English

खेलकुद

क्यान निर्वाचनलाई आईसीसीको ग्रीन सिग्‍नल, निलम्बन फुकुवा हुने संकेत

sunrisekhabar

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेको छ । आईसीसीले गठन गरेको स्वतन्त्र समितिले पठाएको रिपोर्टको आधारमा नेपालमा विधि सम्मत निर्वाचन भएको ठहर गरिएको छ ।  

गत असोज १० र ११ मा काठमाडौंमा भएको साधारणसभा र निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमितिको छनोट भएको थियो । आईसीसीले निर्धारण गरेको प्रक्रियाकै आधारमा निर्वाचन भएकोले आईसीसीले यसको स्वागत गरेको बुझिएको छ । 

आईसीसीले गठन गरेको पाँच सदस्यीय स्वतन्त्र समिति रोहबरमा क्यानको निर्वाचन सम्पन्न भएको थियो । आईसीसी प्रतिनिधि अम्मर शेख, मुहम्मद अली, नितिशा कोठारी, लेखबहादुर क्षेत्री र ठाकुरप्रताप थापा सम्मिलित सो स्वतन्त्र समितिको रोहबरमा सो निर्वाचन भएकोले आईसीसीले आफ्नो शर्त पूरा भएको मानेको जनाएको छ ।

यसअघि गत ०७३ बैखाख १५ मा आईसीसीले क्यानको निर्वाचन पारदर्शी नभएको भन्दै नेपााली क्रिकेटलाई निलम्बन गरेको थियो । क्यानले वैधानिक मार्गबाट कार्यसमितिको छनोट गरेको जनाउँदै आईसीसीका सह अध्यक्ष इमरान ख्वाजा भन्छन् – ‘काठमाडौंमा भएको महत्वपूर्ण घटनाक्रममा हामी खुसी छौं । पछिल्ला तीन वर्षदेखी क्यानमा वैधानिक कार्यसमिति गठन गर्ने कार्यको नतिजा स्वरुप यो विकासक्रम भएको हो । ’

मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले नेपाली फ्यान, खेलाडीहरु, प्रशासनसम्बद्ध सबैलाई बधाई दिएका छन् । पछिल्ला तीन वर्षमा नेपाली क्रिकेटको विकासक्रमले नयाँ उचाइ लिएको बताउँदै निलम्बनको अवस्थामा पनि नेपाली क्रिकेटले थुप्रै सफलता पाएको उल्लेख गरेका छन् । 

नयाँ कार्यसमिति आएसँगै नेपालको निलम्बन फुकुवा हुनेमा विश्वस्त रहेको भन्दै उनले आईसीसीको दुबईमा हुने आगामी बोर्ड मिटिङले यसको निर्णय गर्न सक्ने बताएका छन् ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत