English

अपराध

नक्कली सुन देखाएर ५० लाख ठग्न खोज्ने पक्राउ

sunrisekhabar

काठमाडौं । धरानका किरण लिम्बु (नाम परिवर्तन) लाई एउटा प्रस्ताव आउँछ । प्रस्ताव यस्तो थियो– ‘५० लाखमा एक किलो सुन बेच्ने मानिस छन्, त्यो सुन बेच्दा १५ लाख कमाउन सकिन्छ ।’ 

सो प्रस्ताव सुनेपछि उनी लोभिन्छन् । 

एक किलो सुनको बजार मूल्य करिब ६५ लाख हुने भएकाले सहजै १५ लाख कमाउन सकिन्थ्यो । प्रस्ताव ल्याउने मानिसहरुले उनलाई पैसा लिएर कपन निलोपुल माथीको जंगलमा आउन आग्रह गरे । 

अनि किरणलाई शंका लाग्यो– ‘कतै सक्कली सामान हैन कि ?’ उनले प्रहरीलाई जानकारी दिए । 

आइतबार सादा पोशाकका प्रहरीको साथमा निलोपुलमाथि जंगलमा पुगेका किरणको साथमा पाँच लाख रुपैयाँ थियो ।

फ्याक्ट्रि मेड नक्कली सुन देखाएर उनको साथमा भएको पाँच लाख ६ जनाको समूहमा रहेका सुन कारोबारीले लुट्न खोजे ।  ‘लुट्न खोजेपछि हामीले सक्कली जस्तो देखिने नक्कली सुन कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले भने–‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’ 

पक्राउ पर्नेहरुमा  सिन्धुपाल्चोकका मंगले तामाङ, सुजन रसौली, बिष्णु बहादुर राउत, नवराज राउत, रामेछाप दोरम्बाका रोशन बुढा मगर र सिन्धुपाल्चोकका किरण लामा रहेका छन् ।

नक्कली सुन देखाएर ठगी गर्नेहरुले यसअघि फलाममा पहेँलो धातु लेपन गर्ने गरेका थिए, तर सो समूहले फ्याक्ट्रि मेड नक्कली सुन देखाएर ठगी गर्न खोजेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ‘फाइन गोल्ड’ अंकित एक केजी नक्कली सुन बरामद गरेको छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत