English

राजनीति

खुलामञ्चमा कांग्रेस क्रान्तिकारी बन्न खोज्दा हजारौंलाई सास्ती

sunrisekhabar

काठमाडौं । जसरी होस् चर्चामा आउने, क्रान्तिकारी देखिने र विरोध गर्ने प्रवृत्तिका कारण काठमाडौंमा दैनिक हजारौं जनताले निरन्तर दुःख पाउने अवस्था आएको छ । काठमाडौंको खुलामञ्चमा चलिरहेको अस्थायी बसपार्कमा ढलान गर्न दिन्नौं भन्ने जमातका कारण हजारौं जनताले दुख पाउने अवस्था आएको हो । 

काठमाडौंको सहरी बसपार्कमा नयाँ भवन बनिरहेको छ । सो भवन निर्माण पूरा भएपछि मात्र त्यहाँ बसपार्क सञ्चालन हुनसक्छ । त्यसैले सो बसपार्क अस्थायी रुपमा नजिकैको खुलामञ्चमा सञ्चालन भइरहेको छ । 

खुलामञ्चको अस्थायी बसपार्क वर्षायाम भरी हिलोमय थियो । अब हिउँद याममा धुलोमय हुने निश्चित छ । दैनिक हजारौं यात्रु सो बसपाक पुग्छन् । हजारौं सवारी साधन त्यहाँ भित्रन्छ र बाहिरिन्छ । अस्थायी बसपार्क भए पनि यात्रुको सुविधा र स्वास्थ्यलाई ध्यानमा राखेर काठमाडौं महानगरपालिकाले ढलान गर्ने निर्णय गर्यो । 

तर, उपमेयर हरिप्रभा खड्गी सहित नेपाली कांग्रेसको एउटा जत्थाले भने खुलामञ्च नै मास्न खोजेको भन्दै ढलान गर्ने कामको विरोध गरेको छ । 

अस्थायी बसपार्क ढलान गर्न नदिने कांग्रेसको प्रयासलाई बसपार्कका सवारी चालक तथा व्यवसायीहरुले आपत्तिजनक भनेका छन् । उनीहरुका अनुसार बसपार्कमा उड्ने धुलोले नजिकैको बीर अस्पतालका साथै काठमाडौंको भित्री सहर पीडित हुने गरेको छ । 

‘अब हिउँद लाग्यो, झन धेरै धूलो उड्छ, बसपार्कमा मानिस केही बेर उभिन पनि नसक्ने अवस्था हुन्छ । ढलान गर्न हामीले बारम्बार माग गर्दै आएका थियौं । तर, कांग्रेसले दिएन’– एक सवारी चालकले यो संवाददातासँग भने । 

महानगरपालिकाका एक अधिकारीले टिप्पणी गरे– ‘उपमेयर हरिप्रभा खड्गीलाई जसरी पनि भाँडभैलो मच्चाउनु छ, उनमा अलिकति पनि जिम्मेवारीवोध छैन ।’

‘स्थायी बसपार्क निर्माण भइसकेपछि खुलामञ्चमा बसपार्क रहँदैन, महानगरले राख्छु भन्दा पनि सम्भव छैन’– महानगरका ती अधिकारीले भने– ‘अस्थायी बसपार्क हो भन्ने प्रष्ट छ तर पीच नगरेर किन ढलान गरेको भन्दै उपमेयरले अत्तो थापेकी छिन् । यो गलत हो ।’

उनका अनुसार दैनिक हजारौं ठूलाठूला बसले प्रयोग गर्ने बसपार्कमा साधारण पीच गर्ने हो भने केही सातामै भत्कन्छ । कमसेकम एकडेढ वर्ष टिक्ने गरी ढलान गर्न खोजिएको उनले जानकारी दिए ।

दशैंमा यात्रु र सवारी साधनको चाप थोरै हुने बेला पारेर ढलान गरिएको महानगरको दावी छ । महानगरका अनुसार खुलामञ्चको सबै भागमा ढलान गर्न लागिएको होइन, प्राविधिकहरुले दिएको सुझाव अनुसार कुनै भागमा ढलान गरिन लागेको छ भने कुनै भागमा कालोपत्रे गर्न लागिएको हो । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत