English

सरकार

चिनियाँ राष्ट्रपतिको स्वागत राष्ट्रपति भण्डारीबाट

sunrisekhabar

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने बताइएको छ ।  

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति भण्डारीकै मैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिएका हुन् । 

बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले यसको जानकारी दिएका हुन् । 

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताएका छन् । त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि संचारमन्त्री बाँस्कोटाको भनाई छ । उनले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेको पनि बताए । 

‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई पूर्ण रुपमा सफल बनाउने, ऐतिहासिक बनाउने कुरामा हामी पूर्ण रुपले सचेत छौं’– संचारमन्त्री बाँस्कोटाको भनाई थियो, ‘दुवै देशले त्यसलाई गम्भीरतापूर्वक लिएको छ ।’

चिनियाँ राष्ट्रपति सी आगामि शनिबार र आइतबार नेपालको दुई दिने राजकीय भ्रमण आउने तालिका रहेको छ । संचारमन्त्री बास्कोटाले सो भ्रमणमा नेपालले दुई मुलुकबीचको कनेक्टिभीटीमा जोड दिने पनि बताए । 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत