• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

महरा अत्यन्तै विचलित अवस्थामा

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । यौन दुराचारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरा अत्यन्त विचलित बनेको बुझिएको छ । उनी अहिले बालुवाटार स्थित सभामुख निवासमा छन् । 

महरालाई यौन दुराचारको आरोप लगाउने रोशनी शाहीले वयान फेर्दै जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको छ । यसका साथै महराको मनोदशा झन विचलित बनेको परिवार निकटहरुले सनराइज खबरलाई जानकारी दिएका छन् । 

रोशनीले जाहेरी दिएसँगै अब महरालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइने निश्चित भएको छ । 

दशैं विदा भए पनि वन्दी प्रत्यक्षीकरण तथा न्यायिक हिरासतका लागि अदालत खुल्ला रहन्छ । महरालाई आइतबार नै अदालतमा पेस गर्ने गरी पक्राउ गरिने प्रहरी स्रोतको दावी छ । अदालतबाट उनी विरुद्ध पक्राउ पुर्जी लिइने र म्याद थप गरिने छ ।

सभामुख पदबाट हटेपनि महरा सांसद् पदमा यथावत छन् । दुराचारको आरोपमा गिरफ्तार भएपछि महराको सांसद् पद निलम्बित हुनेछ । 

रोशनीले किन वयान फेर्दै जाहेरी दिइन् भन्ने खुल्न सकेको छैन । 

स्रोत अनुसार पूर्व सभामुख महरा यतिबेला अत्यन्तै विचलित अवस्थामा छन् । उनलाई मनोचिकित्सकको समेत आवश्यकता पर्ने अवस्था आएको बताइएको छ । उनलाई परिवारले पूरै साथ र हौसला दिइरहेको बुझिएको छ । 

स्रोत अनुसार महरा ‘मलाई नराम्रोसँग फसाए’ भन्दै रुने कराउने गरेका छन् । उनी धेरैजसो समय सुतेर बसेको बताइएको छ । 

प्रतिकृया दिनुहोस