चितवनमा भेटियो नयाँ चरा
चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।
नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो ।
६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो ।
बिडारीका अनुसार मंगलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् ।
यो चरा चीन, भारत, हंकङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउनुहुन्छ ।
यससँगै नेपालमा चराको प्रजाति संख्या ८ सय ९१ पुगेको छ । चितवनमा मात्रै ६ सय ५० प्रजातिका चरा रहेको पाइएको छ ।
–रासस


प्रतिकृया दिनुहोस