English

समाज

गच्छे बाहिर गएर खर्च नगराैं, नराम्रा चलन हटाअ‌ाैं- प्रम अ‍ाेली

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं मनाइरहँदा स्वास्थ्य, मित्रता, सामाजिक शान्तिलाई विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरेका छन् । विजया दशमीकाे उपलक्ष्यमा एक सन्देश दिँदै प्रधानमन्त्री अ‌ाेलीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्न नहुने सन्देश विचार राखेका छन् ।

ओलीले नेपाल राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको उल्लेख गरेका छन्- 'यस यात्रामा हामीले समृद्धि सँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकासपनि गर्नुछ ।यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ ।'
 
'सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस्'- प्रधानमन्त्रीकाे सन्देशमा उल्लेख छ ।

 छिमेकीलाई प्रतिकूल असर नपरोस भनेर ध्यान दिने, परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया ममता र सद्भाव फैलियोस भन्नेतर्फ सबैको ध्यान हुनु जरुरी भएको सन्देशमा उल्लेख छ ।

यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस र जान सकोस भन्ने कुरामा ध्यान दिन जरुरी भएको प्रधानमन्त्रीले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले चाडहरु बढी खर्चालु नबनाउन आग्रह गर्दै सन्देशमा भनेका छन्,“हामी आफ्नो गच्छे भन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ। यसमापनि ध्यान दिन जरुरी छ । ” 

प्रधानमन्त्री ओलीले दशैं एकता र पुनःमिलनको चाड भएको उल्लेख गर्दै भनेका छन्,‘‘दशैं आफन्तहरुको बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकताकासाथ मनाइने चाड हो ।” 

कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता पनि प्रधानमन्त्रीले अ‌ाैंल्याएका छन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत