English

विचार

रोशनीले कुरा फेर्दा महरा प्रकरण रहस्यमय (भिडियाे सहित)

sunrisekhabar

काठमाडौं । कृष्णबहादुर महरा सभामुख थिएनन् र रोशनी काण्ड भएको थियो भने के हुन्थ्यो ? अहिले जसरी चर्चा हुँदैनथ्यो । तर, सभामुख पदमा रहेका मानिसले गरेको होस् या अरु कसैले, त्यस्तो हर्कत निन्दनीय हुने विचार सनराइज खबर सहकर्मीहरुले राखेका छन् । 

सनराइज खबर न्युजरुम छलफलमा लुना थापा भन्छिन्– ‘त्यति उच्च ओहोदामा रहेका कृष्णबहादुर महराले जे हर्कत गरे, त्यो निन्दनीय छ ।’

‘कुरा त्यसो मात्र होइन’– दुर्गा भट्टले विचार राखिन्– ‘उच्च ओहोदामा भएको मानिसले गरेकाले मात्र निन्दनीय भएको होइन, सर्वसाधारण या अरु कसैले यस्तो हर्कत गरेको भए पनि त्यति नै निन्दनीय हो ।’

दुर्गाको विचारमा सहमति थाप्दै अनुपम शर्मिला भन्छिन्– ‘कसले  गर्‍याे भन्ने पछिको कुरा हो । पहिलो कुरा के हो भने जसले गरे पनि यौन दुर्व्यवाहार भनेको गलत नै हो ।’

सनराइज न्युजरुम छलफलमा अनुपम, दुर्गा र लुनाले महरा–रोशनी प्रकरणको विभिन्न पाटापक्ष केलाएका छन् । 

छलफलमा दुर्गा भन्छिन्– ‘महरा र रोशनीको करिब तीन दशकदेखि सम्बन्ध रहेको देखिन्छ । अहिले के कुरा नमिलेर हो, उनीहरुको सम्बन्ध बाहिर आएको छ ।’

दुर्गा थप्छिन्– ‘महराको राजनीतिक करिअर समाप्त भएको छ ।’

सनराइज न्युजरुम छलफल अगाडि बढ्दै जाँदा अनुपम भन्छिन्– ‘दुव्र्यवहार भएको हो भने रोशनीले किन बारम्बार कुरा फेरिन् ? कहिले बाउ जस्तो मानिस भनिन्, कहिले प्रहरीले उजुरी लिन मानेन भनिन् ।’

अनुपमको कुरा सुनेपछि दुर्गा थप्छिन्– ‘बारम्बार कुरा फेरेको देख्दा महरा–रोशनी प्रकरण रहस्यमय छ भन्ने देखिन्छ ।’

अनुपम र दुर्गा दुवैजना यो प्रकरणभित्र धेरै रहस्य भएको ठान्छन् । रोशनीको सामाजिक सञ्जालका आईडीहरु आफैंले नचलाएर अरु नै कसैले चलाएको प्रष्ट हुनुले पनि यो प्रकरणभित्र रहस्यका अनेक पत्र भएको दुईको विचार छ ।

अनुपम, दुर्गा र लुनाबीचकाे सनराइज छलफलकाे भिडियाे

‘रोशनीको श्रीमान महराकै पक्षमा भएजस्तो देखिन्छ अनि एकाएक डिभोर्सको घोषणा गर्नु अनौठो छ । रोशनी साँच्चै पीडित हो भने उनका श्रीमानले किन साथ दिएनन् ?’ लुना प्रश्न उठाउँछिन् ।

दुवैजना दोषी भएको ठहर सुनाउँदै दुर्गा भन्छिन्– ‘दुवैजना विवाहित हुन्, दुवैका छोराछोरी छन्, उनीहरुले सम्बन्ध राख्नु घोर अनैतिक हो । नेपाली समाजमा यो कलंकको घटना हो ।’

दुर्गाको यो विचारमा सहमति जनाउँदै अनुपम भन्छिन्– ‘विवाहित पुरुष र स्त्रीले सम्बन्ध राख्नु नेपाली समाजका लागि मात्र नभएर विश्वको जुनसुकै समाजमा कलंक मानिन्छ ।’

‘रहस्यलाई बाहिर निकालेर अदालतले फैसला लिन्छ भन्ने विश्वाश गरौं’– लुना निष्कर्ष सुनाउँछिन् । लुनाको निष्कर्षमा दुर्गा र अनुपम सहमति जनाउँछन् । 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत