English

खेलकुद

जिम्बाब्वेसँग नेपाल फेरि पराजित

sunrisekhabar

काठमाडौं । सिंगापुर त्रिदेशीय टी–२० सिरिज अन्तर्गत जिम्बाब्वेसँग नेपाल ४० रनले पराजित भएको छ । जिम्बाब्वेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाउँदै १ सय २० रन मात्र बनाउन सकेपछि सिरिजमा फेरि जिम्बाब्वेसँग पराजित भएको हो । 

सिंगापुरको इन्डियन क्रिकेट मैदानमा नेपालले यसअघि टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको थियो । ब्याटिङमा आएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । 

टोलीका लागि कप्तान सिन विलियम्सले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । त्यस्तै पिटर मुरले २१ रन बनाएभने टिनोटेण्डा मुतोम्बोद्जीले २० र रायन बर्लले १८ रन बनाए । 

आज नेपालले इनिङको पहिलो ओभर नै सन्दीप लामिछानेलाई दिइ नयाँ प्रयोग गरेको थियो । पहिलो ओभरको चौथो बलमै उनले पनि विकेट लिइ नेपाललाई राम्रो सुरुवात दिलाए । ३८ रनमै तीन विकेट ढालेपनि जिम्बाब्वेका ब्याटसम्यानले सम्हालिँदै खेल्दै नेपाल विरुद्ध राम्रो स्कोर बनाउन सक्यो । 

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा २७ रन दिइ २ विकेट लिएका छन् । त्यस्तै कप्तान पारस खड्काले १ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको नेपालले फितलो ब्याटिङ गर्दै हार व्योहोरेको छ । नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ३५ बलमा ४ चौका सहित ३३ रन बनाए । त्यस्तै आरिफ शेखले २० बलमा २५ रन बनाए भने करन केसीले १८ रन बनाए । सिंगापुर विरुद्ध सेञ्चुरी बनाएका कप्तान पारसले १२ रन मात्र बनाउन सके । 

बलिङतर्फ जिम्बाब्वेका सिन विलियम्सले ३ विकेट लिएभने टिनोटेण्डा मुतोम्बोद्जीले २ विकेट लिए । त्यस्तै टेण्डाइ चटारा, डेनियल जेकियल, रायन बर्ल र विलियम माशिंगेले समान १ विकेट लिए । 

अलराउण्ड प्रदर्शन गरेका जिम्बाब्वेका कप्तान विलियम्स प्लेयर अफ द म्याच चुनिए । सिरिजको पहिलो खेलमा नेपाललाई हराउँदा पनि विलियम्स नै प्लेयर अफ द म्याच चुनिएका थिए । 

नेपालले यसअघि जिम्बाब्वेसँगको पहिलो खेल हारिसकेको छ भने दोस्रो खेलमा सिंगापुरलाई हराएको छ । आजको खेलमा नेपाल पराजित भएसँगै सिरिजमा फाइनल पुग्ने टोलीको टुंगो लाग्न सकेको छैन ।  
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत