English

विचार

धराने रेलको कुरा 

sunrisekhabar
तस्विर सौजन्य : बब वाचम्यान

नेपालमा ९२ वर्ष अघि नै रेल संचालन भैसकेको थियो । सन् १९२७ अर्थात् विक्रम सम्बत १९८४ मा तत्कालीन बेलायती शासकले महोत्तरीको जङ्गलबाट काठ ओसार्न निर्माण गरेको रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगरसम्म  ५२ किमिको दूरीमा सञ्चालनमा थियो ।

यसलाई पछि यात्रु रेलमा परिणत गरेपछि यो जनकपुर रेलको नामले चिनियो । २०१८ साल पछि मात्रै उक्त रेलले यात्रु ओसारपसार गर्न थालेको हो । तर, नेपालमा पहिलो रेल संचालन भएको लगभग तीन दशक पछि मात्रै सुनसरीमा रेल चल्न थालेको पाइन्छ । 

भारतसँग सन् १९५४ (वि.सं. २०११ साल) मा कोशी सम्झौता भएपछि भीमनगरमा बाँध निर्माणका लागि चतरासम्म रेल पुगेको पाइन्छ । त्यसबेला बाँध निर्माणका लागि धरान लगायत उत्तरी भेगबाट ढुङ्गा ओसार्नका लागि रेल पुर्‍याइएको हो । धरानको घोपामा भने तत्कालीन बेलायती सेनाको भर्ती केन्द्र भएको स्थान नजिकै रहेको स्टेशन सम्म रेल पुग्थ्यो । शुरुमा भीमनगरबाट ढुवानीका लागि चक्रघट्टीसम्म आउने रेललाई कोशी आयोजनाले चतरासम्म बिस्तार गरेको थियो । सन् १९५० को उत्तरार्ध तिर मात्रै ढुवानी क्षेत्र विस्तार गरेर रेललाई चक्रघट्टीबाट (घोपा) हालको धरानसम्म  पुर्‍याइएको थियो । 

धरानमा हालको  बिपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नजिकैसम्म रेल आउँथ्यो । यो स्थान पहिले घोपा गाबिसमा पर्दथ्यो । उक्त चौबाटोसम्म रेल आउने भएकाले उक्त चोकको नाम रेल्वे चोक अनि बस्ती पनि रेल्वे बस्ती भन्ने रहेको छ । हालको बिपी प्रतिष्ठानको पश्चिममा पर्ने उक्त स्थानको नाम नै धरानमा आउने रेलको इतिहाससँग जोडिएको छ । 
सुनसरीमा भने आज भन्दा करीब ६३ वर्ष अघि रेल संचालनमा आएको इतिहास छ । वि.सं. २०१३ सालदेखि लगभग साढे तीन दशक भीमनगरदेखि धरानको रेल्वेसम्म रेल चल्ने गथ्र्यो । २०११ सालमा नेपाल भारतबीच कोशी सम्झौता भएपछि ढुङ्गा ओसार्न रेल सञ्चालनमा आएको थियो ।

हालको बराह नगरपालिकाको महेन्द्रनगर चक्रघट्टी हुँदै भीमनगर कोशी व्यारेज र विहारको वीरपुरसम्म कोइलाले चल्ने रेल आकाशमा धुवाँ फाल्दै दैनिक तीनपटक फलामको लिकमाथि ओहोर दोहोर गर्ने गथ्र्याे  । भीमनगरदेखि धरानको कोशी नदीको पूर्वी तटवन्ध छेउमा बनाइएको लिकबाट ४७ किलोमिटरको दूरीमा रेल चलेको इतिहास छ ।

तस्विर सौजन्य : इन्डियन रेलवे फ्यान क्लब

धरानको फुस्रेका पहाडबाट घिर्लिङ्ग (रोपवे) को सहायताले ल्याइएका ढुङ्गालाई रेल्वे चोकबाट कामदारहरुले रेलमा ढुङ्गा लोड गर्थे । रेलले दैनिक ढुङ्गा ओसार्ने काम गथ्र्याे । ओसारिएका ढुङ्गा सम्झौताअनुसार कोशी ब्यारेज बनाउन भीमनगर ल्याइन्थ्यो । भीमनगरबाट छुट्ने रेलको कुशाह, मधुवन, राजाबास, चक्रघट्टी, चतरा, बाङ्गे ,घोपा क्याम्पमा स्टेशन रहेको थियो । भीमनगरबाट खाली जाने रेल घोपा र चतराबाट टन्न ढुङ्गा बोकेर फर्किन्थ्यो । 

धरानको उत्तरमा रहेको फुस्रेको डाँडा आसपासका क्षेत्रमा कोशी परियोजनाका लागि ढुङ्गा खानी उत्खनन गरिएको थियो । सर्दु खोलाको जलाधार क्षेत्रमा पर्ने उक्त स्थानमा कोशी ब्यारेज निर्माणका लागि क्रसरहरु संचालन गरिएको थियो । हाल ओशो महापरिनिर्वाण ध्यानकेन्द्रको छेउमा निर्माणाधीन बिपी स्मृति पार्क रहेको स्थानबाट रोपवे (घिर्लिंग)मा घोपा(हालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा रहेको रेलवे स्टेशन सम्म ढुङ्गा लैजाने व्यवस्था थियो । ढुवानीका क्रममा रोपवे दुर्घटना भएपछि फुस्रे बाट ट्रकमा रेलसम्म ढुंगा ल्याउन थालियो  । त्यस समयमा निर्माण भएका केहि स्थायी संरचना अझै देख्न सकिन्छ । 

कोशी बाँध रेल्वे नाम दिइएको उक्त रेलको इन्जिनहरु राख्ने मुख्य ह्यांगर भीमनगरमा थियो । सहायक ह्यांगर भने सुनसरीको चक्रघटीमा थियो । रेलको एउटा लिक लाईन भीमनगरबाट भारतको फारबिसगंज सम्म जोडिएको थियो । भारतबाट आवश्यक मेसिनरी, अन्य सामान लगायत प्राविधिक ल्याउन लैजान उक्त मार्गको प्रयोग गरिने गरेको थियो ।

ढुवानीका लागि २४ वटा इन्जिनहरु प्रयोग भएको थियो भने रेलको सबै लाइन २ फिट ६ इन्चको गजमा  भएको भारतीय रेल्वेको दस्ताबेजमा उल्लेख छ । उक्त रेलको अधिकांश भाग १९६० ताका झिकिएको थियो । रेलले सन् १९६८ सम्म चक्रघट्टीबाट कोशी ब्यारेज सम्म ढुंगा ढुवानी गर्ने गरेको थियो । 

व्यारेज निर्माण सम्पन्न भैसकेपछि पनि ०२८ साल पछि पनि उक्त छुकछुके रेल चलेको थियो । भारतीय रेल्वेले रेलमा केहि संरचनागत सुधार गरेर सन् १९५८ पछि यात्रु ओसारपसार गर्न थाल्यो । धरान घोपा स्थित हालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता रहेको तत्कालीन बेलायती सेनाको गोर्खा भर्ति केंन्द्रमा छनौट भएका युवालाई लैजानका लागी घोपा बाट भारतको फारबिसगंज सम्म रेलको प्रयोग भएको इतिहास पाईन्छ । पुर्वी पहाडका धेरै युवा पनि यही रेल चढेर लाहुर गए  ।  

बेलायती सेनाको उक्त भर्तीकेन्द्र धरानबाट पोखरा सरे सँगै रेल्वेको चक्रघट्टी देखि घोपा (धरान) खण्ड बन्द गरियो । पछि सन् १९७२ को अन्त्यसम्ममा भीमनगर चक्रघट्टी खण्डको सेवा पनि बन्द भयो ।  कोशी परियोजनाका लागि निर्माण भएका धेरै रेल लाइन मध्ये केहि लाईन सन् १९८२ को नोभेम्बर महिना सम्म संचालनमा रहेका थिए । 

अहिले रेलको कथा धरानको लागि इतिहास बनेको छ । करीब दश पन्ध्र  वर्ष अघिसम्म धरानको रेल्वे चोक देखि चतरा– चक्रघट्टी–प्रकाशपुरमा रेलका फलामे लिक, डब्बाहरू देखिन्थे । तर, पछिल्लो समयमा रेलका लिक, डब्बा, इञ्जिन कसले लगे कसैलाई थाहा छैन । कतै कतै केही अवशेष मात्र बाँकी छन । सप्तकोशीको जलप्रवाहलाई नियन्त्रण गर्न कोशी व्यारेज निर्माणका लागि ढुङ्गा र काठ ओसार्ने रेल नै भए पनि करिब ०१३ सालदेखि पञ्चायत कालको मध्यसम्म चल्ने गरेको रेल चढेको धरानका स्थानीय बुढापाकाहरु अझै स्मरण गर्छन ।

कोशी परियोजना अन्तर्गत चलेको रेलले धरान लगायत कोशी नदीको उक्त क्षेत्रबाट पहाडका भित्ता भित्ता कोपरेर  धेरै ढुंगा मात्र लगेन, चारकोशे झाडीको जंगलको सातो पनि लग्यो । कोशी नदी पूर्वको विशाल जंगल त्यही समयमा सकिएको पुराना स्थानीय बासिन्दा स्मरण गर्छन । स्थानीय बुढापाका भन्छन, ‘भारतले कोशी ब्यारेज निर्माणको नाममा यस क्षेत्रलाई लुट्नु लुट्यो । पहाड फोडेर ढुंगा त लग्यो लग्यो । जंगल पनि सकिदियो । ढुङ्गा र काठ कति लग्यो हिसाब किताब नै छैन ।’  

वास्तवमै धरानबाट रेलले ढुङ्गा लानेबाहेक केही पनि गरेन । धरान आउँदा रित्तो आउने र जाँदा रेलभरि ढुङ्गा, काठ  लगेर धरानलाई चुरे क्षेत्रको दोहन गरेर रित्तो पार्ने बाहेक केही नगरेको सम्झँदा मन खिन्न हुने स्थानीय राजेन्द्र लिम्बु बताउँछन  । 

के छ सम्भावना ?

नेपाल भारत सम्झौता अनुसार भारत सरकारले कोशी ब्यारेज निर्माण सम्पन्न गरेपछि पनि लामो समय सम्म चलेको रेललाई नेपाल सरकारले भारत सँग सहकार्य गरेर अपग्रेड गर्ने प्रयास गरेन् । भारतले पनि रेलको त्यो संरचना नेपाल सरकारलाई हतान्तरण गरेन् । यसरी नेपाल भारत सम्बधमा इतिहास निर्माण गरेको  रेलको अवसान भयो । त्यसबेलाको आवश्यकता अनुसार रेल चलेपनि  त्यसलाई अपग्रेड गर्दै थप रेलको लिक विस्तार गरेर  रेल अरूतिर पनि चलाउन सकिने सम्भावना लाई नेपालले सदुपयोग गर्न सकेन् । 

आयोजना सकिएपछि नेपालमै चलिरहेको  रेललाई संरक्षण गर्दै अपग्रेड गर्ने धारणा बनाउन नसक्दा रेल एउटा इतिहास बन्यो । भारतकै दार्र्जीिलंगमा ब्रिटिसकालीन रेललाई संरक्षण गरेर पर्यटक आकर्सित गर्ने साधन भएको छ । दार्जीलिंगको उक्त रेल हेर्न र चढ्न संसार भरिका पर्यटक त्यहाँ पुग्ने गरेका छन्  । 

हामीले पनि त्यो रेल संरक्षण गर्न सकेको भए त्यसले रेल्वेका लागि नयाँ सम्भावनाहरु थप्दै जान सक्ने थियो भन्ने अनुमान गर्न सकिन्छ । त्यो मौका हामीले गुमाया‌ै । तर, पछिल्लो समयमा नेपालमा रेलको आकर्षण र बहस दुवै बढेको बेला भीमनगर चक्रघट्टी, चतरा हुँदै धरान पुग्ने उक्त रेललाई पुनः वास्तविकतामा ल्याउन पहल गनुपर्छ । 

धरानमा रहेका ब्रिटिस गोर्खा भर्ती केन्द्रमा हाल बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान छ । जहाँ सप्तरी, सिराहा हँुदै भारतका बिरामी समेत आउने गरेका छन् । बराहक्षेत्र र चतरालाई एउटा धार्मिक पर्यटनको रुपमा विकास गर्ने सम्भावना पनि प्रचुर छ । यहाँ धार्मिक तीर्थाटनका लागि  उत्तर भारतका लाखौ मानिसलाई आकर्षित गर्न सकिन्छ । त्यसका लागि पनि यो क्षेत्रमा रहेको रेलको ईतिहासलाई पुनर्जीवन दिनसके यस क्षेत्रको मुहार पनि फेर्न सकिन्थ्यो । यसमा एक नम्बर प्रदेश सरकार, धरान उपमहानगरपालिका, बराह नगरपालिका लगायत स्थानीय निकायले मिलेर काम गर्नु पर्ने देखिन्छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत