• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

कुरा बुझौं, यसकारण गरिँदैछ चिनियाँ राष्ट्रपतिको भव्य स्वागत

विकास अधिकारी

विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख आउँदा नेपालमा किन भव्य स्वागत गरिन्छ ? यो बारेमा कतिपय मानिसले बुझेकै छैनन् । अनि कतिपय मानिसले चाहिँ बुझेर पनि बुझ्पचाउँदै भ्रम फैलाउने गरेका छन् । 

अहिले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदैछन् । उनको स्वागतमा राजधानीलाई झकिझकाउ बनाइएको छ । यसो किन गरियो ? यसो गर्न हुँदैन, सीको स्वागतमा कुनै तामझाम गर्न हुँदैन भन्ने कतिपयको धारणा छ । अज्ञानताले यस्तो धारणा राखिएको हो भने कुरा बुझौं । जानाजान यस्तो धारणा बनाएर दुष्प्रचार गरिएको हो भने त्यस्ता नकारात्मक प्राणीको कुनै ओखती छैन ।

पहिलो कुरा, अहिले गर्न लागिएको स्वागत सी चिनफिङ नाम गरेका व्यक्तिको होइन । स्वागतका लागि सी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो धेरै ठाउँमा सजाइएको छ । यो कुरा पनि बुझौं– सजाइएका फोटो विद्यादेवी भण्डारी नाम गरेकी एक महिलाको होइन । 

सी चिनफिङ र विद्यादेवी भण्डारी दुवैजना दुईटा देशको राष्ट्राध्यक्ष हुन् । उनीहरुले आआफ्नो देशका समस्त जनताको प्रतिनिधित्व गर्छन् । सीलाई स्वागत गर्नुको अर्थ, सम्मान गर्नुको अर्थ मित्रराष्ट्र चीन र चिनियाँ जनताको स्वागत र सम्मान गर्नु हो । यो शिष्टाचार हो । 

नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आए । उनको स्वागतमा पनि नेपालले यस्तै तामझाम गरेको थियो । हो, भारत र मोदीप्रति नेपालीका गुनासा छन् तर उनी पाहुना बनेर आएपछि उनको स्वागतमा यथासक्य गर्नु नेपाली कर्तव्य हो । यहाँनेर पनि के भुल्न भएन भने नरेन्द्र मोदी व्यक्तिका रुपमा आएका होइनन्, मित्रदेश भारतको प्रतिनिधिका रुपमा आएका हुन् ।

मानिलिउँ भविष्यमा सी या मोदी आआफ्नो देशको राष्ट्रपति या प्रधानमन्त्री रहेनन् । उनीहरु नेपाल घुम्न आए । त्यसबेला यस्तै स्वागत पाउँछन् ? अहँ, पाउँदैनन् । किनभने राज्यले व्यक्तिलाई गर्ने स्वागत र मित्रदेशको सर्वाेच्च प्रतिनिधित्व गर्नेलाई गर्ने स्वागत फरक हुन्छ । पर्यटकका रुपमा सी या मोदी भविष्यमा घुम्न नेपाल आएमा उनीहरु फगत एक व्यक्ति मात्र हुनेछन्, उनीहरुले यस्तो स्वागत पाउँदैनन् । 

त्यसैले अहिले सी चिनफिङको गरिँदै गरेको भव्य स्वागत व्यक्तिलाई होइन, मित्रदेश चीन र चिनियाँ जनताका सर्वाेच्च प्रतिनिधिलाई हो । 

नेपालकी राष्ट्रपति या प्रधानमन्त्री चीन तथा भारत गएका छन् । उनीहरुलाई पनि भव्य स्वागत गरिएको थियो र गरिन्छ पनि । भविष्यमा केपी शर्मा ओली या विद्या भण्डारी पदमा नरहलान्, त्यसबेला भारत या चीन घुम्न जालान्, त्यसबेला उनीहरुले त्यस्तो स्वागत पाउँदैनन् । 

विश्वभरीको नियम यही हो । 

अब अर्काे कुरा, चिनियाँ राष्ट्रपति आउँदा किन सडक बनाइयो ? किन साफसुग्घर गरियो ? किन फूल रोपियो ? यस्ता प्रश्न पनि उठाउने गरिएको छ । यसको पनि जवाफ दिनुपरेको छ । 

हो, नेपालका राष्ट्रपति या प्रधानमन्त्री भारत, चीन या अमेरिका जाँदा सडक सफा गरिँदैन, पीच गरिँदैन, फूल रोपिँदैन । किनभने उनीहरु ‘अपटुडेट’ छन् । सदासर्वदा व्यवस्थित छन् । त्यसैले विदेशी पाहुना आउँदा सरसफाई गरिरहन पर्दैन, सडक सधैं राम्रो छ अनि कोही आउँदा बनाउनै पर्दैन । चिनियाँ राष्ट्रपति अमेरिका जाँदा या अमेरिकी राष्ट्रपति चीन जाँदा कुनै विशेष व्यवस्था गरिरहनै पर्दैन । 

नेपालले विशेष व्यवस्था गरेर स्वागत गर्ने कि नगर्ने ? अवश्य गर्ने ? जस्तो छ त्यस्तै हालतमा स्वागत गरे कसो होला ? अहँ, हुँदैन । अरु बेला अव्यवस्थित भए पनि पाहुना आउँदा सरसफाई गरेर सभ्यता प्रदर्शन गर्ने हैसियतमा छौं भनेर नेपाल र नेपालीले देखाउन पर्छ । हो, हामी नेपाली गरिब छौं तर संस्कारका गरिब छैनौं । गरिब भए पनि धनी मनले विदेशी पाहुनाको स्वागत गर्न हामी सक्षम छौं । 

दशैं लगभग सकिँदैछ, दशैंमा हामीले किन घरआगन सफा गर्यौं ? किन नयाँ लुगा लगायौं, किन मीठो खायौं ? सधैं नयाँ लुगा लगाए हुँदैन ? सधैं खसी काटेर खाए हुँदैन ? यस्तै हो विदेशी राष्ट्राध्यक्ष आउँदा गरिने स्वागतमा उठाइने प्रश्न पनि । 

नेपालमा विदेशी राष्ट्राध्यक्ष या सरकार प्रमुख आउनै हुँदैन, आए भने पनि स्वागत गर्नै हुँदैन, स्वागत गर्ने नै भए पनि ल्याङफ्याङ तरिकाले गर्नुपर्छ भन्नु कस्तो मानसिकता हो ? कस्तो दिमाग हो ? कस्तो संस्कार हो ? 

अन्तराष्ट्रिय कूटनीतिमा कसले कसलाई कसरी र कस्तो स्वागत गर्यो भन्नेको महत्व हुन्छ, अर्थ हुन्छ । 

बुद्धिजिवी भनाउँदाहरुले समेत नबुझे जस्तो गरेर विरोध गरेको देखिन्छ । यो हदसम्मको पूर्वाग्रह र दुराग्रह भएका मानिसको दिमाग गोबरको थुप्रो हो । यस्ताहरुलाई बुद्धिजिवी भन्नु भनेको आफ्नै मुखको अपमान हो, मुख अपवित्र पार्नु हो । यस्तालाई बुद्धिजिवी लेख्नु भनेको आफ्नै लेखनीको अपमान हो, कलमको अपमान हो । विदेशी राष्ट्राध्यक्षको स्वागत गर्दा खिल्ली उडाउने मिडिया पनि थुप्रै छन् । यी मिडिया होइनन्, भँडुवा हुन् । यस्ता मिडियाले समाजमा सकारात्मक विचार छरिरहेका छैनन्, विष छरिरहेका छन् ।

दिमागमा गोबर भरिएका बुद्धिजिवी र पत्रकारहरुलाई बेलैमा चिन्न सकिएन भने आफ्नो दिमागमा पनि तिनको जस्तै गोबर भरिन्छ भन्ने सबैले बुझ्न जरुरी छ । 

विदेशी राष्ट्राध्यक्ष या सरकार प्रमुखले त्यो देश र त्यस देशका जनताको प्रतिनिधित्व गरेका हुन्छन् । उनीहरुलाई हार्दिक स्वागत नगरेर अपमानजनक स्वागत गर्नुपर्छ भन्नु ठिक हो र ? नेपाली भएर सोचौं । नेपाली संस्कारलाई केन्द्रमा राखेर सोचौं । 
 

प्रतिकृया दिनुहोस