• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

चीन–भारत :  न मित्र न शत्रु 

लेख / विचार


श्री राम चौलिया-

चीन र भारत आत्मीय मित्र होइनन् । तर रणनीतिक सहकार्य र संवादले संभावित युद्धलाई टार्न सकिन्छ भन्नेमा यी दुई एसियाली महाशक्ति सहमत देखिन्छन् । 

एसियाको पहिलो र दोस्रो शक्ति बीच लामो समयदेखि स्वार्थको लडाईं छ, तर उनीहरु आफ्ना नेताहरु बीचको रणनीतिक संवाद मार्फत साझा जमिन खोज्दैछन् । स्थायित्वको लक्ष्य व्यक्तिगत कूटनीतिको कडा खाले औषधीबाट आकर्षित छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनौपचारिक भेटका क्रममा दक्षिणी भारतको ममलापुरममा अक्टुबर ११ र १२ मा देखाएको सद्भाव र आत्मीयताले यस्तै  संकेत गरेको छ । भारत र चीन ठूला र परिपक्व छिमेकी हुन्, जसले सी र मोदी बीचको खुला संवाद मार्फत सम्बन्धमा आउने विध्वंश टार्न सक्छन् । 

यी दुई नेताबीच पछिल्ला पाँच वर्षमा १७ पटक भेट भइसकेको छ । 

व्यक्तिगत सम्बन्ध

सीको बुझाईमा मोदीको पहलमा ममालापुरममा भएको अनौपचारिक शिखर सम्मेलन (यसअघि पहिलो अनौपचारिक वार्ता चीनको वुुहानमा अप्रिल २०१८ मा भएको थियो ) उत्कृष्ट योजना हो । मोदीको बुझाईमा कुनै एजेन्डा तय नगरी हुने यस्तो संवादले नयाँ गति र विश्वासलाई बढावा दिएको छ । चीन–भारत सम्बन्धमा गतिरोध पैदा गर्ने असंख्य चुनौतीलाई सम्बोधन गर्न यस्तो प्रकृतिको संवाद उचित हुने दुवैको बुझाई छ । 

चीनका सर्वशक्तिमान सी र भरखरै भारतीय चुनावमा गतिलो विजय हासिल गरेका मोदी दुवैको हातमा आफ्नो देशको विदेश नीति पुनर्निर्माण गर्नसक्ने गरी अथाह राजनीतिक शक्ति छ । दुवैलाई थाहा छ, एकले अर्का शक्तिशालीसँग लामो समयसम्म ‘डिल’ गर्नुपर्नेछ किनकी दुवैसँग आफ्नो देशको प्रशासन र जनतामा गतिलो पकड छ । 

वर्षौंसम्म चिनियाँले भारतलाई सामाजिक र आर्थिक रुपमा पिछडिएको क्षेत्रका रुपमा कमजोर दृष्टिले हेरे, लामो समयसम्म पश्चिमाको उपनिवेश बनेको भारतसँग चीनको तुलना हुन नसक्ने उनीहरुको दाबी थियो । तर, मोदी नेतृत्वमा स्वतन्त्र ‘नेतृत्वदायी शक्ति’ बनेर भारत उदाएपछि भने बेइजिङको पूरापूर ध्यान गयो । 

सन् २०१७ मा दोक्लाममा भारत र चीनका सैनिक आमने–सामने भएको विवादास्पद परिस्थिति चिर्दै गत वर्ष वुहानमा पहिलो अनौपचारिक सम्मेलन गरिएको थियो । यस्तो परिस्थितिमा पनि चीन जान मोदी हिच्किचाएनन् र अन्त्यमा दोक्लाममा दुवै देशका सेना पछाडि हटे । 

चार हजार ८७ किलोमिटर लामो विवादास्पद लाइन अफ कन्ट्रोल (एलएसी) ले यी दुई देशलाई छुट्टयाएको छ । मोदी र सीबीच संवादलाई महत्व दिँदै माथिल्लो तहबाटै विवादको समाधान खोजेर सीमामा स्थायी शान्ति कायम गर्न चीनले महत्व दिइरहेको छ । यता, सीमा विवादलाई राष्ट्रिय गौरवको विषय बनाएको मोदीको भारतीय जनता पार्टी र भारत सरकारले पनि अन्त्यमा चाहने स्थायी शान्ति नै हो । 

वुहान सम्मेलन यता सीमा क्षेत्रमा सैन्य विवाद कम गर्न मोदी र सीले आफ्ना सेनालाई रणनीतिक निर्देशन दिएका छन्, तर केही क्षेत्रमा अझै विवाद छ अर्थात् दशकौं पुरानो सीमा विवादमा ब्रेक थ्रु भएको छैन । भिन्नतालाई विवादमा परिणत हुनबाट रोक्ने भारतीय नीति वर्तमान अनौपचारिक कूटनीतिको मुख्य आधारशिलाका रुपमा कायम छ । 

भारत प्रशासित अरुणाचल प्रदेशको सीमा क्षेत्र (जसलाई बेइजिङले दक्षिणी तिब्बतको भूभाग भन्छ), यहाँ हुने भारतीय सैन्य अभ्यास प्रति चीनको आपत्ति छ । त्यस्तै, जम्मु–कास्मिर (जहाँ केही भाग चीनको पनि पर्छ ) को विशेषाधिकार खोस्दै केन्द्रीय शासन लागु गर्ने भारतीय निर्णय चीनले अस्विकार गरेकाले भारत आक्रोशित छ, यसले देखाउँछ कि दुवै देश सार्वभौमिकता र सीमाका समस्यामा कसरी जकडिएका छन् । 

दोक्लाम विवादका दौरान भारतमा चीन विरोधी भावना बढेको थियो र यस वर्ष फेरि यो बढ्यो किनकी आफ्नो सधैंको सहयोगी पाकिस्तानले संयुक्त राष्ट्रसंघका जम्मु र कस्मिरको मुद्दा उचालेपछि चीनले सद्भाव देखायो । पाकिस्तानलाई आर्थिक, सैन्य र कूटनीतिक सहयोग उपलब्ध गराएर भारतको उदयलाई काउन्टर ब्यालेन्स गर्ने गरी चीनले चालेका कदमको भारतमा विरोध हुने गरेको छ । सी र मोदी बीच माथिल्लो तहमा ममल्लापुरममा छलफल हुन अघि पनि सीले पाकिस्तानी प्रधानमन्त्री ईमरान खानलाई आश्वस्त गराएका थिए– ‘चीनले पाकिस्तानलाई उसको भित्री स्वार्थसँग सम्बन्धित विषयमा निरन्तर सहयोग गर्नेछ ।’

बेइजिङको मूल्याङकनमा पाकिस्तान आर्थिक तथा कूटनीतिक रुपमा यति पिछडिएको छ कि चीनको आड नपाउने हो भने उ भारतको दबाबसामु झुक्नेछ । पाकिस्तानलाई भरोसा दिनु र उसको संभावित पतनलाई रोक्नु चीनको रणनीतिक आवश्यकता हो, दक्षिण एशियामा भारत चुनौती रहित बनेमा शक्ति सन्तुलन बिग्रने चीनको भय छ । 

जसरी चीनले भारतलाई सन्तुलनमा राख्न पाकिस्तानलाई साथमा लिन्छ, त्यसरी नै भारतले पनि चीनलाई सन्तुलनमा राख्न अमेरिका र रुसको कार्ड प्रयोग गरिरहेको छ । ‘चीनको नियन्त्रण’ भन्ने पश्चिमाको हल्लालाई खुलेयाम खण्डन गर्ने भारतीय विदेशमन्त्रीको अभिव्यक्तिको अर्थ दक्षिण एसिया र हिन्द–सागर क्षेत्रमा चीनको बढ्दो उपस्थितिलाई लिएर भारत सन्तुष्ट छ भन्ने होइन । चीन र भारत दुवैमा एकले अर्कालाई सिधा वा तेस्रो वा चौथो देश मार्फत हानी गर्न सक्ने शंका छ । यस्तो गहिरो भूराजनीतिक असहमतिका बावजुद मोदी र सी ‘खुला र सुखद्’ कूटनीति गरिरहेका छन्, जहाँ रेड लाईन तोकिएको छ र खुलेयाम रुपमा एक–अर्का प्रति असहमति व्यक्त गरिएको छ, यसको अर्थ नयाँदिल्ली र बेइजिङले एक अर्काप्रतिको नियतलाई  हिसाब गर्न सक्छन् र ‘असहमतिका लागि सहमत’ हुने जेन्टलम्यान कोड पछ्याउन सक्छन् । 

‘दुई देशले एकअर्काका सरोकारप्रति संवेदनशील हुने निर्णय गरेको’ मोदीको टिप्पणी छ र यो वास्तविक छ । 

‘थुसीडाइड्स ट्रयाप’ छल्ने प्रयास 

भूराजनीतिक यथार्थ यही हो कि भारत र चीन सीमा जोडिएका छिमेकी ह्ुन्, यो अनुमान गरिएको छ कि भारतले आर्थिक र सैन्य शक्तिमा चीनलाई अन्तत भेट्ने नै छ । यस्तोमा दुवै ‘थुसीडाइड्स ट्रयाप’ (ग्रिक इतिहासकार तथा सैनिक जनरल थुसीडाइड्सका अनुसार विद्यमान सर्वोच्चतावादी र उदयीमान चुनौतीकर्ता बीचको युद्ध नितान्त आवश्यकता हो ।) बाट दुवै बच्न चाहन्छन् । 

चीन र भारतको जनसंख्या जोड्दा दुई अर्ब ७० करोड हुन आउँछ । दुवैले पछिल्ला दशकमा आर्थिक रुपमा छुट्टा–छुट्टै ढंगले ठूलो आर्थिक प्रगति गरेका छन्, यस्तोमा जनताको भाग्यका लागि नेतृत्वले स्व–नियन्त्रण र आपसी–अस्तित्व स्वीकार्नु जरुरी छ । 

ममाल्लापुरममा चीनसँगको भारतको व्यापार घाटा कम गर्न विशेष संयन्त्र गठन गर्ने सम्झौता भएको छ, त्यस्तै सैन्य क्षेत्रमा विश्वास कायम गरेर व्यवहारिक भावनाका साथ अघि बढ्नुपर्ने विष्लेशण दुवैले गरेका छन् । आपसी अनौपचारिक दुई पक्षीय सम्मेलनको यो ट्रेन्ड (अब चीनमा यस्तै सम्मेलन हुनेछ ), यसले सधैंका लागि शान्ति फर्काउँछ भन्ने होइन, यसले ‘हिन्दी–चीनी भाई भाई’ भन्ने पुरानो भावनात्मक सपना सकार पार्छ भन्ने पनि होइन, न त यसले पश्चिमा विरोधी वृहत् विश्वव्यापी गठबन्धन नै तयार गर्छ । तर, यी सम्मेलनले सी र मोदी अपेक्षाकृत स्थिर सम्बन्धका लागि प्रतिवद्ध छन् र यस सम्बन्धलाई उमाल्न वा पगाल्न सकिँदैन भन्ने संकेत गरेको छ । ‘थुसीडाइड्स ट्रयाप’ को संभावनालाई यस्तै शान्त र क्यालकुलेटेड दिमागले मात्रै निस्तेज गर्न सक्छ । 

(चौलिया भारतको सोनीपातस्थित जिन्डाल स्कुल अफ इन्टरनेशनल एफियर्सका प्रोफेसर÷डिन हुन् । उनको पुस्तक ‘ट्रम्पेड : इमर्जिङ पावर्स  इन’ र ‘पोस्ट अमेरिकन वल्र्ड’ छिट्टै प्रकाशनमा आउँदैछ । यो लेख रुसको सरकारी सञ्चार माध्यम रसिया टुडेको वेवसाइट ‘आरटीडटकम’ बाट भावानूवाद गरिएको हो ।  )

प्रतिकृया दिनुहोस