र चार पटक काठमाडौंमा 

आलमलाई पक्रँदा ठूलो तरंग आउँछ, नेपाली कांग्रेसले आन्दोलन गर्न सक्छ, रौतहटमा स्थिति थामि नसक्नु हुन्छ भन्ने प्रहरीको प्रारम्भिक आकलन रहेको बुझिन्छ । त्यसैले उनका बारे यावत कुरा थाहा पाउन र भित्री परिस्थिति विश्लेषण गर्न टोली खटाइएको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आलमलाई पक्राउ गर्ने विषयमा छलफल गर्न रौतहटका प्रहरी उपरिक्षक (एसपी) भुपेन्द्र खत्रीलाई गत बैशाख यता चारपटक काठमाडौं बोलाएका थिए ।  

महानिरीक्षकको सचिवालयमा कार्यरत एक अधिकृते भने– ‘चार पटक काठमाडौं बोलाएर सुक्ष्म रुपमा अनुसन्धान सुरु गर्न र घटनामा संलग्न अरु अभियुक्त बारे पत्ता लगाउन महानिरीक्षक खनालले निर्देशन दिनुभएको थियो ।’ 

भाग्दै थिए आलम

कुनै पनि बेला प्रहरीले पक्रन सक्छ भन्ने छनक आलमले पाइसकेका थिए । त्यसैले उनी भागेर भारत जाने तयारी गर्दै थिए । 

२६ असोज, विहान गाउँको एउटा चिया पसलमा गएर आलमले धेरै जनालाई वरिपरि राखेर चिया पिएका थिए । त्यस लगत्तै भारत भाग्ने उनको योजना थियो । उनी भाग्दैछन् भन्ने सुईंको प्रहरीले पाइसकेको थियो । 

चिया खाइसकेपछि आलम हराए । पक्रने तयारीमा रहेको प्रहरी टोली चिन्तित बन्यो । तर, यता काठमाडौंबाट प्रहरी टोलीले आलमको मोवाइल फोन लोकेशन हेर्दा गाउँमै देखिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्रले रौतहटका एसपी खत्रीलाई फोन गरेर आलम गाउँमै रहेको भन्दै तुरुन्त पक्रन निर्देशन दिए ।

तर, केही समयपछि आलमको मोटर देखियो । उनी आफ्नो ‘फच्र्युनर’ मोटरमा चढेर भारत जान लागेका रहेछन् । प्रहरीले फलो गर्यो, भाग्न खोज्दै थिए आलम । उनका चालकले मोटर तिब्र गतिमा हुईंक्याए । तर, पक्रने यावत तयारी गरिसकेको प्रहरीका सामु केही चलने । त्यसपछि प्रहरीले आलमलाई उनको मोटरबाट थुत्यो । अनि उनको हातमा हत्कडी लगायो । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत