English

खेलकुद

नेपालको जितमा करन बने नायक

बलियो प्रतिस्पर्धी नेदरल्याण्ड्सलाई नेपालले हरायो
sunrisekhabar

काठमाडौं । अन्तिम दुई ओभरमा जितको लागि २८ रन चाहिएको अवस्थामा करन केसीले शानदार इनिङ खेल्दै नेपाललाई अद्भुद जित दिलाए । ओमानमा जारी पाँच देश सम्मिलित प्रतियोगितामा नेपालले नेदरल्यान्डस् विरूद्द ४ विकेटको जित हात पार्न सफल भयो ।

बलियो प्रतिस्पर्धी नेदरल्याण्ड्स विरुद्धको खेलमा सोमपाल कामीसँग ११ बलमा २८ रनको साझेदारी गरेका करनले नेपाललाई सम्भावित हारबाट बचाउँदै विजयी बनाए । उनलाई सोमपाल कामीले २ बलमा ३ रन दिइ साथ दिए ।

करनकै प्रदर्शनको सहयोगमा नेपालले १९.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३४ रनको लक्ष्य पूरा गरेको छ ।

नेपाललाई अविश्वसनीय जित दिलाउने क्रममा करनले १४ बलमा १ चौका र ३ छक्का सहित नटआउट ३४ रन बनाए । अलराउण्ड प्रदर्शन गरेका करन प्लेयर अफ द म्याच चुनिए ।
सोमबार ओमानको अल अमेरेत क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेको थियो । नेपालले पहिले फिल्डीङ गर्ने निर्णय गरेकोमा नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनायो । नेदरल्याण्ड्सले आक्रामक रुपमा ब्याटिङ गरेपनि नेपालले कसिलो फिल्डीङ गरेपछि नेपालले मध्यम लक्ष्य पाएको थियो ।

डच टोलीको लागि म्याक्स ओ दावदले ४४ बलमा ४ चौका सहित ४३ रन बनाए । त्यस्तै कोलिन एकरमेन, एन्टोनियस स्टाल र स्कट एडवार्डसले क्रमशः २९, २१ र १६ रन बनाए ।

बलिङतर्फ नेपालको लागि करन केसीले ३.३ ओभर बलिङ गर्दै १७ रन खर्चदैं ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिएभने ललित राजवंशीले एक विकेट लिए । नेपालले कुल पाँच रन मात्र अतिरिक्तको रुपमा खर्चियो ।

जवाफी ब्याटिङ गरेको नेपालले १९.४ ओभरमा १ सय ३४ रन बनाउँदै लक्ष्य पूरा गर्न सफल भयो । लक्ष्य मध्यम भएपनि नेदरल्याण्ड्सको कसिलो बलिङसामु नेपाली ब्याटसम्यानले खुलेर खेल्न सकेनन् ।

ओपनिङमा आएका पारस खड्काले आफ्नो स्वभाविक खेल विपरित सुस्त खेल्दै साझेदारी बनाउने कोसिस गरिरहे । उनलाई खासै गतिलो साथ कसैले दिएनन् । चौथो विकेटको रुपमा पारस आउट भएपछि नेपाल संकटमा परेको थियो । तथापी विनोद भण्डारीले नेपालको सम्भावना जीवितै राखेका थिए । विनोदले २२ बलमा २ छक्कासहित २६ रन बनाए ।
नेपालको लागि पारसले ४१ बलमा १ चौका र १ छक्कासहित ३३ रन बनाए । त्यस्तै पवन शर्राफले ९ रन बनाए ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका करनले डच बलर चुट्दै नेपाललाई जित दिलाए ।

बलिङमा डच टोलीका रोइलोभ भ्यान डर मर्वाले किफायति बलिङ गरे । ४ ओभरमा १४ रनमात्र दिएका उनले पारसको सहित २ विकेट लिए । त्यस्तै पल भान म्याकरिन, ब्राण्डन ग्लोभर, कोलिन एकरमेनले समान १ विकेट लिए । डच टोलीले कुल १७ रन अतिरिक्त खर्चेको थियो ।

यसअघि हङकङलाई हराएको नेपालले दुई खेलमा दुई जित हात पारेको छ ।

 

 

प्राप्त प्रतिक्रिया
Lalit लेख्नुहुन्छ २० असोज, २०७६ २:५४ pm

Nepal

तपाईँको मत