English

सरकार

सिमा विवाद सुल्झाउन सात बुँदे सहमति

sunrisekhabar

बारपाक । सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बँुदे सहमति गरिएको छ । जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो ।
 
दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढङ्गले सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले बताए । उनले सिमाङ्कनका लागि स्थानीय दुवैतर्फका बस्तीको परामर्शमा सङ्घ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको बताए ।


तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु सोहीअनुसार प्रयोग गर्ने सहमति भएको प्रमुख गुरुङले जानकारी दिए । उनले परापूर्वकालदेखि भोगचलन गर्दै आएका खर्कहरुलाई  पहिले जसरी नै निरन्तरता दिने  सहमति भएको बताए । साथै लाप्राक पुग्ने सडकखण्ड निर्माणमा भएको अवरोधलाई हटाउने जानकारी दिए । 

उनले बारपाक–लाप्राक सडकखण्ड मर्मतकार्यलाई तत्काल अघि बढाई लाप्राकसम्म बस सञ्चालन गर्ने वातावरण बनाउन पनि सबै पक्षबीच सहमति भएको बताए । साथै सीमा क्षेत्रको मूल पानी स्थानीयवासीको आवश्यकता अनुसार बाँडफाँड गर्ने निर्णय भएको बताए ।

उनले सहमति अनुसार बारपाकको सामुदायिक वन समितिले नियन्त्रणमा लिएको लाप्राकका स्थानीयवासीका बोका र बाख्रा लाप्राकीलाई नै तत्काल फिर्ता गर्ने, दुवै पक्षले लाप्राकको शान्ति सुरक्षामा खलल पुग्ने काम नगर्ने, अन्य विवादित विषयमा स्थानीय तहले सम्बन्धित वडाको परामर्श लिई आपसी छलफलको आधारमा टुङ्गो लगाउने निर्णयसमेत गरिएको बताए ।

छलफलमा जिल्ला समन्यव समिति प्रमुख गुरुङ, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष तथा स्थानीयवासी लगायतको सहभागिता थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत