• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

केपी ओलीले गरे अहिलेसम्मकै सर्वाेच्च शिलान्यास

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । केपी शर्मा ओलीका लागि आजको दिन अपूर्व रह्यो । उनले विगतदेखि अहिलेसम्म सयौं किसिमका शिलान्यास तथा उद्घाटन गरिसकेका छन् । आज उनले जे शिलान्यास गरे, त्यो उनको जीवनको पहिलो मात्र होइन, देशकै लागि पहिलो हो । 

मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री पदमा रहँदा ओलीले जेजति उद्घाटन गरे, तीमध्ये अहिलेसम्मको सर्वाेच्च हो सुरुङ मार्ग शिलान्यास । शिलान्यास गर्दा प्रधानमन्त्री ओलीले यो कुरा भनेनन् तर उनमा त्यस्तो भाव भने देखिन्थ्यो ।

सुरुङ मार्ग शिलान्यास गरेपछि प्रधानन्त्री ओलीले भने– ‘आजबाट देश नयाँ युगमा प्रवेश गरेको छ ।’

प्रधानमन्त्री ओलीले यो वाक्य भन्नुको कारण हो– उनले शिलान्यास गरेको सुरुङ मार्ग नेपालको पहिलो हो । विकासका मोडल तथा विश्वमा भइरहेका विभिन्न किसिमका विकासमा गहिरो चासो राख्ने गरेका छन् प्रधानन्त्री ओलीले । पछिल्लो समय भौतिक विकासमा सुरुङलाई ठूलो महत्व दिइने गरेको छ । गत दशकदेखि सडक, रेल, पानी, तार आदि सञ्जाल विस्तारका लागि सुरुङलाई उच्च प्राथमिकता दिइन थालेको छ । नेपाल भने यो मामिलामा पछि परेको थियो ।

शिलान्यास गरिएको सुरुङ मार्ग नागढुंगाबाट धादिङको सिस्नेखोलासम्म हुनेछ । सिंगो पहाड छिचोलेर बन्ने सुरुङमार्गले दस मिनेटमै नागढुंगाबाट नौबिसे पुराउनेछ । 

प्रम ओली शिलान्यास कार्यक्रममा निकै उत्साही देखिन्थे । कार्यक्रममा उनले विकासकै बारेमा धेरै चर्चा गरे । 

आफूले शिलान्यास गरेको सुरुङ मार्ग चाँडै निर्माण होस् भन्ने चाहना प्रधानमन्त्रीमा झल्कन्थ्यो । त्यसैले उनले भने– ‘नेपालमा पहिलेदेखि नै कुनै पनि निर्माणको काम तोकिएको समयमा हुँदैन । तर, अब त्यस्तो हुँदैन । यो निर्माण कार्य ४२ महिनामै भइसक्नेछ ।

नेपालमा अब फलाम खानीको अध्ययन, तेलको अध्ययन लगायतका काम हुने उनले बताए । 

प्रधानमन्त्रीले भने– ‘नेपाल अब सभ्यताको युगमा प्रवेश गरेको छ ।’ 

प्रधानमन्त्रीले भने– ‘यो वर्ष हामीले दुई सय ४३ भन्दा धेरै पक्की पुल बनाएका छौं । एक सय २४ वटा तुइन विस्थापित गरिएको छ ।’

सुरुङको शिलान्यास गर्दा प्रधानमन्त्रीले पानी जहाजको कुरा पनि जोडे । उनले कोलकाताबाट नेपाल पानी जहाज आउने बताए । कोशी र गण्डकीमा पनि जलमार्ग बनाउन अध्ययन भइरहेको उनले बताए । ‘सरकारले पानी जहाजको कुरा गरेपछि युवाहरु उत्साहित भएको र कोशी नदीमा चतराबाट भोजपुर जहाज चलेको भन्दै ओलीले भने– ‘अहिले जहाजले चतराबाट भोजपुर २० मिनेटमा पुराउँछ । नारायणी नदीमा दुईसय जना अट्ने स्टिमर बनाउँदै छन् । एक महिनापछि त्यो सुरु हुन्छ ।’


 

प्रतिकृया दिनुहोस