• २३ मङ्सिर २०७६, सोमबार
  • Monday,09 December,2019

‘नेपाली क्रिकेट अब नयाँ उचाइमा पुग्‍नेछ’ – क्यान अध्यक्ष चन्द

प्रताप दुलाल

नेपाली क्रिकेटका पछिल्ला वर्षहरु सुखद हुन सकेन । यसको मूलकारण क्रिकेट संघको आन्तरिक विवाद थियो । आन्तरिक विवाद यसरी बढ्यो कि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई निलम्बन गर्नुपर्ने अवस्था आयो । आईसीसीले ०७३ वैशाख १३ मा नेपाललाई निलम्बन गर्नुको मुख्य कारण क्रिकेटमा अनावश्यक राजनीति र चुनावी प्रक्रिया अपारदर्शी हुनु थियो । 

सफलताको शिखरमा पुगिरहेको नेपाली क्रिकेट यही निलम्बनको कारण खस्कँदैं गयो । 

यो समस्या समाधानको लागि आईसीसीले केही शर्तहरु राख्दै निरन्तर पहल गरिरहेको थियो । अन्ततः आईसीसीले भने बमोजिमको विधान स्वीकृत भयो र त्यसै अनुरुप क्रिकेट संघका पदाधिकारीहरु बिच प्रतिस्पर्धात्मक चुनाव मार्फत् नयाँ नेतृत्व आइसकेको छ । नेतृत्वमा केही नयाँ अनुहार भएपनि अध्यक्ष लगायत मुख्य पदमा तीनै पदाधिकारी आए, जसको कार्यकाल विवादित भइ नेपाल क्रिकेट संघ निलम्बनमा परेको थियो । 

ती मध्ये एक हुन् निर्वाचित भएका अध्यक्ष चतुरबहादुर चन्द । तीनै पुनः निर्वाचित अध्यक्ष चन्दसँग सनराइज खबरका प्रताप दुलालले नेपाली क्रिकेटको विगत, वर्तमान र भविष्यको बारेमा कुरा गरेका छन् । कुराकानीको संक्षेपः 

– नेपाल क्रिकेट संघमा पुनः निर्वाचित हुँदा कस्तो महसुस गर्नुभएको छ ?

धेरै आशा गरेर नेपाली क्रिकेट संघका सदस्यहरुले मलाई भारी मतसाथ विजय गराउनुभएको छ, यसले निकै ठूलो जिम्मेवारी महसुस भएको छ । अब यही विश्वासमा खरो उत्रन मलाई दबाब छ । 

– नेपाल क्रिकेट संघको निलम्बन कहिलेसम्म फुकुवा होला ?

आईसीसीले सधैं निष्पक्ष र शान्तिपूर्ण र हस्तक्षेप विनाको निर्वाचन हुनुपर्ने शर्त राख्दै आएको हो । नेपाल क्रिकेट संघले यो शर्त पूरा गर्दै निर्वाचन सम्पन्न गरेको छ । निर्वाचन आईसीसीले नै गराएको हो । यसकारण अब आईसीसीको आगामी अक्टोबर १३ मा बस्ने बैठकले निलम्बन फुकुवाको घोषणा गर्छ भन्ने विश्वास लिएको छु । 

–    ०७५ को वैशाखमै विधान स्वीकृत गरेर पनि निर्वाचन गर्न यति धेरै समय किन लाग्यो ?

हो, चुनाव हुन धेरै समय लागेको हो । हामीले नेपाली क्रिकेटलाई निकास दिन भनेर विधान धेरै अगाडि पारित गरेका हौं । विधानअनुसार आईसीसीले गठन गरेको पाँच सदस्यीय स्वतन्त्र समितिले पूर्णता पाउन नै आठ महिना लाग्यो । त्यस्तै ३७  जिल्लाको निर्वाचन सदर गर्न स्वतन्त्र समितिलाई समय लाग्यो । 

हामीले सर्वोच्चमा सरकारले क्यानमा गठन गरेको समानान्तर समिति विरुद्धको मुद्दालाई बेलैमै फिर्ता लिइसकेका थियौं । तर सबै प्रक्रिया पूरा गर्ने क्रममा समय लाग्यो । 

–    नेपाली क्रिकेटको सबै विवाद समाधान भयो भन्न सकिन्छ ?

मुख्य विवाद भनेको क्यान र राष्ट्रिय खेलकुद परिषद (राखेप) को थियो । क्रिकेट संघको निर्वाचनलाई मान्यता नदिएर यो सबै विवाद भएको थियो । अहिले आएर सबैको साझा एजेण्डा क्रिकेट संघको निर्वाचन गर्ने र जसले जितेपनि क्रिकेटलाई अघि बढाउने सहमति थियो । सोही अनुसार निर्वाचन भएकोले अब विवाद बाँकी छैन ।

–    तपाईंले चुनावअघि नै यो कार्यकालमा पनि म नै अध्यक्ष बन्छु भनेर आत्मविश्वास देखाउनु भएको थियो, आत्मविश्वासको आधार के थियो ?

यसअघि हाम्रो कार्यसमिति निर्वाचित हुँदा पहिलो दिनदेखी नै विवाद आएर काम गर्न पाएका थिएनौं । विवादका कारण अनेक अन्यौल भयो । 

सो कार्यकाल विवादित हुनुको मूलकारण विभिन्न समूह मध्ये एउटा समूहले त्यो चुनाव चुनाव बहिष्कार गर्नु थियो । बहुमत सदस्य उपस्थित भएको साधारणसभाबाट हामी चुनिएका हौं । अहिलेको निर्वाचनमा पनि ती अधिकांश व्यक्तिहरुलाई जिल्लाबाट आएका हुन् । यस्तोमा सर्वसम्मत गरिएको निर्वाचनमा हाम्रै प्यानलले जित्छ भन्नु कुनै नौलो विषय रहेन । 

–    आईसीसीको सबै शर्तहरु मान्नु भयो ?

हो, हामीले सबै शर्त मान्यौ । हामी निर्वाचनबाट नयाँ म्याण्डेट लिन तयार थियौं । नेपाली क्रिकेट निलम्बनमा परेपछि हामीलाई दबाब थियो । हाम्रो ध्यान विधान बनाउनमै केन्द्रित भयो । 

हामी केन्द्रीय कार्यसमितिका सदस्यले साधारणसभामा भोट गर्ने अधिकार नलिन पनि मान्यौं । प्रक्रिया केही ढिलो भएको हो । तर, हामीले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरेका छौं । 

–    तपाईंहरु पछि नहटेको भए नेपाली क्रिकेट दीर्घकालीन निलम्बनमा जान सक्थ्यो ?

हामीले मात्र होइन सरकारको तर्फबाट पनि त्यत्तिकै लचकता देखाइएको छ । सरकारले गठन गरेको समानान्तर समिति विघटन गरिदियो ।  त्यस्तै अहिलेको निर्वाचनलाई पनि सहयोग पु¥याइ नेपाली क्रिकेटलाई दीर्घकालीन निलम्बनमा जानबाट हामी सबैले जोगाएका हौं । 

–    भोलिको दिनमा तपाईंहरुको कारणले फेरी यस्तो समस्या आउन सक्ने सम्भावना कत्तिको छ ?

हाम्रो पक्षबाट त्यस्तो समस्या आउँदैन । हामीले आईसीसीको सबै शर्तहरु मान्दै हातेमालो गर्दै अघि बढ्यौं । क्रिकेटलाई बाधा पर्ने, अप्ठ्यारो पार्ने र ओरालो लगाउने काम यो निर्वाचित कार्यसमितिले गर्दैन । 

–    प्रसंग बदलौं । नेपाली क्रिकेटसँग कसरी जोडिनु भयो ?

मलाई क्रिकेटमा सौख थियो । ग्रामीण स्तरीय क्रिकेट खेल्थें । त्यसबेला बैतडीमा क्रिकेटको क्रेज थियो र म पनि यसमा आकर्षित भएँ । 

०५२ सालमा पढाइ सकेर बैतडी फर्केेको थिएँ । त्यसबेला मैले खेल्ने अवस्था थिएन, खुट्टा भाँचिएको थियो । त्यहाँ बसेर क्रिकेटको विकासमा लाग्ने सोच आयो । विभिन्न क्रिकेट प्रतियोगिताहरु संचालन गर्‍यौं । बैतडी जिल्लालाई क्रिकेटमा स्थापित गर्‍यौं । 

०६० सालमा क्रिकेट संघमा आबद्ध भएको हुँ । ०६१ सालमा बैतडीलाई छुट्टै क्षेत्र बनाउनु पर्ने प्रस्ताव गरें । त्यसअघि नेपालगञ्ज क्षेत्रबाट नेपालगञ्ज वरिपरि र त्यहाँभन्दा पश्चिम सबै जिल्लाले खेल्नु पथ्र्यो । ती जिल्लाको क्रिकेटरहरुलाई अवसर अति नै थोरै मात्र थियो । 

छुट्टै क्षेत्र बनेपछि धेरै खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुले मौका पाउन थाले । मैले बाटो खोलेको हुँ यसको निरन्तरताको लागि अहिले अरु लाग्नुभएको छ । मैले नेपाली क्रिकेटलाई अहिलेसम्म दिएको ठूलो योगदान यही हो जस्तो लाग्छ । 

–    क्यानमा पुनः निर्वाचित हुनुभएको तपाईंले सबैभन्दा पहिला कुन काम गर्नुहुन्छ ?

सबैभन्दा पहिले आईसीसीको निलम्बन फुकुवा हुनप¥यो  । त्यसपछि काम गर्ने बाटो खुल्छ । 

–    निलम्बन पनि आंशिक मात्र फुकुवा हुने भन्ने कुरा आएको सुनिन्छ, यसमा कत्तिको सत्यता छ ?

आईसीसीको सबै शर्त मानिसकेका छौं । अब मिलेर अगाडि बढ्न सहमत छौं । अरु कुरा ठिकै छ । 

–    शर्तहरु कर्मचारी नियुक्तीकाे लागि हो ?

त्यो त हाम्रो विधानमै छ । अब हामी महाप्रबन्धक र वित्त व्यवस्थापक नियुक्तीको काम अघि बढाउँछौं । यसको लागि हामी सार्वजनिक सूचना जारी गछौं ।

किनभने क्रिकेटमा लागेका स्वयंसेवकहरुले मात्र नेपाल क्रिकेट संघ अब चल्न सक्दैन । हामीजस्ता स्वयंसेवक नीति निर्माण तहमा मात्रै बस्ने हो । 

–    नेपाली क्रिकेटमा स्वयंसेवक मात्र भएर पनि समस्या आएको हो ?

क्रिकेटमा लागेपनि सबैको आफ्नो काम, व्यवसाय तथा पेशा हुन्छ । उनीहरुले अन्य ठाउँमा पनि समय दिनुपर्ने हुन्छ । ती स्वयंसेवकले १० देखि ५ को समय दिन सक्दैनन् । सोहीकारण व्यावसायिक कर्मचारीले निरन्तरको प्रशासनिक कामहरु गर्छन् । बोर्ड सदस्यहरु आवश्यक पर्दा उपस्थित भइ नीति सम्बन्धी काम गर्छ । 

–    निलम्बन फुकुवापछि क्यानले सबैभन्दा पहिला के काम गर्ला ?

अहिले सुरुवातमा हामीले अनौपचारिक छलफल थालिहालेका छौं । अब आईसीसीको निलम्बन फुकुवापछि उसले सन्दर्भ शर्त (टीओआर) मार्फत् कसरी काम गर्ने निर्देश गर्छ र हामी त्यही अनुसार अघि बढ्छौं । 

–    घरेलु क्रिकेट कसरी अगाडि बढ्छ ?

घरेलु क्रिकेट विकासको लागि हामी विधानमा उल्लेख भए अनुसार नै सात प्रदेशको मोडलमा गइसकेका छौं । जिल्लाहरु यथावत छन् । ती जिल्लाका क्लबहरुलाई सीडीओ कार्यालयमा दर्ता हुनैपर्ने प्रावधान ल्याइएको छ ।
 
क्लबहरुको लिगबाट जिल्लाको टोली बनाउने, जिल्लाको लिगबाट प्रदेशको टोली अनि प्रदेशहरुको प्रतियोगिताबाट राष्ट्रिय टोलीको छनोट हुनेछ । अहिले आवश्यकता अनुसारको क्रिकेट गतिविधि र छनोट प्रक्रिया छैन, त्यसमा सुधार गर्छौं । अब क्यानले उमेर समूह, महिला, सिनियर खेलाडीहरुको लागि ५० ओभर र टी–२० का प्रतियोगिताहरु गराउनेछौं । 

–    अहिलेको राष्ट्रिय टोलीले तीन वर्षको अवधिमा आईसीसीको लिगमा ३६ वटा खेल खेल्ने तालिका छ, त्यसको लागि विशेष कार्ययोजना के छ ?

नेपाल विश्वकपसम्म पुग्ने बाटो हो त्यो । विश्वकपको छनोट हुनको लागि राम्रो तयारी गराउने, बलियो टोलीसँग खेल्ने पहल गर्छौं । काम गर्न पाउनसाथ हामी यसमा लाग्नेछौं । 

–    पूर्वाधार विकासमा के छ योजना ?

अहिले तत्कालै आईसीसीले पूर्वाधार विकासको लागि डेभलपमेन्ट फण्ड रिलिज गर्ने अवस्था छैन । तर सरकारले पूर्वाधार विकासको लागि आर्थिक रुपमा कुनै कसर बाँकी राखेको छैन । सातवटा प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने कुरा सरकारको नीति मै छ । 

नीतिमा भएको विषयलाई कार्यान्वयन गराउने चासो हाम्रो हो । मैले आजै राखेपका सदस्यसचिवसँग भेटेर पूर्वाधार विकासको काम गर्न फाष्ट ट्रयाक प्रयोग गर्न सुझाएको छु । 

टेण्डर प्रक्रिया लामो हुँदा ठेकेदारले नै काम गर्न ढिलो गर्छ । एउटा खेल्ने मैदानलाई स्तरीय बनाउन नै तीन वा चार वर्ष लाग्दा त्यसले क्रिकेटलाई विकास गर्न सक्दैन । त्यही भएर यसमा ध्यान दिंदै हामीले सातै प्रदेशको मुख्यमन्त्री, खेलमन्त्रीहरुसँग समन्वय गर्छौं । 

त्यसबाहेक स्थानीय निकायमा क्रिकेटका नाममा भएका बजेटलाई समन्वय गरेर व्यवस्थित गर्छौं । अब हामी ‘फूल फ्लेज’ मा जान्छौं । पद लिएपछि काम गर्नै पर्ने वातावरण अब हामी बनाउँछौं । काम नगर्नेहरुलाई यो पद किन लिएछु भन्ने पार्छौं ।
  
–    यो चार वर्षे कार्यकाल कस्तो बनाउने योजना छ ?

चारवर्षे अवधिमा नेपाली क्रिकेट नयाँ उचाइमा पुग्‍नेछ। ती उचाइ भनेको वरियता, पूर्वाधारको विकासमा, क्रिकेटरको व्यवसायिकताको हो । 

खेलाडीहरुले सेन्ट्रल कन्ट्रयाक्टमार्फत् करारमा लिनेछौं । सुरुमा पुरुष सिनियर टोली गर्दैै पछि युवा र महिला क्रिकेटसम्म पुर्‍याउँछौं । त्यस्तै भारतको बीसीसीआईसँग सम्बन्ध कायम गर्दै त्यहाँबाट अधिकतम फाइदा लिने काममा क्यान अब लाग्छ । 
 

 

प्रतिकृया दिनुहोस