English

राजनीति

मोहन वैद्यको पार्टी झन् फस्यो संकटमा

sunrisekhabar

काठमाडौं । मंसिरमा हुने उपचुनावका कारण मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) गम्भीर संकटमा फसेको छ । सो पार्टीभित्र चुनावमा भाग लिने कि नलिने भन्ने द्धन्द चलिरहेको थियो । अन्ततः चुनाव बहिष्कार गर्ने निर्णयमा सो पार्टी पुगेको छ । 

सो पार्टीले सोमबार काठमाडांैमा पत्रकार सम्मेलन गरी उपचुनाव सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ । 

सो पार्टीले ‘बहिष्कार’ शब्द मात्र प्रयोग गरेको छैन, ‘सक्रिय बहिष्कार’ शब्द प्रयोग गरेको छ । यसको अर्थ हो– आफ्नो प्रभाव रहेको क्षेत्रमा चुनाव हुन नदिने । तर, सो पार्टीको संगठनात्मक हैसियत चुनाव विथोल्ने स्तरको मानिँदैन ।

निर्वाचन आयोगले तीन वटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपनिर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेपछि बैद्य नेतृत्वको सो पार्टीले निर्णय सार्वजनिक गरेको हो । 

वैद्य नेतृत्वको सो पार्टीले गत स्थानीय चुनावलाई उपयोग गर्ने नीति लिँदै केही ठाउँमा देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा उम्मेदवार उठाएको थियो । तर, कहिँ कतै पनि सो पार्टीले चुनाव जितेन । त्यसपछि भएको आमचुनाव तथा प्रदेश चुनाव वैद्य समूहले बहिष्कार गरेको थियो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका नेता सीपी गजुरेलले क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन चुनाव वाधक भएको बताए । त्यसैले सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको गजुरेलले जानकारी दिए ।

नेता गजुरेलले यो सरकार, व्यवस्था र संविधान टिक्ने अवस्थामा नरहेको पार्टीको निष्कर्ष रहेको दावी गर्दै त्यसको विकल्प खोजी गर्ने बताएका छन् ।

वैद्य माओवादीबाट फुटेको विप्लव समूहले सशस्त्र संघर्षको नाममा हिँसात्मक संघर्ष गरिरहेको छ भने माउ पार्टी नेकपा माओवादी चाहिँ एमालेसँग एकीकृत भएर नेकपामा परिणत भएको छ । सो पार्टीभित्र चुनावमा भाग लिएर नेकपामा मिसिने तथा हिंसात्मक संघर्षमा लागेर विप्लव समूहमा मिसिने दुईखाले धार सक्रिय छ । यी दुवै धार विपरित नेतृत्वले ‘सक्रिय बहिष्कार’को नीति लिएको हो । यो नीतिका कारण वैद्य समूहमा झन् संकट बढ्ने आकलन गरिएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत