English

संसद्

महराले पनि बनाएका थिएनन् सांसद्को आचरण हेर्ने समिति

sunrisekhabar

काठमाडौं । अहिले केही सांसद् प्रहरी खोरमा छन्, केही सांसद तारेखमा छन् । कतिपय सांसद्को आचरण निन्दनीय देखिएको छ । 

सांसद्हरु मानिस हुन् । मानिसको मति बिग्रन सक्छ । सांसद्को आचरण बिग्रन सक्छ अथवा बिग्रिएको आचरण सांसद् भएको बेला प्रकट हुनसक्छ ।  

यस्तै अवस्था आउनसक्ने पूर्वानुमानसहित प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आचरण अनुगमन समितिको व्यवस्था गरिएको छ । प्रतिनिधि सभाको आचरण अनुगमन समिति सभामुख र राष्ट्रिय सभाको आचरण अनुगमन समितिको सभापति अध्यक्ष हुने व्यवस्था दुवै सदनको नियमावलीमा छ । तर, अहिलेसम्म आचरण अनुगमन समिति बनाइएको छैन । 

सभामुख कृष्णबहादुर महरा नै खराब आचरणमा अहिले प्रहरी हिरासतमा छन् । त्यसैगरी सांसद्हरु प्रमोदकुमार साह, रेशम चौधरी, मोहम्मद आफ्ताब आलम र हरिनारायण रौनियार सुरक्षा नियन्त्रणमा छन् । 

यी बाहेक अन्य कैयन सांसद्हरुलाई विभिन्न खाले अभियोग सार्वजनिक स्तरबाट लगाइएका छन् । कतिपय अभियोग राजनीतिक तथा व्यक्तिगत पूर्वाग्रहले लगाइएको देखिन्छ भने कतिपय अभियोगलाई अन्यथा भन्न नसकिने देखिन्छ । 

संसदीय मामिलाका जानकारहरुका अनुसार नेपालका विगतमा संसद्हरुमा पनि आचरण अनुगमन समितिको व्यवस्था थियो, तर, त्यस्तो समिति कहिल्यै पनि बनाइएन । 

०४७ सालको संविधान अनुसार बनेको प्रतिनिधि सभा र राष्ट्रिय सभामा पनि अनुगमन समिति बनाइएको थिएन । पछि अन्तरिम संविधान अनुसार व्यवस्थापिका–संसद् बनाइयो । त्यसबेला पनि नियमावलीमा आचरण अनुगमन समितिको व्यवस्था गरियो तर समिति नै बनाइएन । 

संविधान सभा कालमा पनि समितिको व्यवस्था थियो तर बनाइएन । 

अहिले आएर सभामुख स्वयं खराब आचरणको अभियोगमा परे । अब कसले बनाउँछ समिति ? प्रश्न उठेको छ । 

प्रतिनिधि सभा नियमावलीमा के छ व्यवस्था ?

प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावलीमा आचरण अनुगमन समितिको व्यवस्था मात्र छैन, आचरण कस्तो हुनुपर्छ भन्ने समेत व्यवस्था छ । दुवै सदनको आचार संहिता हुबहु मिल्छ । 

नियमावलीमा लेखिएको छ– ‘सभाका पदाधिकारी तथा सदस्यले संविधान बमोजिमको उत्तरदायित्व पूरा गर्न तथा निजको काम कारबाहीमा सार्वजनिक विश्वास कायम गर्न देहाय बमोजिमका आचार संहिताको पालन गर्नेछन् ।’

त्यसपछि सांसद्ले पालना गर्नुपर्ने आठ किसिमका आचार उल्लेख छ । आठ प्रकारको आचारको मुख्य कुरा यस्ता छन् ः–

–    नियमावलीको पूर्ण पालना गर्ने 

–    सार्वजनिक नैतिकता र आचारण अनुकूल व्यवहार गर्ने

–    सभा तथा समितिको वैठकमा नियमित सहभागी हुने र मताधिकारको प्रयोग गर्ने

–    निस्वार्थ, इमानदार, वस्तुनिष्ठ र उत्तरदायी बन्ने

–    निजी र सार्वजनिक स्वार्थमा द्वन्द भए सार्वजनिक स्वार्थको पक्षमा उभिने

–    वैठकमा व्यक्तिगत स्वार्थमा बोल्ने र मत दिने काम नगर्ने

–    सांसद्को हैसियतले पाएको सूचना निजी स्वार्थमा प्रयोग नगर्ने

–    संसद्‍मा विचाराधीन कुनै विषयसँग व्यक्तिगत स्वार्थ गासिएको भए त्यसको छलफलमा सहभागी नहुने


नबनेको आचरण अनुगमन समिति

खराब आचरणमा सभामुख महरा स्वयं आरोपित भएका छन् । तर, उनले आचरण अनुगमन समिति बनाउन पहल नै गरेनन् । 

नियमावली अनुसार समितिको सभापति र उपसभापति सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष हुन्छन् । समितिमा विपक्षी दलका नेता, सत्तापक्षका नेता पनि रहन्छन् । 

प्रतिनिधि सभाको आचरण अनुगमन समितिमा नौ जना सांसद र राष्ट्रिय सभाको समितिमा चारजना सांसद् सदस्य रहने व्यवस्था छ । 

के गर्छ अनुगमन समितिले ? 

कुनै सांसद्ले आचार संहिता उल्लङ्घन गरेको भनी सार्वजनिक रुपमा प्रश्न उठ्यो भने पनि अनुगमन समितिले छानबिन गर्न सक्छ । छानबिन गर्दा त्यस्ता सांसद्लाई बोलाएर वयान लिन सक्छ । 

यस्तो समितिले आचरणका सम्बन्धमा प्रश्न उठाउने व्यक्ति, संस्था वा सञ्चार माध्यमसँग पनि आवश्यक जानकारी लिन सक्छ । 

छानबिन पछि आचरण उल्लङ्घन गरेको देखिन्छ वा देखिँदैन भनेर निर्णय गरी प्रतिवेदन बैठकमा पेस गर्नुपर्छ । यस्तो समितिले सांसद्लाई कारबाही गर्न भने सक्दैन । कारवाही राज्यका न्यायिक निकायले मात्र गर्न सक्छ । 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत