English

संसद्

उपसभामुख शिवमायाको पनि राजीनामा आउने

sunrisekhabar

काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि त्यो पद स्वत नेपाली कांग्रेसको पोल्टामा जाने अवस्था आएको छ । महराले छँदाखाँदाको अत्यन्तै आकर्षक सभामुख पद यौनकाण्ड लागेपछि राजीनामा दिएका छन् । 

राजीनामा पछि के हुन्छ ? यो प्रश्न पेचिलो बनेको छ । संवैधानिक दृष्टिले अब सभामुख पद नेकपाले राख्न सक्दैन । किनभने संविधानले सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुँदैन भनेको छ । 

अहिले सभामुख र उपसभामुख दुवै पद नेकपासँग छ । नेकपाकै शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीले नपाउने संवैधानिक प्रावधानलाई नेकपाले बेवास्ता गर्दै आएको थियो । 

नेकपाले बेवास्ता गर्नुको कारण हो– पदमा निर्वाचित हुँदा सभामुख र उपसभामुख दुवैजना फरक पार्टीका थिए । पछि माओवादी र एमाले एकीकरण भएर नेकपा बन्यो । तसर्थ उनीहरु दुवै एउटै पार्टीका भए । 

एउटै पार्टीको सभामुख र उपसभामुख भएकोमा नेपाली कांग्रेसले आपत्ति जनाउँदै आएको थियो । तर, सत्तारुढ नेकपाले सुनुवाई गरेन । नेकपाको तर्क के थियो भने सभामुखले पार्टीबाट राजीनामा दिइसकेका छन् । सभामुखले पार्टी त्याग गर्ने व्यवस्था कानुनी भने होइन । परम्परा हो । ०४८ पछि यस्तो चलन सुरु भएको हो । 

सभामुख तटस्थ रहनुपर्ने पद भएकाले सो पदमा बस्नेले पार्टी त्यागेका हुन् । महराले पनि पार्टीबाट राजीनामा दिएका थिए । तर, उपसभामुखले भने राजीनामा दिएकी छैनन् । उपसभामुखले पार्टी त्याग्ने परम्परा छैन । 

यतिन्जेल एउटै पार्टीको सभामुख र उपसभामुख भए पनि अब चाहिँ कुरा सजिलो छैन । महराको राजीनामा सँगै एउटै पार्टीको सभामुख र उपसभामुख बन्न नहुने संवैधानिक प्रावधान प्रष्टसँगै आकर्षित हुन्छ । 

यसको अर्थ हो– नेकपाले अब सभामुख पदमा दावी गर्न सक्दैन । 

त्यसो भए सभामुख पद नेकपाले कांग्रेसलाई दिन्छ त ? ‘अहँ, दिँदैनौं’– नेकपा सचिवालयको वैठकपछि एक नेताले सनराइज खबरलाई बताए– ‘सभामुख पद कांग्रेसलाई दिन सकिँदैन । बरु, उपसभामुख पद दिइन्छ ।’

यसको अर्थ के हो भने नेकपा सचिवालय वैठकमा सभामुखले राजीनामा दिएपछि उत्पन्न हुने परिस्थिति बारे पनि छलफल भएको थियो । सभामुख पद साथमै राख्ने हो भने नेकपाले उपसभामुख शिवमायालाई पनि राजीनामा गर्न लगाउनुपर्ने हुन्छ । सभामुख र उपसभामुख दुवै पद रिक्त भएपछि दुवै पदमा चुनाव हुन्छ । त्यो अवस्थामा नेकपाले सभामुख पद आफूसँग राखेर उपसभामुख पद कांग्रेस या अरु कुनै पार्टीलाई दिन सक्छ । 

यौनकाण्डमा फसेर महराले राजीनामा दिएपछि उपसभामुखले पनि राजीनामा दिने परिस्थिति विकास भएको नेकपाका ती नेताले सनराइज खबरलाई बताए । ‘सभामुखको चुनाव तय भएपछि उपसभामुखको राजीनामा आउँछ’– ती नेताले भने । 

सभामुखले राजीनामा दिनासाथ नयाँ सभामुख चयन गर्नुपर्ने प्रावधान भने संविधानमा छैन । यसका लागि समय लिन सकिन्छ तर अधिवेशन सुरु हुँदा भने सभामुख चाहिन्छ । नयाँ सभामुख चयनका लागि लामै समय पनि लाग्न सक्छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत