English

समाज

टीकामा राजनीति घुस्यो तर यस वर्ष घुँडा टेकाइएन

sunrisekhabar

काठमाडौं । गत वर्षको दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्दा केहीले घुँडा टेकेका थिए । सो प्रकरण निकै आलोचित बनेको थियो । तर, यसवर्ष राष्ट्रपति समक्ष घुँडा टेकेर कसैले पनि टीका थापेको दृष्य देख्न परेन ।

राष्ट्रपति समक्ष प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले टीका थापे । तर, राज्यको महत्वपूर्ण अंग संघीय संसद्का अगुवामध्ये राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मात्र राष्ट्रपतिबाट टीका थापेका छन् । सभामुख पद रिक्त भइसकेको छ र निवर्तमान सभामुख प्रहरी हिरासतमा छन् । उपसभामुख शिवमाया तुम्वाहाम्फे पूर्वाञ्चलमा रहेकी छिन् ।

राष्ट्रपतिको हातबाट टीका थाप्न उपप्रधानमन्त्री इश्वर पोखरेल र उनकी धर्मपत्नी मिरा ध्वजू पनि गएका थिए । त्यसैगरी यातायात मन्त्री रघुविर महासेठ दम्पत्तिले पनि राष्ट्रपति भण्डारीबाट टीका थापेका छन् । 

कानुन मन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, संस्कृति मन्त्री योगेश भट्टराई, महिला तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, सञ्चार मन्त्री गोकुल बाँस्कोटा लगायतले टीका थापेका छन् । 

राष्ट्रपतिको हातको टीका थाप्न प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि गएका छन् । 

राष्ट्रपति भण्डारीले आफन्त तथा नातागोताबाट टीका थाप्नु र टीका लगाइदिनु सामान्य नै भयो । तर, एकजनासँग चाहिँ राष्ट्रपति भण्डारीले टीका पनि लगाइन् र उनलाई पनि टीका लगाइदिइन् । उनी हुन्– हनुमानढोकाका मूल पुजारी । उनले राष्ट्रपतिलाई पनि टीका लगाइदिए र आफूले पनि टीका थापे । 

शितल निवासमा भित्र हाइप्रोफाइल टीका चलिरहँदा बाहिर सर्वसाधारणको पनि लाइन लागेको थियो । राष्ट्रपति भण्डारीबाट टीका थाप्ने लस्कर शितल निवास बाहिर थियो । शितल निवासबाट आधा किलोमिटर जति पर पनि अर्काे लाइन थियो– निर्मल निवासमा ।

शितल निवासमा सांस्कृतिक टिकाप्रसादको माहौल थियो भने उता निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रले चाहिँ राजनीतिक माहौलको टीका लगाइरहेका थिए । देशमा भएको अहिलेको राजनीतिक स्थिरता भत्काएर राजा फर्काउनुपर्छ भन्नेहरुको जमात शितल निवास पुगेको थियो । उनीहरुमा सांस्कृतिक भाव देखिएन, बरु, राजनीतिक भाव देखियो । पूर्व राजाको जयजयकार गर्न लगाउने जमात बेग्लै खटिएको थियो भने ज्ञानेन्द्र सामु पुगेर ‘अब शासन सत्ता हातमा लिनुपर्यो’ भन्नेहरु पनि देखिएका थिए ।

ज्ञानेन्द्रले केही वर्ष यता दशैंको टीकालाई राजनीतिक रुपमा उपयोग गर्ने प्रयास गरिरहेका छन् ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत